कृषि मन्त्री अधिकारी र विश्व खाद्य कार्यक्रमका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र नेपालका लागि विश्व खाद्य कार्यक्रम (WFP) का प्रतिनिधि रियाज लोधीबीच सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटमा मन्त्री अधिकारीले नेपालको संविधानले खाद्य अधिकारलाई मौलिक हकको रूपमा राखेको बताउँदै खाद्य सुरक्षा र पोषणका क्षेत्रमा WFP ले गर्दै आएको सहयोगको प्रशंसा गर्नुभयो। उहाँले प्रत्येक नागरिकलाई स्वस्थ र पोषणयुक्त खानाको पहुँच सुनिश्चित गर्न WFP को निरन्तर सहयोगको अपेक्षा गर्नुभयो।
मन्त्री अधिकारीले नेपालको सोह्रौं पञ्चवर्षीय योजना, कृषि विकास रणनीति २०७२-९२ र राष्ट्रिय पोषण रणनीति २०७७ लगायतका नीतिगत दस्तावेजमा खाद्य पदार्थको पौष्टिक तत्व वृद्धि र स्थानीय रैथाने खानेकुराको प्रवर्धनलाई प्राथमिकता दिइएको उल्लेख गर्दै ती कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि WFP को निरन्तर सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो।
WFP का प्रतिनिधि लोधीले नेपालको खाद्य तथा पोषण क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै आएको र मन्त्रालयका लक्ष्यहरू हासिल गर्न भविष्यमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जलवायु परिवर्तनले कृषि, खाद्य र पोषणमा पारेको प्रभावलाई न्यूनीकरण गर्न मन्त्रालयको प्राथमिकताअनुसार सहयोग अगाडि बढाउने बताउनुभयो। लोधीले WFP ले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँगको सहकार्यमा नेपाल सरकारलाई कार्यक्रम कार्यान्वयनमा सहयोग गरिरहेको र भविष्यमा थप सहकार्यका क्षेत्रहरू पहिचान गरेर काम गर्न सकिने धारणा राख्नुभयो।