विदेश होइन, व्यावसायिक कृषिमै भविष्य देख्दै ढकाल परिवार
तनहुँ: रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी नगरपालिका–१ तल्लीपोखरी नयाँगाउँका दिनेश ढकालको परिवारले व्यावसायिक कृषि फार्म सञ्चालन गर्दै आएको छ ।
दिनेशसहित उहाँका बुबा पिताम्बर, आमा तारा तथा श्रीमती सदिक्षा समेत व्यावसायिक कृषिमा होमिनुभएको छ । ‘डिटिपिएस’ नामक कृषि फार्म दर्ता गरी उहाँहरूले व्यावसायिक कृषि सुरु गर्नुभएको हो । परिवारका सदस्यबीचको आपसी साथ र सहयोगकै कारण सफलता हासिल गर्न सकेको उहाँहरूको भनाइ छ ।
ढकाल परिवारले २०४० सालदेखि गर्दै आएको परम्परागत सुन्तला खेतीसँगै २०७४ सालदेखि कृषि फार्म दर्ता गरी सुन्तला खेतीका अतिरिक्त कालिजपालन, अदुवा तथा अकबरे खुर्सानी खेती गर्दै आएका छन् । उहाँहरूले आफ्ना परिवारका सदस्यबाहेक अन्य तीन जनालाई प्रत्यक्ष रोजगारीसमेत उपलब्ध गराउनुभएको छ ।
उहाँहरूको सुन्तलाखेती हाल १४ रोपनी क्षेत्रफलमा फैलिएको छ । सुन्तला खेतीबाट वार्षिक पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी हुने दिनेश ढकालले बताउनुभयो । फार्ममा साना–ठूला गरी एक हजार बोट रहेकामा करिब २५० बोटमा हाल फल लागिरहेको छ । राम्रो फल्ने एउटा बोटबाट २० क्रेटसम्म सुन्तला उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।
ढकाल परिवारले सात वर्षअघि सुरु गरेको व्यावसायिक कालिजपालन पनि विस्तार हुँदै गएको छ । फार्ममा हाल १३ हजारको सङ्ख्यामा कालिज रहेका छन् । तीन वर्षअघि जापान जाने सोचमा रहनुभएका ढकालले कालिजपालन फस्टाउँदै गएपछि विदेश जाने मोह त्यागेको बताउनुभयो ।
कालिज भाले प्रति दुई हजार पाँच सय र पोथी प्रति एक हजार पाँच सय रुपैयाँमा बिक्री हुने गरेको छ । सुरुमा २०७६ सालमा एक सयको सङ्ख्याबाट कालिजपालन सुरु गर्नुभएको उहाँले बताउनुभयो । “व्यावसायिक कालिजपालनमा धेरै सम्भावना छ, स्वदेशभित्र मात्र नभई चीन र दुबईजस्ता देशमा पनि यसको माग धेरै छ,” उहाँले भन्नुभयो, “राज्यले प्रोत्साहन गर्ने हो भने यही व्यवसायबाट म १५० जनासम्मलाई रोजगारी दिन सक्छु ।”
तीन वर्षयता सुन्तलाबगानभित्र अकबरे खुर्सानी र अदुवा खेती पनि गर्दै आउनुभएको छ । अकबरे खुर्सानी वार्षिक छदेखि सात क्वीन्टलसम्म उत्पादन हुने गरेको जानकारी दिँदै उहाँले प्रतिकिलो होलसेलमा २५० रुपैयाँदेखि खुद्रा ४०० रुपैयाँसम्ममा बिक्री हुने गरेको बताउनुभयो । अकबरे खुर्सानीबाट वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँहरूको भनाइ छ ।
सुन्तलाखेती, कालिजपालन, अकबरे खुर्सानी र अदुवासहित हाल फार्म २८ रोपनी क्षेत्रफलमा फैलिएको छ । व्यावसायिक कृषिमा राज्यको साथ र सहयोग आवश्यक रहेको बताउँदै ढकालले लामो समयदेखि फार्म सञ्चालन गर्दै आए पनि हालसम्म राज्यतर्फबाट प्राविधिक सहयोग नपाएको गुनासो गर्नुभयो ।
“प्राविधिक सहयोगका लागि पटक–पटक फार्ममा आउन आग्रह गर्दै सम्बन्धित निकायमा फोन गरे पनि खासै चासो नदिएको मेरो अनुभव छ,” उहाँले भन्नुभयो, “केही गर्छु भन्ने युवालाई राज्यतर्फबाट प्रोत्साहन नहुने हो भने स्वदेशमै रोक्न गाह्रो हुन्छ ।”
