मेची शाखा उपाध्यक्ष कार्कीमाथि जेनजी बताउने समूहको आक्रमण, संघले गर्यो निन्दा

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, मेची शाखाले उपाध्यक्ष भुवन सिंह कार्कीमाथि भएको सांघातिक हमलाको घोर निन्दा गरेको छ । साथै उसले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ ।
मेची शाखाका अध्यक्ष महेशलाल मेचेले आइतबार एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र दोषीउपर कारबाहीको माग गरेका हुन् ।
जारी विज्ञप्तिमा एक आपराधिक समूहले जेनजीको नाममा पूर्वाग्रहपूर्ण ढंगले आक्रमण गर्दै ज्यान लिने उद्देश्यका साथ आक्रमण भएको उल्लेख छ ।
संघले आपराधिक समूहको आक्रमणबाट घाइते कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आक्रमणकारीमाथि कारबाही गर्न पनि माग गरेको छ ।
स्वतन्त्र रूपमा व्यवसायसमेत गर्दै आइरहेका कार्कीलाई भदौ २४ गते साँझ ७ः३० बजे घरमै बसिरहेका बेला जेनजी समूह बताउने एउटा समूहले हमला गरी घर तोडफोड र आगजनीको प्रयास गरेको थिए । ज्यान जोगाउन कार्की त्यहाँबाट भागेर छिमेकीको घरमा आश्रय लिन पुगेका थिए । तर आक्रमणकारीले त्यही पुगेर उनीमाथि रड, भाला लगायत हतियार प्रयोग गरी आक्रमण गरेका थिए । आक्रमणकारीबाट घाइते हुन पुगेका कार्की अहिले अस्पतालमा उपचाररत छन् ।