एन्टिबायोटिकको दुरुपयोग कुनै हालतमा सह्य हुँदैन : महानिर्देशक दाहाल

पोल्ट्री क्षेत्रमा ‘जिरो टोलरेन्स’ नीति, अण्डामा अनिवार्य लेबलिङ आवश्यक

काठमाडौँ। पशु उत्पादनमा एन्टिबायोटिकको दुरुपयोग कुनै पनि हालतमा स्वीकार्य नहुने पशु सेवा विभागका नवनियुक्त महानिर्देशक डा. उमेश दाहालले बताएका छन्। कुखुराको मासु र अण्डा उत्पादनमा भइरहेको अनियन्त्रित एन्टिबायोटिक प्रयोगबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले आवश्यक अवस्थामा सीमित मात्रामा प्रयोग स्वीकार्य भए पनि दुरुपयोगले भविष्यमा गम्भीर सार्वजनिक स्वास्थ्य संकट निम्त्याउने चेतावनी दिए।

“एन्टिबायोटिक आविष्कार भएकै समयमा वैज्ञानिकहरूले यसको दुरुपयोग भएमा ठूलो संकट आउन सक्छ भनेर चेतावनी दिएका थिए,” डा. दाहालले भने, “त्यसैले उपचारबाहेक अन्य प्रयोजनका लागि यसको प्रयोग कदापि सह्य हुँदैन।”

उपभोक्ता हित संरक्षण मञ्च नेपाल, ओपन विङ्स अलाइन्स र एनिमल नेपालको संयुक्त आयोजनामा शुक्रबार काठमाडौँको नयाँ बानेश्वरमा सम्पन्न कार्यक्रममा उनले सन् २०१६ देखि नेपालमा पशुआहारमा एन्टिबायोटिक प्रयोगबारे ‘जिरो टोलरेन्स’ नीति लागू गरिएको जानकारी दिए। कुखुराको तौल वृद्धि एन्टिबायोटिकका कारण नभई प्रजनन सुधार, पोषण व्यवस्थापन र ‘गुड हजबेन्ड्री प्राक्टिस’को परिणाम भएको उनले स्पष्ट पारे।

डा. दाहालले मासु तथा अण्डाको गुणस्तर सुनिश्चित गर्न अनुगमनलाई थप प्रभावकारी बनाइँदै गएको बताउँदै अण्डामा कम्तीमा उत्पादन मिति र उत्पादन स्थल खुल्ने गरी लेबलिङ अनिवार्य गर्नुपर्नेमा जोड दिए। “गलत अभ्यास गर्नेहरूलाई कडाइका साथ कारबाही गर्नुपर्छ, यसमा सबै सरोकारवालाको सहभागिता अपरिहार्य छ,” उनले भने।

कार्यक्रममा एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्ष्णा राणाले फार्म अनुगमनका क्रममा चिकित्सकको सल्लाह बिना बारम्बार एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्ति व्यापक रहेको बताइन्। कतिपय किसानलाई कुन रोगका लागि औषधि प्रयोग गरिएको हो भन्ने जानकारीसमेत नहुने र औषधिको रेकर्ड नराखिने अवस्था गम्भीर रहेको उनको भनाइ थियो।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव तथा अधिवक्ता विष्णु प्रसाद तिमिलसेनाले उपत्यकाका तीन जिल्लामा गरिएको अध्ययनमा ३० पोल्ट्री फार्ममध्ये करिब ९० प्रतिशतमा एन्टिबायोटिक प्रयोग भइरहेको पाइएको जानकारी दिए। अध्ययनमा प्रतिबन्धित एन्टिबायोटिक प्रयोग, ‘विदड्रअल पिरियड’को पालना नहुनु र रेकर्ड नहुने जस्ता कमजोरी देखिएको उनले बताए।

स्वास्थ्य मन्त्रालयका सहायक सूचना अधिकारी डा. भक्त केसीले ‘वन हेल्थ’ अवधारणाअन्तर्गत एन्टिमाइक्रोबियल रेसिस्टेन्स (AMR) नियन्त्रणमा मन्त्रालय सक्रिय रहेको उल्लेख गर्दै एन्टिबायोटिकको विवेकपूर्ण प्रयोग अपरिहार्य भएको बताए।

हाल नेपालमा दैनिक करिब ४५ लाख अण्डा उत्पादन हुने तथ्य प्रस्तुत गर्दै, सहभागीहरूले उत्पादनसँगै गुणस्तर, पारदर्शिता र उपभोक्ता अधिकार सुनिश्चित गर्न सरकारको तत्काल र कडा हस्तक्षेप आवश्यक रहेको निष्कर्ष निकाले।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *