भेटेरिनरी प्र्याक्टिसनर एसोसिएसनका अध्यक्षको राजीनामा, एक दिनमै फिर्ता

काठमाडौं । नेपाल भेटेरिनरी प्र्याक्टिसनर्स एसोसिएसन (भिपान) का अध्यक्ष डा. भालचन्द्र झा (विसी झा) ले आफ्नो पदबाट राजीनामा दिए पनि एक दिनमै फिर्ता लिएका छन्।
गत साउन २२ गते बिहीबार एसोसिएसनका महासचिवलाई सम्बोधन गरी बुझाइएको राजीनामा पत्र सार्वजनिक भएपछि भेटेरिनरी क्षेत्रमा नयाँ तरंग पैदा भएको थियो। यसअघि २०८२ जेठ ३१ गते काठमाडौंमा सम्पन्न भिपानको अधिवेशनले डा. झाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो।
नेतृत्वमा निर्वाचित भएपछि एशोसिएसनलाई चलायमान बनाउन उनले विभिन्न क्षमता विकाससम्बन्धी कार्यक्रम अघि बढाएका थिए। तर, पदभार सम्हालेको दुई महिना नपुग्दै राजीनामा दिनुले क्षेत्रभित्र अनेक चर्चा पैदा भएको छ।
राजीनामा पत्रमा उनले आफू पदमा रहँदा संस्थालाई प्राविधिक र आर्थिक रूपमा बलियो बनाउने सपना देखेको तर सोचेअनुसार हुन नसकेको उल्लेख गरेका छन्। उनले आफ्नो ज्ञान र समय पशु चिकित्साको गुणस्तर वृद्धिमा लगाउन चाहेको तर कार्यकारिणी समितिले असफलताको योजनाकारको रूपमा दोष लगाएको दाबी गरेका छन्। पत्रमा उनले लेखेका छन्, “म कुनै पनि पदमा बिना काम बस्न सक्दिनँ। टिमको नेतृत्व गर्ने क्षमता नभएको महसुस गरेकाले पूर्ण होशमा राजीनामा दिएको हुँ। जहाँ बसेर काम गर्न सकिँदैन, त्यहाँ बस्दिनँ।”
यद्यपि, उनले भविष्यमा साधारण सदस्यको रूपमा संस्थालाई आवश्यक स्थानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् र भिपानको उत्तरोत्तर प्रगतिका लागि शुभकामना पनि दिएका छन्।
भेट टाइम्स सँगको कुराकानीमा झाले भने, “हो, राजीनामा दिएँ र फिर्ता पनि लिएँ। काम गर्ने वातावरण थिएन, तर एक दिनपछिको छलफलमा त्यो वातावरण बन्ने पाएँ, त्यसैले फिर्ता पनि लिएँ।”
तर, राजीनामा पत्रमा उल्लेख भएझैँ कार्यकारिणी समिति र उनीबीच के कुरामा मतभेद भएको थियो भन्ने प्रश्नमा उनले भने, “म अहिले पशुको उपचारमा छु, त्यसैले पछी कुरा गरौला।”
हेर्नूहोस राजीनामा पत्र