गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

चितवन : चितवन कारागारबाट एकसिङ्गे गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ। कारागारमा रहेका सो सम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन्।
भदौ २५ गते बिहान भागेका कैदीबन्दीमध्ये हालसम्म ४०९ जना फर्किएका छन्, जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका हुन्। कारागारमा जम्मा ७४४ जना कैदीबन्दी थिए, तीमध्ये दुई जनाबाहेक सबै भागेका थिए। कारागारका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार सबैलाई फर्कन टेलिफोन गरिएको छ, जसमध्ये ६० जना अझै सम्पर्कमा छैनन्।
गैँडासँग सम्बन्धित कैदीबन्दी भागेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा संयन्त्रलाई चुस्त बनाएको छ। सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भागेकाहरूको सूची तयार पारेर सो क्षेत्रमा निगरानी बढाइएको छ। गैँडा तस्करीमा संलग्न कैदीहरू पटके समेत भएकाले निकुञ्जले यसलाई सुरक्षा चुनौतीका रूपमा लिएको छ।