कुखुरापालनबाट मासिक एक लाख आम्दानी
तनहुँ : व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेत कुखुरापालन गरेर मासिक रु एक लाख आम्दानी गर्दै आउनुभएको छ। सत्र वर्ष दुबईमा रोजगारी गर्नुभएका बस्नेत स्वदेश फर्किएर व्यावसायिक रूपमा कुखुरापालनमा लाग्नुभएको हो। विदेशमा रहँदा कोरोनाका समयमा बुबाको निधन भएको नौ महिनापछि घर फर्किनुभएका उहाँ त्यसयता विदेश नगई स्वदेशमै केही गरौँ भन्दै पाँच वर्षदेखि कुखुरापालन गर्दै आउनुभएको छ।
विदेशमा गरेको आम्दानीभन्दा स्वदेशमा बसेर दोब्बर कमाई गर्न सकिन्छ भन्ने उदाहरण बस्नेतले प्रस्तुत गर्न सफल भएका छन्। उहाँले सञ्चालन गर्दै आएको ‘बस्नेत ब्रोइलर पोल्ट्री एण्ड एग फार्म’मा हाल दुई हजार कुखुरा छन्। सुरुआतमा रु ३० लाख लगानी गरी छ रोपनी क्षेत्रफलमा दुईवटा आधुनिक ट्रष्ट निर्माण गरेर व्यवसाय सुरु गर्नुभएका बस्नेत अहिले मनग्य आम्दानी गर्दै आउनुभएको छ। दैनिक एक हजार आठ सय अण्डा उत्पादन हुने यो फार्मबाट महिनामा रु पाँच लाखभन्दा बढीको कारोबार हुने गरेको छ।
दाना, औषधि तथा श्रम खर्च कटाएर मासिक रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ। “दुबईमा महिनामा करीब रु ६० हजार आउँथ्यो, अहिले गाउँमै परिवारसँग बसेर विदेशकोभन्दा दोब्बर फाइदा भइरहेको छ,” बस्नेतको भनाइ छ।
कुखुरा व्यवसायबाट उत्पादन हुने ठूला दाना (क्रेड) स्थानीय बजारमा प्रतिथान रु पाँच सयमा बिक्री हुँदै आएको छ। जोखिमयुक्त मानिने कुखुरापालनमा किसानलाई टिकाइराख्न सरकारले दाना उत्पादनमा अनुदान उपलब्ध गराउनुपर्ने बस्नेतको सुझाव छ।
“पूर्वाधारमा मात्र अनुदान दिएर हुँदैन। दाना खरिदमा सहयोग भयो भने किसान टिकाउ हुन्छन्, राज्यको लगानी पनि सुरक्षित हुन्छ,” उहाँको तर्क छ। बस्नेतका अनुसार कुखुरापालन सुरु गरेपछि वर्षौँदेखि बाँझो रहेको जमिनको सदुपयोग मात्र नभई खेतीपातीमै पनि उल्लेख्य सुधार आएको छ।
श्रीमती मधुमायाको निरन्तर सहयोगमा फार्म सञ्चालन गर्दै आउनुभएका बस्नेत भन्छन्, “कुखुराको मल प्रयोग गरेपछि तोरी राम्रो फल्न थालेको छ, तेल किन्नुपरेको छैन, तरकारी पनि बजारबाट ल्याउनुपरेको छैन।”
व्यास नगरपालिकाले इनार निर्माणका लागि रु २५ हजार र कुखुरा खरिदका लागि रु ५० हजार सहयोग गरेको व्यास–१ का वडासदस्य मणिजङ्ग बस्नेतले बताउनुभयो। चितवनबाट चल्ला ल्याएर सुरु गरिएको यो व्यवसाय अहिले गाउँमै रोजगारी, आम्दानी र आत्मनिर्भरता अभिवृद्धिको उदाहरण बनेको छ। दुबईबाट फर्किएर ‘सामान्य किसान’का रूपमा सुरु गरिएको यात्रा आज बस्नेतलाई सफल व्यावसायिक किसानका रूपमा उभ्याइरहेको स्थानीय सूर्य कार्की क्षत्रीले बताउनुभयो।
