अस्ट्रेलिया बसेर ललितपुरमा जागिर खाँदै पशु चिकित्सक

काठमाडौं । सरकारी सेवामा रहेका कर्मचारीले दैनिक हाजिर गर्नुपर्ने व्यवस्था छ । कार्यालयमा उपस्थित रहे÷नरहेको जनाउ दिने हाजिर गर्न कार्यरत कार्यालयमै कर्मचारी उपस्थित हुनुपर्छ । र यसकै आधारमा कर्मचारीले आफ्नो मासिक वेतनलगायत सुविधा पाउँछन् ।

तर पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेको हकमा भने यो लागू हुँदैन । अस्ट्रेलियामा बसेर पनि उनले ललितपुरस्थित पशु सेवा विभागमा पशु चिकित्सकको जागिर खाएको पाइएको छ । अस्ट्रेलियामा रहेको समयमा पनि घिमिरे नियमित हाजिर भइरहेको भेटिएपछि अनौठो तथ्यको खुलासा भएको हो ।

कर्मचारी संकेत नं.१९४४९२ रहेका डा.  घिमिरे ०८१ चैत २८ गते बिहीबार ९ः४५ बजे त्रिभुवन विमानस्थल हुँदै सिचुवान एयरको विमान चढेर अष्टे«लिया प्रस्थान गरेको अध्यागमन विभाग स्रोतले जनाएको छ ।०८१ चैत मसान्तसम्मका लागि कार्यालयमा बिदा लिएका उनी तत्पश्चात स्वदेश फर्किएका छैनन् । स्रोत भन्छ,‘ ०८१ चैत २८ गते बिहीबार ९ः४५ बजे ताप्लेजुङ जिल्ला ठेगाना उल्लेख भएका नवीन घिमिरे  त्रिभुवन विमानस्थल हुँदै सिचुवान एयरको विमान चढेर अष्टे«लिया प्रस्थान गरेको रेकर्डमा देखिन्छ तर उहाँ हालसम्म त्रिभुवन विमानस्थल मार्ग भएर नेपाल फर्केको रेकर्ड भेटिदैन् ।’ यद्यपि, महानिर्देशक डा. राम नन्दन तिवारी स्वंय ०८२ असार २९ गतेदेखि ०८२ साउन ९ गतेसम्म उनी कार्यालयमा हाजिर भएको बताउँछन् । डा.तिवारीले भने ,‘उहाँको रेकर्डमा हाजिर भएको देखिन्छ ।’ डा. घिमिरेकोे ९ दिनको हाजिरीमा हस्ताक्षर समेत फरक–फरक छन् । गत वैशाख २ गतेदेखि असार २७ गतेसम्मको उनको हाजिरी रेकर्ड भने खाली छ ।

पशु सेवा विभागका महानिर्देशक डा. राम नन्दन तिवारीले कार्यालयमा हाजिर भए पनि डा. घिमिरेलाई आफूले नभेटेको बताए । अन्य कर्मचारीहरू पनि घिमिरे हाजिर भएको दिनमा उनलाई नदेखेको बताउँछन् ।

डा.तिवारीका अनुसार घिमिरले व्याक्तिगत इमेलमार्फत गत असार ११ देखि भदौ १ गतेसम्मको घर बिदा र बिरामी बिदा पठाएका थिए । ०८२ वैशाख २ देखि असार ९ गतेसम्मको बिदा भने डा. घिमिरेले अहिलेसम्म पठाएका छैनन् । तिवारीका अनुसार असार ११ देखि भदौ १ गतेसम्मको घर बिदास्वीकृत गरिएको छ । पशु सेवा विभागको प्रशासन शाखाले जनाएअनुसार, गत भदौ २ देखि हालसम्म लगातार ९९ दिन उनी कार्यालयमा अनुपस्थित छन् ।

तिवारीको भूमिका शंकास्पद
अस्ट्रेलियामा रहेका डा. घिमिरेको हाजिरीमा उनको उपस्थितिबिना कसरी हस्ताक्षर भयो भन्ने विषय रहस्मय बनेको छ । उनलाई जागिरबाट बचाउन महानिर्देशक डा. तिवारीकै मिलेमतोमा हाजिर मिलाउने काम भएको विभाग स्रोतको दाबी छ । निजामती सेवा ऐन, २०४९ मा कुनै पनि निजामती कर्मचारी बिनाजानकारी ९० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेमा प्रक्रिया पूरा गरेर सेवाबाट हटाउन सकिने व्यवस्था छ ।

‘निजामती सेवा ऐनमा कुनै पनि कर्मचारी ९० दिनभन्दा बढी समय गैरहाजिर रहेमा सेवाबाट हटाउन सकिने व्यवस्था छ,’ स्रोतले भन्यो, ‘यो व्यवस्थाअनुसार डा. घिमिरेको जागिर जाने भएपछि महानिर्देशक तिवारीकै संलग्नतामा अन्य कसैलाई उनको हाजिरी गर्न लगाइएको हो ।’ डा. घिमिरेको ९ दिनसम्म गरिएको हाजिरमा फरक हस्ताक्षर हुनुले पनि यसमा त्यहीँभित्रका कर्मचारीको मिलेमतो रहेको संकेत गर्छ ।
अधिकांश सरकारी कार्यालयको हाजिरी विद्युतीय प्रणालीबाट हुने गरे पनि गत असारसम्म विभागको हाजिरी म्यानुअल रूपमा महानिर्देशकको सचिवालयमा राखेर गर्ने गरिएको थियो । हाजिरकपी राख्ने प्रशासन शाखाले समेत उनले हाजिरी गरेको र उनलाई प्रत्यक्ष नदेखेको बताउनुले पनि तिवारीमाथि थप शंका उब्जाउँछ  ।

महानिर्देशक डा. तिवारीले भने यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे । साथै उनले हाजिर गरेको अवधिमा डा. घिमिरेलाई आफूले विभागको कार्यालयमा नभेटेको प्रष्ट पारे ।

भेट टाइम्स मासिकको सम्पर्कमा आएका डा. घिमिरेले भने कार्यालयमा उपस्थित भएरै आफूले हाजिर गरेको जिकिर गरे । ९ दिन स्कुटर चढेर कार्यालयमा आफू उपस्थित भएको उनको दाबी छ । ‘बीचमा म आमा लिन नेपाल आएको थिएँ । १४ दिन नेपाल आउँदा ९–१० दिन कतिदिन हो स्कुटर चढेर कार्यालय गएँ । डिजी सा’व भर्खर नियुक्त हुनुभएकाले उहाँसँग भने भेट हुन सकेन । ह्वाट्सएपमा म्यासेज गरेर आफू आएको जानकारी गराएको थिएँ,’ भेट टाइम्स मासिकको जिज्ञासामा उनले भने ।
घिमिरे चलाउँछन् अस्ट्रेलियामा सेकुवा कर्नर
पशु सेवा विभागमा जागिर भए पनि डा. घिमिरे केही वर्षदेखि स–परिवार अस्ट्रेलिया बस्दै आएका छन् । घिमिरे आफैं पनि आमालाई समेत अस्ट्रेलिया लगेको बताउँछन् ।

डा. घिमिरेले अस्ट्रेलियामा होटल व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् । त्यहाँ  उनले नेपालको चर्चित सेकुवा कर्नर बाजेको सेकुवाको शाखा सञ्चालन गर्छन् । मेलबर्नमा रहेको सेकुवा कर्नरबारे उनले आफ्नो सामाजिक सञ्जालमार्फत नियमित प्रचार समेत गर्ने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *