संघको भवन निर्माणार्थ जग्गा दान दिने सुना सुवेदी बडालको घोषणा

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघकी केन्द्रीय उपाध्यक्ष सुना सुवेदी बडालले आफू सम्बद्ध संघको भवन निर्माणका लागि जग्गा दान दिने घोषणा गरेकी छन् । बडालले आफ्नो स्वामित्वमा रहेको ४ आना ३ पैसा १ दाम क्षेत्रफलको जग्गा भवन निर्माणका लागि निःशुल्क दान दिने घोषणा गरेकी हुन् ।

संघका अध्यक्ष रितेश रिमालले उपाध्यक्ष सुवेदीले संघको भवन निर्माणार्थ जग्गा दान दिने प्रस्ताव गरेकोमा सचिवालयबाट त्यसलाई स्वीकार गर्ने निर्णय गरिएको जानकारी दिए । रिमालका अनुसार, जग्गा प्राप्तिका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने निर्णय पनि सचिवालय बैठकले गरेको छ ।

पशुपन्छी औषधि व्यवसायीको छाता संगठनको अहिलेसम्म निजी भवन छैन । त्यसैले बडालको जग्गा दान दिने घोषणालाई संघको स्थायित्व र भौतिक विकासका लागि ऐतिहासिक मानिएको छ।

यद्यपि, संघका केही सदस्यहरूले भने यस घोषणालाई विगतका घटनासँग तुलना गर्दै संशय व्यक्त गरेका छन् । यसअघि संघको नयाँ नेतृत्वका लागि गत वर्ष सम्पन्न भएको निर्वाचनको अध्यक्षको प्रत्यासी पूर्वउपाध्यक्ष समेत रहेकी धनाकुमारी पाण्डेयले पनि संघको भवन निर्माणार्थ जग्गा दान दिने घोषणा गरेकी थिइन् । तर निर्वाचनमा पराजय भोगेसँगै पाण्डेय आफ्नो पूर्व प्रतिबद्धताबाट पछि हटेर जग्गा नदिने निर्णयमा पुगिन् ।

उपाध्यक्ष सुना सुवेदी बडालले भने राजनीतिक स्वार्थ पूरा गर्नका लागि नभई निःस्वार्थ भावले जग्गा दान दिने निर्णय गरेको बताएकी छन् । उनले संघलाई भवन निर्माणका लागि सहयोग पुर्याउने उद्देश्यले बिना कुनै शर्त जग्गा हस्तान्तरण गर्न लागेको स्पष्ट पारिन् ।

‘संघले चाहेमा जुनसुकै समयमा म जग्गा पास गरिदिन तयार छु। संघको भवन निर्माणको सपना पूरा गर्न मेरो तर्फबाट कुनै विलम्ब हुनेछैन,’ सुवेदीले भनिन् ।

बडालले जग्गा हस्तान्तरण गर्ने घोषणा गरेसँगै संघ कानुनी प्रक्रिया पूरा गर्न आवश्यक कागजातको तयारीमा जुटेको छ । अध्यक्ष रिमालले आगामी फागुन महिनाभित्रै जग्गा संघको नाममा दर्ता गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाइएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *