कृषिमन्त्री अधिकारीले दिए पदबाट राजीनामा

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । जेनजी समूहले मंगलबार गरेको प्रदर्शनका क्रममा सरकारले गरेको दमनको नैतिक रूपमा क्षमायाचना गर्दै अधिकारीले राजीनामा दिएका हुन् ।

मंगलबारको घटनापछि नैतिकताका आधारमा राजीनामा दिने उनी दोस्रो मन्त्री बनेका छन् । यसअघि गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए ।

‘स–साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु,’ अधिकारीले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।

लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको साटो व्यापक रूपमा दमन, हत्या र बल प्रयोग गर्नुले लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भइरहेको हो कि भन्ने आभास भएको र यसले झस्काएको मन्त्री अधिकारीको भनाइ छ ।

‘हिजो २०८२ भाद्र २३ गते हाम्रो छोराछोरी पुस्ताले काठमाडौं र देशका विभिन्न स्थानमा मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भईरहेको हो कि भनी म झस्किएको छु। देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो ? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन,’ अधिकारीले विज्ञप्तिमा भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *