चितवनका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ को पुष्टि

चितवन । चितवन लगाएतका जिल्लामा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ भेटिएको पुष्टि भएको छ । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले गरेको तीन महिना लामो अध्ययनका क्रममा यो भाइरस देखिएको हो ।

प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका विभिन्न जिल्लाबाट संकलन गरिएका ९२ वटा नमुनामध्ये ३३ प्रतिशत अर्थात् ३१ वटामा यो भाइरस फेला परेको छ । एलाइजा प्रविधिबाट गरिएको परीक्षणमा यो संक्रमण पुष्टि भएको हो ।

के हो ‘चिकेन एनेमिया भाइरस’?

यो भाइरसले कुखुराको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ, जसले गर्दा अन्य रोगहरूको संक्रमणको जोखिम बढ्छ । यसले प्रत्यक्ष रूपमा ठूलो असर नदेखाए पनि कुखुरामा रक्तअल्पता, तौल कम हुने र उत्पादन घट्नेजस्ता समस्या देखिन्छ । यसले गर्दा किसानलाई आर्थिक नोक्सानी हुने डा. श्रेष्ठले बताए ।

नेपालमा यो रोग दुई वर्षअघि काठमाडौँमा पहिलोपटक देखिएको थियो ।

बच्ने उपाय

यो रोगबाट कुखुरालाई बचाउन ‘चिकेन एनेमिया भाइरस’ विरुद्धको खोप लगाउनुपर्ने हुन्छ । यो खोप ब्रोइलरको माउ, लेयर्सको माउ र चल्ला दुवैमा दिन सकिन्छ ।

यसका साथै, फार्ममा कडा जैविक सुरक्षा (Bio-security) अपनाउन पनि जरुरी छ । डा. श्रेष्ठका अनुसार, फार्ममा दाना, पानी, औषधि, भुसजस्ता सामग्री ल्याउँदा र अण्डा बाहिर पठाउँदा पूर्ण जैविक सुरक्षामा ध्यान दिनुपर्छ । फार्ममा आउने व्यक्ति र गाडीलाई पनि राम्रोसँग निःसङ्क्रमण गर्नुपर्ने उनको सुझाव छ ।

गत आर्थिक वर्षमा चितवनको प्रयोगशालामा १६ जिल्लाका करिब ७ हजार कुखुराको परीक्षण गरिएको थियो । तीमध्ये ‘लो प्याथोेनिक एभिएन इन्फुलुन्जा’ (एच–नाइन), रानीखेत, गम्बारो र आइबी (इन्फुलुन्जा ब्रोङ्काइटिस) जस्ता रोगहरू पनि देखिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *