दोलखामा भालुको आतङ्क : पशुपन्छी जोगाउन स्थानीयलाई मुस्किल
दोलखा : तिब्बतसँग सीमा जोडिएको बिगु गाउँपालिका–१ लप्चीगाउँका स्थानीय जङ्गली भालुको बढ्दो आतङ्कका कारण गाउँ छोड्नुपर्ने बाध्यतामा पुगेका छन्।
भालुको आक्रमणबाट मानिस मात्र होइन, पशुचौपाया जोगाउनसमेत हम्मेहम्मे परेपछि थातथलो छोड्ने स्थिति बनेको स्थानीय पासाङ छिरिङ शेर्पाले बताउनुभयो। उहाँका अनुसार, अत्यधिक चिसो बढेको बेला घर भत्काउने, खाद्यान्न बाली नष्ट गर्ने तथा मानिस र पशुचौपायामाथि आक्रमण गर्ने घटना बढेकाले भालु नियन्त्रणतर्फ सम्बद्ध निकायको ध्यान आवश्यक छ।
हिउँदयाममा चिसोबाट जोगिन र चौरी चरनका लागि युवाहरू लुम्नाङतर्फ झर्ने हुँदा गाउँमा बुढाबुढी मात्र बस्ने गर्छन्। यस क्रममा लप्चीमा भालु र चितुवाको बिगबिगी बढेको स्थानीयको भनाइ छ।
स्थानीय वाङ्छु शेर्पाका अनुसार, जङ्गली जनावरको आक्रमणबाट चौरी र घोडा ठूलो सङ्ख्यामा मरेपछि आर्थिक क्षति बढेको छ। घरमा भण्डारण गरिएको खाद्यान्नसमेत नष्ट भएपछि डर, त्रास र असहज अवस्था सिर्जना भएको छ। मानिससमेत असुरक्षित भएपछि बाध्य भई गाउँ छाड्नुपर्ने परिस्थिति आएको उहाँले बताउनुभयो। भालु र चितुवा आतङ्क न्यूनीकरण तथा नियन्त्रणका लागि सरकारी पहल आवश्यक रहेको माग उहाँको छ।
चीन सरकारले तिब्बत नाका खोलेसँगै लप्चीका स्थानीयले चौँरी, चौँरीको घ्यू, छुर्पी बेचेर ल्याएको खाद्यान्नसमेत भालुले खाइदिँदा गाउँमा बस्न कठिन भएको बिगु–१ लामाबगरका वडाअध्यक्ष मेम्बहादुर तामाङको भनाइ छ।
गौरीशङ्कर संरक्षण क्षेत्रभित्र पर्ने यस गाउँका स्थानीयले नेपाली भाषा शुद्ध रूपमा बोल्न नसक्ने अवस्था छ। संरक्षण क्षेत्र कार्यालयमा भालु आतङ्कबारे गुनासो दिए पनि सुनुवाइ नभएको स्थानीयको आरोप छ।
विगु–१ लप्चीमा ४६ घरधुरीमा झन्डै १५० जनसङ्ख्या छ। तीमध्ये चौँरीपालन गर्ने १४ घरधुरीका बासिन्दा मंसिरदेखि चैत्रसम्म लुम्नाङतर्फ झर्ने गर्छन्।
