चितवन राष्ट्रिय निकुञ्जमा पहिलो चरणको बाघ गणना सम्पन्न
चितवन : चितवन राष्ट्रिय निकुञ्जमा यही पुस ३ गतेदेखि सुरु भएको बाघ गणना जारी छ। चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर गणना गरिँदै आएकोमा पहिलो चरणको गणना सम्पन्न भएको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पहिलो चरणको गणना सकेर क्यामेरा संकलन गर्ने काम सुरु गरिएको छ। उहाँले भन्नुभयो, “शनिबारदेखि क्यामेरा उठाउने काम सुरु भएको छ। सोमबारसम्म पहिलो चरणका सबै क्यामेरा संकलन गरिसक्ने लक्ष्य छ।” उहाँका अनुसार पुस १ र २ गते तालिम प्राप्त गरेका १५० जना गणकहरू गणनामा खटिएका छन्।
त्रिवेणी, अमलटारी, कसरा हुँदै बरन्डाभार क्षेत्रलाई पहिलो चरणको ब्लक बनाएर गणना गरिएको सूचना अधिकारी मगरले जानकारी दिनुभयो। उहाँका अनुसार यस चरणमा २८६ वटा ग्रिड बनाएर गणना गरिएको हो। क्यामेरा संकलनपछि दोस्रो चरणमा क्यामेरा जडान गरी गणना सुरु गरिनेछ।
दोस्रो चरणमा १३ वटा क्याम्प बनाएर गणकहरू परिचालन गरिने निकुञ्जले जनाएको छ। यस चरणअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर–प्रतापपुर, बोटे सिमारा, स्वमेश्वर, बगई, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरी गणना गरिनेछ।
“दोस्रो चरणलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिनेछ,” उहाँले भन्नुभयो, “एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिनेछ।” थापाका अनुसार प्रत्येक चरणमा करिब दुई सातासम्म क्यामेरा राखेर गणना गरिन्छ।
चितवन–पर्सा ब्लकमा जम्मा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिँदै छ। दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिडका रूपमा विभाजन गरिएको हो। यससँगै बाघ पाइने बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना भइरहेको छ।
तीन महिना लगाएर बाघ गणना सम्पन्न गर्ने लक्ष्य रहेको सूचना अधिकारी मगरले बताउनुभयो। नेपालमा हरेक चार वर्षमा बाघ गणना गरिँदै आएको छ। गणनामा निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवी, विद्यार्थी तथा संरक्षण साझेदारहरूको सहभागिता रहेको छ। ग्रिडहरूको बीचभाग पर्ने स्थानमा प्राविधिक क्याम्प खडा गरेर गणना गरिने उहाँले जानकारी दिनुभयो।
गणकहरूले भूगोलअनुसार आठदेखि बाह्रवटासम्म ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्नेछन्। “क्यामेरा संकलनपछि अध्ययन सुरु गरिन्छ। बाघको बढी आवतजावत हुने स्थानमा स्वचालित क्यामेरा राखिन्छ, जसले बाघको तस्बिर खिच्छ,” उहाँले भन्नुभयो।
बाघको शरीरमा रहेका धार (पाटा) का आधारमा तिनीहरूको पहिचान गरी सङ्ख्या निर्धारण गरिने उहाँले बताउनुभयो। प्रत्येक बाघको धार फरक–फरक हुने गर्दछ। उहाँका अनुसार पहिलो कम्प्लेक्स चितवन–पर्सा हो भने दोस्रो कम्प्लेक्स बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज समेटेर बनाइएको छ, जसअन्तर्गत तीन वटा ब्लक हुनेछन्। तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी क्षेत्रलाई समेटेर एउटै ब्लक बनाइनेछ।
यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो। सो गणनाअनुसार चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए।
