औषधि ऐनको संशोधनबारे त्रिपक्षीय समझदारी, व्यवसायीको आन्दोलन स्थगित
काठमाडौं । औषधि ऐन २०३५ को दफा ११ मा २०७२ साउन १४ गते राजपत्रमा प्रकाशित संशोधनले औषधि व्यवसायीलाई पार्न सक्ने अप्ठ्याराहरू समाधान गर्न आज स्वास्थ्य मन्त्रालयमा त्रिपक्षीय वार्ता सम्पन्न भएको छ। वार्तामा नेपाल औषधि व्यवसायी संघको नेतृत्वमा नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ तथा एक्यवद्ध भइसकेको नेपाल औषधि आयातकर्ता संघका प्रतिनिधि सहभागी थिए।
वार्तामा व्यवसायीहरूले राखेका माग कानुनतः मन्त्रालयबाट र विभागीय कार्यहरू विभागमार्फत हुने सहमति बनेको संघर्ष समितिले जनाएको छ। यो सहमतिसँगै आजदेखि जारी आन्दोलन, धर्ना तथा अन्य चरणका कार्यक्रम स्थगित गर्ने निर्णय भएको छ।

संघर्ष समितिका अनुसार सम्झौता कार्यान्वयन नभएसम्म समिति यथावत् रहनेछ र आवश्यक परे थप कदम व्यवसायीको चारै संघको संघर्ष समितिमार्फत सञ्चालन गरिनेछ।

