भेडाको बथानसँगै हुर्किएको जीवनकथा

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका–१, गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेक–बेँसी गर्दै पाँच दशक पूरा गर्नुभएको छ।

भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन हिमालको फेदीसम्म पुग्ने नरेन्द्र हिउँदमा गाउँ नजिकैको खर्कमा झर्नुहुन्छ। सात वर्षको उमेरदेखि सुरु भएको उहाँको दिनचर्या आजसम्म उस्तै छ। “बिहान उठेदेखि राति अबेरसम्म भेडाबाख्राको स्याहार–सुसारमै व्यस्त हुन्छु। घर नजिकै रहेको जनकल्याण माविमा पढ्ने अवसर जीवनमा कहिल्यै मिलेन,” उहाँले भन्नुभयो, “बाल्यकालमा घरपरिवारको बाध्यता र त्यतिबेलाको परिवेशका कारण पढ्न नपाउँदा अहिले निकै पछुतो लाग्छ।”

घरको मुख्य आम्दानीको स्रोत भेडापालन नै भएकाले नरेन्द्रले बाल्यकाल, तन्नेरी र बुढ्यौली सबै यही पेशामा बिताउनुभयो। उहाँका जीवनका रमाइला, उत्साहजनक क्षणहरू बुकीमै हिउँसँगै पग्लिए। घाम, पानी, असिना, हिउँ र वन्यजन्तुसँग जुध्दै बिताएको अनुभव उहाँसँग आज पनि ताजै छ।

बालापनका रमाइला सम्झनाहरू भेडाका बथानसँगै बितेका क्षणसँग जोडिएका छन्। सिकिस्त बिरामी पर्दा पनि उहाँले बुकी छोड्नुभएन। लेकाली क्षेत्रमा चरनस्थललाई ‘बुकी’ र गोठ राख्ने ठाउँलाई ‘खर्क’ भनिन्छ। पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आउनुभएका नरेन्द्रको गोठमा अहिले २५ वटा मात्रै भेडा–पाठापाठी छन्।

तन्नेरी अवस्थामा तीन सयसम्म भेडा पालेका उहाँले अहिले गोठालाको अभावका कारण संख्या घटाउँदै लैजानुपरेको बताउनुभयो। “एक्लै भेडापालन गर्न मुस्किल छ। जीवन नै बुकीमै बित्यो, अब घरखर्च चलाउन मात्रै पालिरहेको छु,” उहाँले भन्नुभयो, “अनपढ भएकाले भेडाको गणना, मूल्य र हिसाब–किताब राख्न पनि गाह्रो हुन्छ।”

फर्कन मिल्ने भए पुनः बाल्यकालमै फर्किन चाहना रहेको उहाँ बताउनुहुन्छ। स्कुल जान नपाएको जीवन भेडाजस्तै भएको अनुभूति उहाँको छ। हिउँदभन्दा वर्षायाम अझ कष्टकर हुने उहाँको अनुभव छ। जाडोयाममा हिउँ पर्न थालेपछि गोठ लिएर गाउँ झर्ने नरेन्द्र वर्षायाममा भने भीषण वर्षा सहँदै बुकीमै बस्नुहुन्छ।

वर्षायाममा वन्यजन्तुको आक्रमणबाट भेडा जोगाउनु चुनौतीपूर्ण हुने गरेको उहाँ बताउनुहुन्छ। त्यसका लागि कुकुरलाई सँगै राख्ने गरिएको छ। भोटे कुकुरले जङ्गली जनावरबाट भेडालाई जोगाउन मद्दत गरेको उहाँको भनाइ छ।

“चितुवाले झम्टिँदा प्रतिकार गरेर ज्यान जोगाएको छु,” उहाँले भन्नुभयो, “गोठमा बस्न सजिलो हुँदैन।”

नरेन्द्रजस्तै गुर्जाकै ६८ वर्षीय गोरे छन्त्यालले पनि पाँच दशकभन्दा बढी समय भेडाको बथानसँगै बिताउनुभएको छ। ९ वर्षको उमेरमै बुकी उक्लिन थालेका गोरेलाई आज पनि भेडाको बथानले घेरेको हुन्छ। उमेरले थकित भए पनि उहाँको दैनिकी तन्नेरीभन्दा कम छैन।

उहाँले वार्षिक करिब १० लाख रुपैयाँ बराबरको भेडा बिक्री हुने बताउनुभयो। गुर्जामा करिब २० घरपरिवारले व्यावसायिक भेडापालन गर्दै आएका छन्। युवापुस्ता वैदेशिक रोजगारीका लागि पलायन भएपछि भेडागोठ बुढापाकाले धानिरहेका छन् भनेर वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो।

भेडा बेच्न बजार जानुपर्ने बाध्यता छैन। गाउँमै पूजाआजा तथा मासुका लागि भेडीगोठ पुग्ने गरेका छन्। परम्परागत रूपमा हुँदै आएको भेडापालनलाई व्यावसायिक र व्यवस्थित बनाउन गाउँपालिका तथा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले अनुदान, तालिम र परामर्श सेवा सञ्चालन गर्दै आएका छन्।

गाउँपालिकाले भेडापालक किसानलाई लक्षित गरी विभिन्न रोगविरुद्ध खोप अभियान, औषधि उपचार, गोठालालाई बस्न त्रिपाल, मोबाइल चार्जका लागि सोलार तथा गोठ सुधार कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो।

गोठालाहरूको नियमित स्वास्थ्य परीक्षणमा समेत जोड दिइँदै आएको छ। धवलागिरि गाउँपालिकाका गुर्जा, लुलाङ, मुना, मुदी र मल्कबाङमा परम्परागत घुम्ती गोठमार्फत पशुपालन गर्ने चलन अझै कायम छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *