आगामी बजेटबारे अर्थ र कृषि मन्त्रालयबीच छलफल, कृषि उत्पादनमा आत्मनिर्भरता प्रमुख एजेन्डा

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि अनुदानलाई परिणाममुखी बनाउँदै कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुनु पर्नेमा जोड दिनुभएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट सम्बन्धी अर्थ तथा पशुपन्छी विकास मन्त्रालय बीच भएको बैठकमा मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।
दुई मन्त्रालयका मन्त्री र उच्च अधिकारीहरू बीच हाल कार्यान्वयनमा रहेका अनुदान कार्यक्रमहरू बारे गम्भीर समीक्षा गरी नयाँ ढंगले अघि बढ्ने र नतिजामुखी बनाउने बारे छलफल भएको छ।
छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषकहरूलाई प्रोत्साहन गर्न र उत्पादन बढाउन अनुदानका कार्यक्रम ल्याइए पनि तिनीहरूको समीक्षा गरी समय सान्दर्भिक र प्रतिफलमुखी बनाउन जरुरी रहेको बताउनु भयो। छलफलमा सहभागीहरूले अनुदानलाई उत्पादन प्रोत्साहनसँग जोड्नु पर्ने धारणा व्यक्त गरेका थिए।
संवैधानिक कार्य जिम्मेवारी अनुसार प्रदेश र स्थानीय तहको क्षेत्राधिकारसँग मिल्ने तर संघीय तहबाट हाल कार्यान्वयनमा रहेका निश्चित कार्यक्रमहरूलाई तल्लो तहका सरकारमा पठाउनु पर्नेमा छलफलका सहभागीहरूको जोड रहेको थियो।
बजेट छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव, कृषि सचिव, विभागीय प्रमुख लगायतको उपस्थिति थियो।