काठमाडौं महानगरले १० दिनमै १,१२० सामुदायिक कुकुरको बन्ध्याकरण गर्यो
काठमाडौं । काठमाडौं महानगरपालिकाले साझेदार संस्थासँगको सहकार्यमा १० दिनभित्र १,१२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न गरेको छ। कात्तिक १४ गतेदेखि सबै वडामा सुरु गरिएको यो अभियानलाई महानगरले कुकुर व्यवस्थापन तथा रेविज नियन्त्रणमा महत्वपूर्ण उपलब्धि रूपमा लिएको छ।
पशुकल्याणका क्षेत्रमा कार्यरत सङ्ग–संगठनसँगको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा बन्ध्याकरणसंगै रेविजविरुद्धको खोप पनि प्रदान गरिएको महानगरपालिकाका पशुचिकित्सक डाक्टर पूजा खनालले जानकारी दिइन्। उनका अनुसार बन्ध्याकरण गरिएको प्रत्येक कुकुर वा बिरालोलाई सोही समयमा अनिवार्य रूपमा रेविज खोप दिइन्छ।
गत वर्ष ६७० कुकुर तथा बिरालाको बन्ध्याकरण गरिएकाे र १६ हजार ५६९ जनावरलाई रेविजविरुद्ध खोप प्रदान गरिएको थियो। त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ५,५०० वटा कुकुर र बिरालाको बन्ध्याकरण तथा १६ हजार जनावरलाई रेविज खोप दिइएको थियो। महानगरले २०७९/८० देखि निरन्तर रूपमा सामुदायिक कुकुर–बिरालालाई लक्ष्य गरी बन्ध्याकरण तथा रेविज नियन्त्रण कार्यक्रम सञ्चालन गर्दै आएको छ।
महानगरले आगामी पुस अघिसम्म ४,००० कुकुरको बन्ध्याकरण गर्ने योजना बनाएको छ। आवश्यक बजेट व्यवस्थापन हुन सके थप ४,००० कुकुरमा पनि बन्ध्याकरण कार्यक्रम विस्तार गर्ने तयारी रहेको महानगरको कृषि तथा पशुपन्छी विभागले जनाएको छ।
