पशुपन्छी औषधि बजार, बिचौलियाको दुष्चक्र र सुधारको मार्गचित्र

नेपालको पशु औषधि आपूर्ति प्रणाली संकटमा

नेपालमा पशुपालन व्यवसाय विस्तारको सङ्घारमा उभिएको बेला यसको मेरुदण्ड मानिने औषधि आपूर्ति प्रणाली भने गम्भीर संकटमा फसेको छ। बजारमा पाइने औषधिहरूमध्ये केही स्वदेशमै उत्पादन हुन्छन्, तर अधिकांश भारतलगायत अन्य देशबाट आयात गरिन्छन्। तर यी औषधि किसानको गोठसम्म पुग्दा प्रक्रिया न त सरल रहन्छ न त निष्पक्ष। औषधि गोदामदेखि गोठसम्म आइपुग्दा नाफाका लागि खडा गरिएका तहहरूले यसको मूल्य दोब्बर वा तीन गुणासम्म बढाइदिन्छन्।

यो परिस्थिति केवल बजारको कमजोरी होइन; यो नीतिगत कमजोरी र नियमनको अभावले जन्माएको संरचनागत संकट हो। थोक बिक्रेता, एरिया डिस्ट्रीब्युटर र सब–डिस्ट्रीब्युटरले खासै लगानी नगरी ठूलो नाफा खाने प्रणाली अहिले खडा भएको छ। जिम्मेवारी नलिने तर नाफा असाध्यै खाने यस्ता तहहरूको उपस्थितिले किसान मात्र होइन, समग्र बजारलाई असन्तुलित बनाइरहेको छ।

औषधि बजारमा बजार प्रतिनिधि (एमआर)देखि फार्मेसी सञ्चालकसम्मका व्यवहार अराजकता र अनैतिकताले भरिएका छन्। भारतबाट औषधि भित्र्याउने प्रक्रियामा प्रभावकारी नियमन छैन। केही आयातकर्ताले खुद्रा व्यवसायीलाई हेप्दै आफ्नै ‘ब्रान्ड’ बनाउने र बिचौलियालाई पोस्ने गरेका छन्। यस्तो अभ्यासले बजारको आत्मनिर्भरता र विश्वसनीयतामाथि प्रश्न उठाएको छ।

यससँगै नक्कली उत्पादन पनि व्यापक छन्। नाम चलेका ब्रान्डसँग झन्डै मिल्दोजुल्दो देखिने औषधि उत्पादन गरी किसानसम्म पु¥याइन्छ, जसले उपचारमा प्रतिकूल असर पार्छ। यहीँबाट गुणस्तरको अवमूल्यन र पशु स्वास्थ्यमा संकट देखिन्छ।

खुद्रा व्यवसायीहरू दुई धारको चपेटामा छन्। एकातिर उनीहरू किसानसँग प्रत्यक्ष सम्पर्कमा रहँदै बजार विस्तार गर्छन्; अर्कोतिर बीचका व्यापारी र आयातकर्ताको दबाबका बीच व्यवसाय चलाउन बाध्य छन्। केही कम्पनीका सामान ३०–४५ दिनको चेकमार्फत मात्र खरिद गर्नुपर्ने बाध्यता र बीचमै मूल्य वृद्धि हुँदा खुद्रा व्यापारीलाई घाटा बेहोर्नु परेको छ। यसले उनीहरूलाई बजारबाट विस्थापित गर्न थालेको छ।

यी त भए औषधि बजारका समस्या। यसको समाधानका लागि अब स्पष्ट र साहसी कदम आवश्यक छ। बिचौलियाको अत्यधिक बिगबिगीले बजारलाई अस्वस्थ बनाएको छ, त्यसैले यसको विस्थापन अनिवार्य छ। सिधै आयातकर्ता र खुद्रा व्यापारीबीच सम्बन्ध निर्माण गर्ने व्यवस्था गर्नुपर्छ।

वास्तवमा किसान र बजारलाई जोगाउने जिम्मा खुद्राले नै लिएको छ। उसले नै गुणस्तरीय सेवा र बजार विस्तार प्रदान गरेको छ, त्यसैले उसलाई बोझ होइन, बल दिनुपर्छ।

अनधिकृत औषधि आयात अहिलेको सबैभन्दा ठूलो टाउकोदुखाइ बनेको छ। भारतलगायत देशबाट बिना जाँच वा अनुमति औषधि भित्रिँदा उपभोक्ता ठगिँदै छन्। तर नियन्त्रणमा चासो देखिएको छैन। यस्ता औषधि नियन्त्रणका लागि कडा नीति र कारबाही प्रक्रिया अबको मुख्य अभिभारा हो भन्ने कुरा सरकारले भुल्नु हुँदैन।

आयातकर्ता र स्वदेशी उत्पादकले कम मार्जिनमा औषधि उपलब्ध गराई स्वच्छ प्रतिस्पर्धा सिर्जना गर्नुपर्ने खाँचो छ। त्यस्तै, नीतिगत सुधार र पारदर्शिता अपरिहार्य भइसकेको छ। औषधि वितरण प्रणाली पारदर्शी बनाउन र मूल्य निर्धारणमा स्पष्टता ल्याउन सरकार, नीति–निर्माता र व्यवसायिक संघ सबैले इमानदारीपूर्वक भूमिका निर्वाह गर्नुपर्छ।

याद गरौं—किसान अन्तिम उपभोक्ता मात्र होइन, राष्ट्रको खाद्य सुरक्षाको आधारस्तम्भ पनि हो। यस्तो वर्गमाथि हुने शोषणले समग्र कृषि क्षेत्रलाई कमजोर बनाउँछ। आज निर्णय लिनु भनेको भविष्य जोगाउनु हो। त्यसैले पशु औषधि बजार सुधारका लागि गम्भीर पहल अहिलेको अपरिहार्य आवश्यकता हो। ढिला भयो भने पशुपालनको जग नै हल्लिनेछ।

भेट टाइम्स मासिक पत्रिकाबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *