रद्द भएको लाइसेन्सपछि पनि औषधि उत्पादन : प्रयोग र बिक्री–वितरणमा रोक

काठमाडौं । सरकारले उत्पादन तथा बिक्री अनुमति खारेज गरिसकेको एमडीएच फार्मास्युटिकल्स प्रालिले गैरकानुनी रूपमा औषधि उत्पादन गरी बजारमा पठाएको खुलेको छ।
चाँगुनारायण-३, झौखेलमा रहेको उक्त कम्पनीले ‘फर्टिभेट’ (क्लोमिफिन साइट्रेट) ट्याब्लेट उत्पादन गरी बिक्री वितरण गरिरहेको पाइएको हो। औषधि व्यवस्था विभागले ०८० भदौ १८ गते नै कम्पनीको उत्पादन अनुज्ञापत्र र बिक्री वितरण प्रमाणपत्र रद्द गरेको थियो। तर, कम्पनीले विभागको निर्णय उल्लंघन गर्दै गत डिसेम्बरमा समेत तीनवटा ब्याच उत्पादन गरी बजारमा पठाएको खुलेको छ।
विभागले गैरकानुनी रूपमा उत्पादन भएका ती औषधि बिक्री–वितरण तथा प्रयोग तत्काल रोक्न निर्देशन दिएको छ। साथै, ती औषधिहरू बजारबाट फिर्ता गरी विवरण पेश गर्न कम्पनीलाई आदेश दिएको छ।
यस विषयमा कम्पनीका सञ्चालक दीपकप्रसाद दाहाल सँग प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन सकेन।