विश्व अण्डा दिवसको ऐतिहासिक पृष्ठभूमि

सन् १९९६ मा अस्ट्रियाको भियनामा भएको एक सम्मेलनमा अन्तर्राष्ट्रिय अण्डा आयोग (International Egg Commission) द्वारा विश्व अण्डा दिवसको स्थापना गरिएको थियो । यस दिनको उद्देश्य अण्डाको बहुमुखी, पौष्टिक फाइदाहरूलाई प्रवर्द्धन गर्नु तथा किफायती र दिगो खाद्य स्रोतको रूपमा विश्वव्यापी रूपमा जागरूकता जगाउनु हो । यो दिन प्रत्येक वर्ष अंग्रेजी पात्रोको अक्टोबर महिनामा पर्ने दोस्रो शुक्रबारमा मनाइन्छ । यस दिवसमा अण्डाको महत्त्वलाई उजागर गर्न विभिन्न कार्यक्रमहरू, जनजागरण अभियानहरू र परिकारबारे जानकारीहरूको प्रचारप्रसार गर्ने जनचेतनामूलक कार्यक्रमहरू समावेश गरी विश्वभरि मनाइने गरिएको छ ।
यस वर्षको विश्व अण्डा दिवस : विषयवस्तु र मुख्य सन्देशहरू
हरेक वर्षझैं यस वर्ष पनि अक्टोबर महिनाको दोस्रो शुक्रबार अर्थात् अक्टुबर १० (२०८२ असोज २४ गते शुक्रबार) मा विश्व अण्डा दिवस (World Egg Day) नेपाल लगायत विश्वभरि मनाइँदैछ । यस वर्षको विश्व अण्डा दिवसको मूल विषयवस्तु (नारा) The Mighty Egg: Packed with Natural Nutrition (प्राकृतिक पोषणले भरिपूर्ण : शक्तिमान अण्डा) रहेको छ । यस वर्षको विश्व अण्डा दिवस २९औं वर्ष गाठको रूपमा मनाइँदैछ । यस दिनलाई विश्वभरका मानिसहरूलाई पोषण दिन अण्डाले खेल्ने शक्तिशाली भूमिकाको उत्सवको रूपमा मनाउने गर्दछन् । प्राकृतिक रूपमै आवश्यक पोषक तत्वहरूले भरिपूर्ण र विकट भौगोलिक परिवेशमा समेत विश्वव्यापी रूपमा उपलब्ध अण्डा जीवनको हरेक चरणमा स्वास्थ्य र मानव कल्याणलाई समर्थन गर्ने एक आत्म प्रभावकारी एवं शक्तिशाली पूर्णस्वरूपको खाद्य पोषण हो । त्यति मात्र होइन, अण्डा विविध पाक परिकार र मानव उपयोगी सामग्रीहरू तयार गर्न नभई नहुने विशिष्टीकृत तत्वको रूपमा समेत प्रचलित छ ।
हामी किन विश्व अण्डा दिवस मनाउँछौं ?
विश्व अण्डा दिवसको मुख्य उद्देश्य मानिसहरूलाई अण्डाको आर्थिक र पौष्टिक महत्वको बारेमा जानकारी गराउनु हो । यो दिनः
⦁ अण्डालाई उच्च गुणस्तरको प्रोटिन र सूक्ष्म पोषक तत्वहरूको महत्त्वपूर्ण स्रोतको रूपमा प्रवर्द्धन गर्दछ ।
⦁ कुखुरा उद्योग र खाद्य सुरक्षाको आर्थिक योगदानलाई समर्थन गर्दछ ।
⦁ अण्डाको खपत र कोलेस्ट्रोलसम्बन्धी मिथ्या धारणा वा अफवाहहरूलाई स्पष्ट पार्नु हो ।
⦁ नीति निर्माताहरूलाई कुखुरापालनसँग सम्बन्धित उद्योगलाई प्रवर्द्धन र प्रोत्साहन गर्नु हो ।
⦁ उपभोक्ताहरू माझ दैनिक अण्डा उपभोग गर्न सन्देश फैलाउनु हो ।
हामी अण्डाको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न विश्व अण्डा दिवस मनाउने गर्दछौं । अण्डाले शरीरलाई उत्कृष्ट पोषण दिन्छ । यसले मस्तिष्कको वृद्धि, प्रतिरक्षा प्रणाली र मांसपेशी विकासमा सहयोग गर्दछ । विश्वभरका लाखौं व्यक्तिहरूको लागि यो पशु प्रोटिनको सबैभन्दा सस्तो खाद्य स्रोत हो । अण्डा उत्पादन व्यवसायले लाखौं मानिसहरुको जीविकोपार्जन र रोजगारीसमेत प्रदान गरेको छ । यसले अर्थतन्त्रलाई समेत उल्लेखनीय सहयोग पु–याइरहेको छ ।
विगतका वर्षहरूमा अण्डाको पोषण महत्त्वको बारेमा जागरूकता जगाउन विश्व अण्डा दिवसले अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको छ । यसले मानिसहरूलाई स्वस्थ जीवनको लागि अण्डा उपभोग गर्न प्रोत्साहित गर्दछ ।
कसरी मनाइन्छ यो दिवस ?
विश्व अण्डा दिवस विश्वभर अनौठो र नवीन तरिकाले मनाइन्छ । नेपालमा, कुखुरापालन संस्थाहरू, व्यावसायिक तथा पेशागत संघहरू, कलेज तथा विश्वविद्यालयहरू, सरकारी निकायहरूले गोष्ठी, अन्तरक्रिया, प्रदर्शनी र खाना पकाउने प्रतियोगिताहरू सञ्चालन गर्दछन् । नेपाल भेटेरिनरी एशोसिशनको अगुवाइ तथा नेपाल लेयर्स कुखुरापालक संघको सहकार्यमा साताव्यापी स्कूल शिक्षा कार्यक्रम तथा निःशुल्क अण्डाको परिकार चखाउने कार्यक्रमहरू सञ्चालन गरिएको पाइन्छ । दैनिक खानामा समावेश गरिएको अण्डाको स्वास्थ्यलाभहरूको बारेमा मानिसहरूलाई शिक्षित गर्न देशका विभिन्न शहरहरू र विद्यालयहरूमा निःशुल्क अण्डा वितरण अभियानहरू समेत सञ्चालन गरिन्छ । त्यसैगरी, व्यावसायीक संघसंस्थाहरूले सामाजिक सञ्जालमार्फत शिक्षा अभियानहरू चलाउँछन् ।
क–कसले मनाउँछन् ?
समाजका विभिन्न वर्गले यो दिन भव्य तथा हर्षोल्लासका साथ मनाउँछन् ।
⦁ कुखुरापालक व्यवसायी तथा अण्डा उत्पादक कृषक संघ–संस्थानहरू
⦁ पशु चिकित्सक तथा पशुचिकित्सा अध्ययनरत विद्यार्थीहरू
⦁ भेटेरिनरी प्राविधिक तथा प्राविधिकधार अध्ययनरत विद्यार्थीहरू
⦁ सरकारी तथा गैरसरकारी संघ–संस्थानहरू
⦁ विश्वविद्यालय तथा अनुसन्धान संस्थानहरू
⦁ मानव पोषण विशेषज्ञ र आहारविद्हरू
⦁ कुखुपालन तथा भेटेरिनरी पेशागत संघ–संस्थानहरू
⦁ कुखुरा उद्योग तथा दाना उत्पादन गर्ने कम्पनीहरु
⦁ अण्डा व्यवसायसँग सम्बन्धित संस्थाहरू
⦁ खाद्य प्रशोधनकर्ता, शेफहरू र पाककला विशेषज्ञहरू
⦁ विद्यालय र शैक्षिक संस्थानहरू
⦁ परिवारहरू र उपभोक्ताहरू
यस उत्सवले कुखुरा क्षेत्रका प्राविधिक विशेषज्ञहरू र आम जनमानस बीच सामीप्यता र एकता बढ्ने गर्दछ । विभिन्न क्षेत्रका मानिसहरुको विविधतयुक्त भेलाले यस दिनको सन्देशलाई विस्तार गर्न ठूलो टेवा पुग्दछ ।
व्यावसायिक अण्डा (Table Egg) भनेको के हो ?
व्यावसायिक अण्डा (Table Egg) भनेको प्रजनन वा बच्चा जन्माउनको लागि नभई मानव उपभोगको लागि विशेष रूपमा उत्पादन गरिने अण्डा हो । यी अण्डाहरू व्यावसायिकस्तरमा उत्पादन गरिन्छ तर यस प्रकारको अण्डाबाट चल्ला उत्पादन हुँदैन । यी अण्डाहरूलाई मानव उपभोगका लागि हुने हुँदा उत्पादन हुने फार्महरुमा कडा जैविक सुरक्षा मापदण्डहरू र अण्डाको प्रशोधन तथा संचित गर्ने स्थानहरु उत्कृष्ट स्वच्छता सुरक्षा व्यवस्था सुनिश्चित गरि अण्डाहरुको ग्रेडीङ्ग र प्याक गरिन्छ ।
आधुनिक अण्डा उत्पादन गर्ने व्यावसायिक कुखुरा फार्मलाई विशेषतः लेयर्स फार्म भनिन्छ । हाल नेपालमा स्थापना भइरहेको अधिकाशं ठूला फार्महरुमा लेयर्स कुखुराहरू नियन्त्रित वातावरण (वातानूकुलित) मा व्यवस्थापन गरिन्छ । कुखुराहरूलाई नियन्त्रित, आरामदायी तापक्रम, गुणस्तरिय पौष्टिक दाना र विशिष्टीकृत स्वास्थ्य सुरक्षा प्रदान गरिन्छ । यसले मानव उपभोगको लागि स्वच्छ, ताजा र सुरक्षित व्यवसायिक अण्डा (Table Egg) को आपूर्ति सुनिश्चित गर्दछ ।
अण्डाको संक्षिप्त इतिहास ?
अण्डाको इतिहास मानव इतिहास जत्तिकै पुरानो छ । पुरातात्विक खोजहरूका अनुसार, मानिसहरूले हजारौं वर्ष पहिले चराहरूको अण्डा सङ्कलन गर्ने र खाने गर्थे । दक्षिणपूर्वी एसियामा लगभग सात हजारदेखि १० हजार वर्ष पहिले कुखुराहरू घरपालुवा बनाइएको पाइन्छ । अब यो ग्रामीण घरपालुवा हुँदै एक उन्नत व्यावसायिक उद्योगमा परिणत भएको पाइन्छ ।
वर्षौंदेखि अण्डा मानव खानाको एक महत्त्वपूर्ण भाग बनेको छ । आज उन्नत कुखुरा आनुवंशिकी र व्यवस्थापनका साथै लेयर्स कुखुरापालन गर्ने उद्योगले हरेक वर्ष अर्बौंको संख्यामा संसारभरि सुरक्षित, किफायती र पौष्टिक अण्डा प्रदान गर्दछ ।
अण्डाको पोषण महत्त्व ?
अण्डाहरूलाई तिनीहरूको सन्तुलित पोषणको कारणले गर्दा “प्रकृतिको उत्तम खाद्य” पदार्थको रूपमा लोकप्रिय छ । अण्डाहरूमा क्यालोरी कम हुन्छ भने पोषक तत्वहरू प्रशस्त प्रकारका हुन्छन् । यस कारण अण्डालाई सबै उमेर समूहका लागि खान उपयुक्त बनाउँछ । विकासशील क्षेत्रहरूमा प्रोटिन – ऊर्जाको उत्कृष्ट उपलब्धताले मानिसमा कुपोषणलाई सम्बोधन गर्न पनि महत्त्वपूर्ण भूमिका हो ।
अण्डा एक बहुआयामिक प्राकृतिक पोषणले भरिएको मूल्यवान खाद्य पदार्थ हो जसमा मानिसलाई आवश्यक कम्तीमा १३ प्रकारका अत्यावश्यक पोषक तत्वहरू हुन्छन्, जसले मानव शरीर निमार्णका साथै मानव स्वास्थ्यको लागि रोग प्रतिरोधात्मक क्षमता निमार्ण गर्ने महत्त्वपूर्ण प्रोटिन प्रदान गर्दछ । एउटा ५० देखि ६० ग्रामको रातो कुखुराको अण्डामा सरदर ६.५ ग्राम प्रोटिन तथा ०.५ ग्रा. कार्बोहाईड्रेट पाइन्छ भने महत्त्वपूर्ण खनिज जस्तैः मैग्नेसियम, पोटासियमका साथै भिटामिन डी, भिटामिन ई, ओमेगा थ्री, कोलिन र एन्टिअक्सिडेन्ट पाइन्छ । यी पोषणहरूले निम्न प्रमुख कार्यहरु गर्दछ :
⦁ कोलिन र ओमेगा–३ फ्याटी एसिडका कारण बच्चाहरूमा मस्तिष्क विकास
⦁ पूर्ण प्रोटिनका कारण मांसपेशीको वृद्धि र मर्मत
⦁ लुटिन र जियाजेन्थिनको कारण आँखाको स्वास्थ्य
⦁ शरीरको प्रतिरक्षा प्रणाली र ऊर्जाको चक्रमा सहयोगी
प्रकृतिद्वारा न्यूनतम रूपमा प्रशोधन गरिएको, अण्डाले कुनै थप सामग्रीबिना सम्पूर्ण, वास्तविक पोषण प्रदान गर्दछ । जीवनको हरेक चरणमा अण्डाले प्रारम्भिक विकासदेखि स्वस्थ बुढ्यौलीसम्म शारीरिक र संज्ञानात्मक स्वास्थ्य दुवैलाई समर्थन गर्दछ । अण्डा विश्वव्यापी खाना, परिकार र खानाको समयमा सजिलै अनुकूल हुन्छन् । सबैका लागि पोषण अण्डाबाट उच्च गुणस्तरको प्रोटिनले मांसपेशी स्वास्थ्यलाई समर्थन गर्दछ तथा बल, वृद्धि र मर्मतमा योगदान गर्दछ । अण्डामा पाइने कोलिनले मस्तिष्क विकास, स्मरणशक्ति र संज्ञानात्मक कार्यलाई समर्थन गर्दछ । मातृ स्वास्थ्य र गर्भावस्थाको लागि अण्डा पोषक तत्वहरूले भरिपूर्ण हुन्छ, जसले फोलेट, भिटामिन बी१२ र भिटामिन डी आपूर्ति गर्दछ, जुन सबै स्वस्थ गर्भावस्था र भ्रण विकासका लागि महत्त्वपूर्ण छन् । अण्डामा रहेको लुटेन र जियाजेन्थिनले स्वस्थ दृष्टिलाई बढावा दिन्छ र आँखालाई बुढेसकालको क्षतिबाट बचाउँछ । अण्डाबाट भिटामिन डी र फस्फोरसले हड्डी र दाँतलाई बलियो बनाउँछ ।
अण्डाको आर्थिक र औद्योगिक महत्त्व ?
लेयर्स कुखुरापालन र अण्डा उद्योग विश्वव्यापी कुखुरा अर्थतन्त्रको एक महत्त्वपूर्ण हिस्सा बनेको छ । नेपालमा यस क्षेत्रले वार्षिक अर्बौं अण्डा उत्पादन गर्दछ, जसले किसानहरू, ह्याचरीहरू र फिड मिलहरूको लागि आयको भरपर्दो स्रोत प्रदान गर्ने मात्रै होइन यसको व्यावसायिक कारोबारबाट सरकारलाई अर्बौंको राजस्वसमेत प्राप्त भइरहेको छ । एकातर्फ अन्य पशु प्रोटिनको उत्पादन गर्न आवश्यक पर्ने प्राकृतिक स्रोतहरू तुलनामा अण्डा उत्पादनलाई कम प्राकृतिक स्रोतहरू आवश्यक पर्दछ भने अर्कातर्फ वातावरणीय विकारसमेत न्यून उत्सर्जन भएको पाइन्छ । यसले अण्डा उत्पादन गर्ने उद्योगलाई पोषणको दिगो र वातावरणीय रूपमा कुशल स्रोत बनाएको छ । त्यसैगरी, यस व्यवसाय र सम्बद्ध उद्योगहरूमा लाखौं रोजगारीका अवसरहरू पनि सिर्जना गरेको छ । पशु चिकित्सा सेवाहरू, फिड उत्पादन, र उपकरण निर्माण अन्य क्षेत्रहरूको लागि यसको आर्थिक महत्त्व छ ।
विश्व मानचित्रमा नेपाल अण्डा उत्पादनमा ९२औं स्थानमा छ भने नेपालीले वार्षिक रूपमा सरदर ६१ गोटा अण्डा खपत गर्ने गरेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार विगत एकदशकअघि नेपालमा हजारौंको संख्यामा रहेको व्यावसायिक लेयर्स कुखुरा फार्महरुको संख्या कोबिड–१९ को मानवीय विपद्पश्चात आर्थिक मन्दीका कारण घटेर हाल लगभग ६०० देखि ७५० व्यावसायिक लेयर्स कुखुरा फार्महरू मात्र सञ्चालनमा रहेका छन् । वर्तमान अवस्थामा नेपालमा ७ वटा लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरीहरू सञ्चालनमा रहेका छन् जसबाट लगभग एक लाख व्यावसायिक लेयर्स पोथी चल्ला प्रति हप्ता उत्पादन भइरहेका छन् । ती व्यावसायिक लेयर्स कुखुरा फार्महरूबाट हाल अनुमानित ५५ देखि ६० लाख अण्डा दिइरहेका कुखुराहरूबाट दैनिक सरदर ४५ देखि ५० लाख गोटा (२२,००० देखि २३,५०० कार्टून/पेटी/बाक्स) अण्डा उत्पादन भइरहेका छन् । नेपाल भेटेरिनरी पोल्ट्री एशोसिएशनका अनुसार नेपालमा सबैभन्दा सानो संख्याको व्यावसायिक लेयर्स कुखुरा फार्ममा ५०० थान कुखुरा पालिएको पाइन्छ भने सबैभन्दा बढी ६ लाख लेयर्स कुखुराहरु पालिएका अत्याधुनिक लेयर्स फार्म सञ्चालनमा रहेका छन् । क्षमता र प्रविधिको हिसाबमा हेर्दा नेपालीलाई पोषणको लागि चाहिने जति पनि उत्पादन गर्ने क्षमता नेपाली अण्डा उद्योगसँग विकास भइसकेको छ ।
दिवस मनाउने विगतका प्रयासहरू
विश्व अण्डा दिवस नेपालमा सन् २०१७ साल (२७ असोज २०७४) देखि औपचारिक रूपमा आयोजना गर्न थालिएको छ ।
तत्पश्चात हरेक वर्ष जस्तो विभिन्न आकर्षक र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी यस दिवसलाई मनाउने गरिएको छ ।
सन् २०२२ (२८ असोज २०७९) देखि नेपाल भेटेरिनरी एशोसिएशन–बागमती प्रदेशले समेत होस्टेमा हैंसे गर्दै यस दिवसलाई विभिन्न ज्ञानबद्र्धक, बालबालिकालक्षित तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
यस वर्ष पनि नेपाल भेटेरिनरी एशोसिएसन र नेपाल लेयर्स कुखुरापालक संघको संयुक्त आयोजना चितवनको भरतपुरमा एकदिने राष्ट्रियस्तरको गोष्ठी आयोजना गरिएको छ ।
उपसंहार
हामी आशा गर्छौं कि यस वर्षको विश्व अण्डा दिवसले सबैलाई, तपाईं जहाँ भए पनि र तपाईंको पृष्ठभूमि जे भए पनि विश्व अण्डा दिवस ९ध्यचमि भ्नन म्बथ० “प्राकृतिक पोषणले भरिपूर्ण : शक्तिमान अण्डा”लाई चिन्न र मनाउन प्रेरित गर्नेछ ।
(डा. सिंह कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कार्यरत छन्)