विदेश छाडेर स्वदेशमै कुखुरापालन, मासिक एक लाख आम्दानी
तनहुँ, २० पुसः व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेत विदेशबाट फर्किएपछि यतिबेला स्वदेशमै व्यावसायिक कुखुरापालनमा रमाइरहनुभएको छ। दुबईमा १७ वर्षसम्म जागिर गरेर स्वदेश फर्किनुभएका उहाँले हाल कुखुरापालनबाट विदेशमा भन्दा राम्रो आम्दानी गर्दै आउनुभएको छ।
कुखुराको अण्डा बिक्रीबाट मासिक रु एक लाख आम्दानी लिँदै आएको बस्नेतले बताउनुभयो। विदेशमा रहँदा कोरोनाका समयमा बुवाको निधन भएको करिब नौ महिनापछि घर फर्किनुभएका उहाँले पाँच वर्षअघि कुखुरापालन व्यवसाय सुरु गर्नुभएको थियो। विदेशमा पाएको आम्दानीभन्दा स्वदेशमै बसेर दोब्बर कमाइ गर्न सकिन्छ भन्ने उदाहरण उहाँले प्रस्तुत गर्न सफल हुनुभएको छ।
हाल उहाँले सञ्चालन गर्दै आउनुभएको ‘बस्नेत ब्रोइलर पोल्ट्री एण्ड एग फार्म’मा दुई हजार लेयर्स कुखुरा रहेका छन्। सुरुमा रु ३० लाख लगानी गरी छ रोपनी क्षेत्रफलमा दुई वटा आधुनिक ट्रस्ट निर्माण गरेर व्यावसायिक रूपमा कुखुरापालन सुरु गर्नुभएको उहाँले बताउनुभयो।
दैनिक करिब एक हजार ८०० अण्डा उत्पादन हुने यस फार्मबाट महिनामा पाँच लाख रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ। दाना, औषधि तथा श्रम खर्च कटाएर मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको बस्नेतले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “दुबईमा महिनाको करिब रु ६० हजार आम्दानी हुन्थ्यो, अहिले गाउँमै परिवारसँग बसेर त्यसको दोब्बर फाइदा भइरहेको छ।”
कुखुरा व्यवसायबाट उत्पादन हुने ठूला दाना (क्रेट) स्थानीय बजारमा प्रतिथान रु ५०० मा बिक्री हुँदै आएका छन्। जोखिमयुक्त मानिने कुखुरापालन व्यवसायमा किसानलाई टिकाइराख्न सरकारले दाना उत्पादनमा प्रत्यक्ष अनुदान दिनुपर्नेमा बस्नेतको जोड छ। उहाँले भन्नुभयो, “पूर्वाधारमा मात्र अनुदान दिएर काम हुँदैन। दानामा सहयोग भयो भने किसान टिकाउ हुन्छन् र राज्यको लगानी पनि सुरक्षित हुन्छ।”
श्रीमती मधुमाया बस्नेतको निरन्तर साथमा फार्म सञ्चालन गर्दै आएका अर्जुन बस्नेतले कुखुराको मल प्रयोग गर्दा तोरी, तरकारीलगायत बालीनाली राम्रो फलेको बताउनुभयो। “अहिले तेल किन्नु परेको छैन, तरकारी पनि बजारबाट ल्याउनुपरेको छैन,” उहाँले भन्नुभयो।
व्यास नगरपालिकाले इनार निर्माणका लागि रु २५ हजार र कुखुरा खरिदका लागि रु ५० हजार गरी जम्मा रु ७५ हजार सहयोग गरेको व्यास–१ का वडासदस्य मणिजंग बस्नेतले जानकारी दिनुभयो।
चितवनबाट चल्ला ल्याएर सुरु गरिएको यो व्यवसाय अहिले गाउँमै रोजगारी, आम्दानी र आत्मनिर्भरता अभिवृद्धिको उदाहरण बनेको छ। विदेशमै भविष्य खोज्नुपर्ने बाध्यता हटाउँदै गाउँमै बसेर स्थिर आम्दानी गर्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश बस्नेतको सफलताले दिएको स्थानीयवासी कार्कीले बताउनुभयो।
