मकवानपुरमा देखिएको खोरेत रोग नियन्त्रणमा
हेटौँडा :हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका विभिन्न स्थानीय तहमा किसानले पालेका पशुचौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ।
पशु सेवा कार्यालय मकवानपुरले प्रभावित स्थानीय तहमा खोरेत रोगविरुद्ध खोप अभियान सञ्चालन गरेपछि रोग नियन्त्रणमा आएको हो।
“खोरेत रोगबाट पशुचौपाया मर्न थालेपछि खोप अभियान चलायौँ,” पशु सेवा कार्यालय हेटौँडाका प्रमुख डा. बृजकिशोर ठाकुरले भन्नुभयो, “अहिले रोग नियन्त्रणमा आइसकेको छ।”
खोरेत रोग प्रभावित पशुलाई लक्षित गर्दै जिल्लाका १० वटै पालिकामा खोप अभियान सञ्चालन गरिएको प्रमुख ठाकुरले बताए। उनका अनुसार भदौको पहिलो सातादेखि सुरु गरिएको उक्त अभियानका क्रममा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडामा २३ हजार पशुमा खोप लगाइएको छ।
खोरेत रोगबाट जिल्लाका १० पालिकामध्ये नौ पालिकामा फैलिएको रोगका कारण दुई हजार ३३९ पशुचौपाया प्रभावित भएका थिए। तीमध्ये १०१ पशुचौपायाको मृत्यु भएको पशु सेवा कार्यालय हेटौँडाका पशु चिकित्सक डा. विजय पौडेलले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी हेटौँडामा ४१ पशु मरेका छन्।
