अनुमति बिना भित्रिएको बीफ मिस्रित फिड सप्लिमेन्ट भाटभटेनीमा बिक्री
काठमाडौं । वीरगन्ज महानगरपालिका–१४ मा सञ्चालित भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्सले बीफजन्य पशु आहार (फिड सप्लिमेन्ट) बिक्री–वितरण गरिरहेको पाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र वाणिज्य कार्यालयलगायतको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा सो सुपरमार्केटमा “च्युयी स्न्याक बीफ फ्लेभर्ड” लगायतका बीफजन्य खाद्य तथा पशु आहार वस्तुहरू बिक्री भइरहेको भेटिएको हो।
अनुगमन टोलीसँगको सोधपुछमा भाटभटेनीका व्यवस्थापक सौरभ शुक्लाले अबदेखि कुनै पनि प्रकारका बीफजन्य उत्पादनहरूको बिक्री–वितरण नगर्ने र नेपाल सरकारको प्रचलित ऐन तथा नियमअनुसार व्यवसाय सञ्चालन गर्ने लिखित प्रतिबद्धता जनाएका छन्। उनले भने, “यदि ऐन–नियमको विपरीत गई कुनै प्रकारको खरिद–विक्री गरेको पाइएमा कानुन बमोजिमको कारबाही सहनेछु।”
सरकारी निकायमा दर्ता छैन
उल्लेखित फिड सप्लिमेन्ट नेपाल सरकारको पशु सेवा विभाग अन्तर्गतको राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालामा दर्ता नभएको पाइएको छ। कार्यालयका प्रमुख डा. हेमराज अवस्थीले उक्त बस्तु आयात गर्न आफ्नो कार्यालयले कुनै अनुमति नदिएको स्पष्ट पारे। उनले भने, “यो उत्पादन हाम्रो कार्यालयबाट सिफारिस गरिएको होइन।”
उक्त बीफजन्य फिड सप्लिमेन्ट आक्वारियम इन्टरप्राइजेज, लाजिमपाट काठमाडौंले आयात गरि विक्री वितरण गरिरहेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्ला दिनमा देशभर आकस्मिक अनुगमनलाई तीव्रता दिएको छ। विशेषगरी चाडपर्वको समयमा खाद्य वस्तुमा हुन सक्ने मिसावट र अवैध बिक्री रोक्न विभागले आक्रामक कदम चाल्दै आएको छ।
विभागले स्थानीय प्रशासन र सरोकारवाला निकायहरूसँग समन्वय गरी बजार निरीक्षण, चेतावनी, सचेतना र कानुनी कारबाहीका गतिविधि नियमित रूपमा सञ्चालन गरिरहेको जनाएको छ।
नेपालको राष्ट्रिय जनावर गाई भएको कारण बीफजन्य वस्तुहरू (खाद्य वा फिड दुवै) को आयात, बिक्री वा वितरण कानुन विपरीत हो।
