अमेरिकामा सम्पन्न विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपालको प्रतिनिधित्व

काठमाडौं ।विश्व भेटेरिनरी एसोसिएसन (WVA) को २०२५ संस्करणको महासभामा नेपाल भेटेरिनरी एसोसिएसनको तर्फबाट प्रतिनिधित्व गर्दै पूर्व अध्यक्ष डा. सितलकाजी श्रेष्ठले सम्बोधन गरेका छन्। संयुक्त राज्य अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा सम्पन्न उक्त महासभामा डा. श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसनको समेत प्रतिनिधित्व गरेका थिए।
महासभामा सम्बोधन गर्दै डा. श्रेष्ठले नेपालमा पशु चिकित्सकहरूले सार्वजनिक स्वास्थ्य, पशु स्वास्थ्य तथा पशु कल्याणमा पुर्याउँदै आएको योगदानको चर्चा गरे। साथै, नेपालमा पशु चिकित्सा क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गर्दै विश्वभरका सम्बन्धित संस्थाहरूसँग सहकार्यका लागि आह्वानसमेत गरे।
उनले नेपाल विश्व भेटेरिनरी एसोसिएसनको कुनै पनि कार्यक्रम आयोजना गर्न सधैं तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे। त्यस्तै, सार्क भेटेरिनरी एसोसिएसन छिट्टै विश्व भेटेरिनरी एसोसिएसनको औपचारिक सदस्य बन्ने प्रक्रियामा रहेको जानकारीसमेत दिए।
डा. श्रेष्ठ हाल सार्क भेटेरिनरी एसोसिएसनका महासचिवसमेत हुन्। जुलाई १८ मा सम्पन्न उक्त महासभामा विश्वका ९० राष्ट्रका प्रतिनिधिहरू सहभागी थिए। नेपालसहित चार राष्ट्रबाट महासभामा विशेष सम्बोधन गरिएको थियो।
महासभाको अवसरमा डा. श्रेष्ठले श्रीलंका, ताइवान, जापान, कोरिया र फिलिपिन्स भेटेरिनरी एसोसिएसनका अध्यक्षहरूसँग शिष्टाचार भेटघाटसमेत गरेका थिए।
विश्व भेटेरिनरी एसोसिएसनको आगामी महासभा सन् २०२५ मा जापानको टोकियोमा आयोजना हुने तय भएको छ। नेपाल सन् १९९८ देखि विश्व भेटेरिनरी एसोसिएसनको सदस्य राष्ट्र हो।