पसिनाको गन्धमा फलेको सफलता: तीन लाखबाट करोडसम्म
मोरङ : उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले करिब रु एक करोड बराबरको लगानीमा विस्तार भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यसहित आठ वर्षअघि उहाँले कुखुरा फार्म सञ्चालन गर्नुभएको थियो । सुरुमा १५० कुखुराबाट सुरु भएको फार्ममा हाल १५ वटा होलिस्टेन गाई तथा एक हजार ५०० भन्दा बढी ब्रोइलर कुखुरा छन् ।
विदेश जाने सोच त्यागेर नेपालमै कृषि पेसा अंगाल्नुभएका तिवारीले यो अवस्थासम्म आइपुग्न जीवनका धेरै सपना पसिनासँग साट्नुपरेको छ । आफ्नै पसिनाको गन्धमा सफलता खोज्ने क्रममा उहाँले सुरुवाती दिनमा धेरै समस्या भोग्नुभयो । गोठ र घरको सम्पूर्ण खर्च कटाएर मासिक रु ४०–५० हजार आम्दानी गर्दै आउनुभएका तिवारी हाल गाउँमै परिवारसहित हाँसीखुसी जीवन बिताइरहनुभएको छ । कुखुरासँगै गाईपालनमा लाग्नुभएका किसान युवराज तिवारीले गाउँमै रहेर सफलता हासिल गर्नुभएको छ ।
गाउँमै केही गर्ने उद्देश्यसाथ पशुपालनमा लाग्नुभएका तिवारीको बिहान–बेलुकाको दैनिकी नै फेरिएको छ । बिहानको झिसमिसेमै पाँच किलोमिटर टाढा पथरी बजारतर्फ हिँडिरहेका तिवारी गाई र बाछाको पहिलो आवाजसँगै ओछ्यान छोड्नुपर्ने बताउनुहुन्छ । बिहान ३ः०० बजे गोठ पुग्ने तिवारी ५ः०० बजे दूधको क्यानसहित पथरी बजारमा भेटिनुहुन्छ ।
गोठमा नौवटा दुहुना र दुईवटा ब्याउनेसहित १५ वटा गाई छन् । गोठ नजिकैको फार्ममा एक हजार ५०० भन्दा बढी ब्रोइलर कुखुरा पालिएका छन् । गाईबाट दैनिक ७० लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ । दूध बिक्रीका लागि तिवारी बिहान ५ः०० बजे र बेलुका ४ः०० बजे पथरी बजार पुग्नुहुन्छ । आठ वर्षअघि देख्नुभएको सानो सपना क्रमशः पूरा हुँदै गएको उहाँ बताउनुहुन्छ । ब्रोइलर कुखुराबाट मात्र सोचेजस्तो आम्दानी नभएपछि तिवारीले तीन वर्षअघि रु तीन लाख खर्च गरेर गाईको गोठ निर्माण गर्नुभएको थियो ।
सुरुआती दिनमा न त ठूलो पुँजी थियो न त पर्याप्त अनुभव नै, तर आत्मविश्वासका साथ ‘केही गरेर देखाउने’ दृढ संकल्पका कारण उहाँको यात्रा कहिल्यै थाकेन । श्रीमती र दुई छोरीको साथले गाउँमै सफलता हासिल गर्दै आउनुभएको छ । श्रीमती चन्द्रकला बिहान श्रीमान्सँगै दूध दुहुन, खोले पकाउन र कुटी काट्न गोठमै व्यस्त रहनुहुन्छ । बिबिएस अध्ययनरत दुई छोरी कुखुराको स्याहार र दानापानीमा सहयोग गर्छन् । पढाइसँगै छोरीहरू बाबुआमाको आधुनिक पशुपालनप्रति गर्व र खुसी व्यक्त गर्छन् । बाबुआमाको मेहनतका कारण आज आफूहरूले उच्च शिक्षा हासिल गर्न सकेको उनीहरू बताउँछन् ।
तिवारी बिहानको झिसमिसेमै गोठमा व्यस्त रहँदा अधिकांश गाउँले निद्रामा हुन्छन् । प्रत्येक दिन हातमा टर्च र काँधमा बाल्टी बोकेर गोठ पुग्ने युवराजका लागि क्यानमा भरिएको दूध नै नयाँ ऊर्जाको स्रोत बन्छ । तिवारी मुस्कुराउँदै भन्नुहुन्छ, “दूध बेच्ने बेला सुत्न पाइँदैन, बेलुका पनि बजार पुग्नैपर्छ, तर ग्राहकको सकारात्मक प्रतिक्रियाले थप मेहनत गर्न ऊर्जा दिन्छ ।” कृषिमा निरन्तर सफलता हासिल गर्दै आउनुभएका तिवारीबाट अन्य किसानहरू पनि प्रेरित भइरहेका छन् ।
पहिले दुई–तीन सय कुखुरा हुर्काउन कठिनाइ हुने उहाँको फार्ममा आज एक हजार ५०० भन्दा बढी चल्ला हुर्किरहेका छन् । पहिलापहिला ‘यसले के गर्छ र ?’ भन्ने गाउँलेहरू अहिले उहाँको प्रगतिबाट प्रभावित भई अनुभव सिक्न आउने गरेका छन् ।
सरकारी अनुदानको आशा नगर्नुभएका तिवारीलाई हाल विभिन्न समस्या थपिँदै गएका छन् । समयको बचत र श्रमको भार कम गर्न दूध दुहुने मेसिन आवश्यक भएको उहाँ बताउनुहुन्छ । नगर तथा वडाबाट अनुदान पाए काम अझ सहज हुने आशा तिवारीले व्यक्त गर्नुभएको छ । साथै, वस्तु बस्ने म्याट, कुटी काट्ने मेसिन, दानासम्बन्धी प्राविधिक ज्ञान, गोठ सफा गर्ने आधुनिक तरिका, व्यवस्थित गोठ निर्माण तथा सामान्य पशु उपचारसम्बन्धी तालिम पाए थप सहज हुने उहाँको भनाइ छ ।
