अविनाश ह्याचरीलाई कुमारी बैंकबाट ३५ दिने अल्टिमेटम, वित्तीय संकट संगै बैंकसमेत डुब्ने खतरा
काठमाडौँ । पोल्ट्री व्यवसायी गुणचन्द्र विष्टको स्वामित्वमा सञ्चालित अविनाश ह्याचरी गम्भीर वित्तीय संकटमा परेको छ। विष्टले सञ्चालन गरेको ह्याचरीले कुमारी बैंकबाट लिएको ऋण समयमा तिर्न नसक्दा बैंकले सार्वजनिक सूचना जारी गरी ३५ दिनभित्र ऋण चुक्ता गर्न अल्टिमेटम दिएको छ।
कुमारी बैंकले कार्तिक २६ कान्तिपुर राष्ट्रिय दैनिकमा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको हो। अविनाश ह्याचरीले कुमारी बैंकको नारायणगढ शाखाबाट ऋण लिएको थियो। बैंकका अनुसार, ऋणीलाई पटक–पटक मौखिक र लिखित रूपमा ऋण र ब्याज चुक्ता गर्न सूचना दिइए पनि उनीहरूले चासो देखाएका छैनन्।
बैंकले ३५ दिनभित्र ऋण चुक्ता नभए प्रचलित ऐन, कानून, नेपाल राष्ट्र बैंकका निर्देशनहरू र बैंकको कर्जा विनियमावली अनुसार धितोमा रहेको चल तथा अचल सम्पत्ति लिलाम गरी ऋण असूल गरिनेछ। साथै, कम्पनीको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा पनि सूचीकृत गरिनेछ।
यदि धितोबाट ऋण असूल नभए, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र अन्य प्रचलित नियम–कानुन तथा कर्जा सम्झौताअनुसार, ऋणी, सञ्चालक र जमानीकर्ताका अन्य सम्पत्ति पनि बैंकले असूल गर्नेछ। बैंक स्रोतका अनुसार, विष्टका अन्य व्यावसायिक फर्ममा पनि ठूलो लगानी भएकोले उनीहरूको आर्थिक संकटले कुमारी बैंकसमेत डुब्न सक्ने जोखिम रहेको बताइएको छ।
नेपालमा पोल्ट्री व्यवसाय सुरु गर्ने क्रममा विष्टले २०५१ वैशाखमा अविनाश ह्याचरी स्थापना गरेका थिए। यस कम्पनीले कुमारी बैंकसँगै सहवित्तीयकरण अन्तर्गत नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट पनि ऋण लिएको थियो।

बैंकका अनुसार, कर्जाअन्तर्गत रोक्का राखिएको अविनाश ह्याचरीको नाममा रहेको जग्गा तथा पुर्वाधार पनि लिलाम गर्ने तयारी भइरहेको छ।
