भेडापालनमा भविष्य खोज्दै आस्मन

म्याग्दी :यहाँको धवलागिरि गाउँपालिका–४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन पुर्जा मगर प्रायः भेडीगोठमै भेटिन्छन्। हिउँदमा बेँसी र बर्खायाममा बुकीका खर्कमा घुम्ती गोठमा भेडाबाख्रा गोठालो गर्नु नै उहाँको दैनिकी हो। केही वर्षअघिसम्म रोजगारीको खोजीमा शहरमा भौतारिनुभएका पुर्जा अहिले भेडापालनमै भविष्य खोजिरहनुभएको छ।

बुबा मनलाल र आमा फिस्टीका सात भाइ छोरा र एक छोरीमध्ये कान्छा आस्मनले कक्षा ९ सम्म मात्रै पढ्नुभएको हो। उहाँले पोखरा, नयाँपुल र बेनीमा रेष्टुरेन्टमा पनि काम गर्नुभएको थियो। ती सबै काम छाडेर उहाँ गाउँमै भेडापालन गर्न फर्किनुभयो।

“आफ्नै माटोमा सम्भावना छन् भन्ने लागेर भेडापालन सुरु गरेको हुँ। मेरो स्वदेशमै आत्मनिर्भर बन्ने सपनालाई आर्थिक लगानीको जरुरी थियो। त्यही बेला कोरियामा रहनुभएका साथी अनिल पाइजाले साथ दिनुभयो र यो सम्भव भएको हो,” पुर्जाले भन्नुभयो। किसानी मावि बिममा पढ्दाका सहपाठी अनिलले भेडापालनका लागि सुरुआती लगानी गरिदिएपछि आफ्नो सपना पूरा भएको उहाँले बताउनुभयो।

भेडापालनमा करिब रु १३ लाख लगानी गर्नुभएका पुर्जालाई साथी अनिलले मात्रै करिब रु ६ लाख सापटी दिनुभएको छ भने बाँकी रकम पुर्जाले आफैं जुटाउनुभएको हो। उहाँका गोठमा हाल करिब १०० भेडा छन्। भेडीगोठमा भेडाको सङ्ख्या थपिँदै गएको छ। यही याममा मात्रै उहाँका करिब २५ भेडा ब्याउने तयारीमा छन्। निकट भविष्यमा भेडाको सङ्ख्या बढाएर भेडीगोठलाई आम्दानीको मुख्य स्रोत बनाउने पुर्जाको योजना छ।

जेठदेखि असोजसम्म जिरबाङ पिक, बुकी र मूलखर्कका हरियालीमा राखिने भेडीगोठलाई हिउँद लागेपछि भने सिङकोस गाउँ वरपर झारिन्छ। स्थानीय बासिन्दाले देवीदेवताको भाकल पूरा गर्न साँढले पूजा गर्ने चलन भएकाले भेडीगोठमा उत्पादन भएका साँढका लागि बजारको अभाव छैन। खसी भने मासुका लागि गाउँलेहरू नै गोठमै पुगेर खरिद गर्छन्।

“बुबाले पनि घुम्ती गोठमा भैँसीपालन गर्नुभएको हो। सानोमा म पनि दाइहरूसँग गोठमा बस्थेँ। आफ्नै पुर्खाको माटोमा पसिना बगाउन पाउँदा गर्व लाग्छ,” उहाँले भन्नुभयो।

पुर्जाको भेडापालनले युवाहरूले विदेशमा गएर मात्र सम्भावना खोज्नु पर्दैन, आफ्नै गाउँमा पनि अवसरहरू छन् भन्ने सन्देश दिएको स्थानीयवासीहरू बताउँछन्। पुर्जाका बुबा ७१ वर्षीय मनलाल अझै चोयाको डोको, डालो बुन्नुहुन्छ। उहाँका दुई छोराले बाख्रापालन, एक छोराले भैँसीपालन गर्दै आउनुभएको छ। एक छोराले जिप चलाउँछन्। दुई छोराले गाउँमा च्याउ र टुसालगायतका वस्तु बिक्री गरेर जीविकोपार्जन गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *