विदेशको अनुभवले गाउँमा चम्कियो उद्यम

भोजपुर: वर्षौंदेखि विदेशमा श्रम गरे पनि अपेक्षित कमाई र सन्तुष्टि नपाएका यहाँका युवाहरू अहिले आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि, जडीबुटी तथा पशुपालनमार्फत मनग्य आम्दानी गर्न थालेका छन्। विदेशको भोगाइ र अनुभवलाई सँगालेर सुरु गरेका व्यवसायबाट उनीहरूले राम्रो लाभ उठाइरहेका छन्।
टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका प्रेमबहादुर बस्नेत त्यसको उदाहरण हुन्। लामो समय विदेशका विभिन्न देशमा पसिना बगाए पनि सोचेजस्तो आम्दानी नभएपछि बस्नेत गाउँ फर्किएर व्यवसायमा जोडिनुभएको हो। अहिले गाउँमा नै बाख्रापालन तथा जडीबुटीखेतीबाट राम्रै आम्दानी भइरहेको उहाँले बताउनुभयो। परिवारसँग बसेर गाउँमै गरिरहेको उद्यमबाट घरखर्च चलाउन कुनै समस्या नरहेको बस्नेतको भनाइ छ।
“विदेशमा धेरै दुःख गरेँ, तर आम्दानी भनेजस्तो भएन,” बस्नेतले भने, “अहिले आफ्नै गाउँमा बसेर बाख्रापालनसँगै जडीबुटीखेती गरिरहेको छु। गाउँमा थालेको व्यवसायबाट विदेशमा भन्दा राम्रो आम्दानी भइरहेको छ। मेहनत गरे यही राम्रो आम्दानी हुने रहेछ भन्ने अनुभूति भयो।”
विदेश जान चाहनेहरूका लागि गाउँमै उदाहरणीय बन्ने लक्ष्यका साथ कृषि कर्ममा जुटिरहेको उहाँको भनाइ छ। व्यवसायमा निरन्तरता दिन सक्ने हो भने त्यसबाट क्रमिक रूपमा लाभ लिन सकिने अनुभव उहाँले सुनाउनुभयो। “हामी छोटो समयमा धेरै लाभ लिन सोच लिन्छौँ,” उहाँले भने, “तर व्यवसायबाट आम्दानी लिन केही समय धैर्य राख्न सक्नुपर्छ। निरन्तर आफ्नो कर्ममा जुटे सफलता पाइने रहेछ।”
उद्यममा जोडिन चाहनेहरूले सम्बन्धित काममा ज्ञान र सीप अनिवार्य रूपमा लिनुपर्ने उहाँको अनुभव छ। कुनै पनि व्यवसाय गर्न न्यूनतम सीप आवश्यक हुने बताउँदै, राज्यका तहहरूले कृषकलाई उद्यममा जोडिनुपूर्व आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने सुझाव उहाँको छ।
हाल भोजपुरका विभिन्न ग्रामीण भेगमा विदेशबाट फर्किएका धेरै युवा व्यावसायिक कृषि तथा पशुपालनतर्फ आकर्षित भइरहेका छन्। तर उनीहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने प्राविधिक ज्ञान, तालिम तथा पशुचिकित्सकीय सेवाको अभाव झेल्नु परेको गुनासो गरेका छन्।
राज्य तहबाट प्रदान हुने सेवाहरू सरल र पहुँचयोग्य भए गाउँमै बसेर राम्रो आम्दानी गर्न सकिने उनीहरूको भनाइ छ।