लम्पी स्किन फेरि भयावह

विज्ञ भन्छन्– तत्काल संकटकाल घोषणा गर्नुपर्छ

काठमाडौं । साढे दुई वर्षअघि नेपालमा देखिएको लम्पी स्किनले महामारीको रूप लिने संकेत देखिएलगत्तै नेपाल पशु चिकित्सा परिषद्ले यसविरुद्ध लड्न चाल्नुपर्ने तत्कालीन र दीर्घकालीन उपाय सुझाएको थियो । परिषदले सरकारलाई उपलब्ध गराएको उक्त सुझावमा प्रभावकारी भ्याक्सिनेसन, नाकामा कडाइ लगायत विषय समेटिएका थिए । सरकारले आवश्यक कदम नउठाएको खण्डमा यसले बारम्बार दुःख दिनसक्ने चेतावनी पनि परिषद्ले दिएको थियो । नभन्दै महामारी सुरु भएको साढे दुई वर्ष नहुँदै फेरि यसले देशका विभिन्न जिल्लाका पशुवस्तु प्रभावित हुन थालेका छन् ।

झापाको मेचीनगरका केही गाउँहरूमा देखिएको लम्पी स्किन रोग अहिले देशका ३८ जिल्लामा फैलिइसकेको पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्याय बताउँछन् । प्रदेशगत रूपमा सुदूरपश्चिमबाहेक सबैमा यो रोगको संक्रमण पुष्टि भएको छ । छोटो समयमा विभिन्न जिल्लामा संक्रमण फैलिएकाले अन्यत्र पनि पुग्ने चिन्ता पशु रोग चिकित्सकहरूले गरेका छन् ।

डा. उपाध्यायका अनुसार कोशीमा सोलुखुम्बुबाहेकका सबै जिल्लामा लम्पी स्किन फैलिएको छ भने मधेसका ८ वटै जिल्ला यसबाट प्रभावित बनेका छन् । बागमती र गण्डकीका ४÷४, लुम्बिनीका ७ र कर्णालीको दुई जिल्ला रुकुम र दैलेखमा पनि लम्पी स्किन पुगेको छ । यसमध्ये कर्णालीमा नियन्त्रणउन्मुख देखिएको उनको भनाइ छ । ‘सात प्रदेशमध्ये सुदूरपश्चिममा लम्पी स्किन देखिएको छैन । कर्णालीका दुई जिल्लामा देखिए पनि यो नियन्त्रणउन्मुख छ,’ विभागका वरिष्ठ पशु चिकित्सक उपाध्यायले भेट टाइम्स मासिकसँग भने ।

उनका अनुसार, यो रोगबाट हालसम्म १ हजार २१९ पशुको मृत्यु भइसकेको छ भने ३३ हजार ६४५ पशु लम्पी स्किनबाट प्रभावित छन् । प्रभावितमध्ये १८ हजार ८०७ उपचारपश्चात संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमित पशुको संख्या १३ हजार चानचुन छ । एक पशुवस्तुको मूल्य ४९ हजार राख्ने हो भने पनि ५९ करोडभन्दा बढी क्षति किसानले व्यहोरिसकेका छन् ।
देश संघीय संरचनामा गएपछि पशुपन्छीसँग सम्बन्धित सरकारी कार्यालय प्रदेश र संघमा गएका छन् । त्यसैले सम्पूर्ण तथ्यांक संकलनमै अहिले समस्या छ । बिरामी भएका र मरेका पशुवस्तु केका कारणले मरे भनेर पहिचान गर्ने संयन्त्र पनि कमजोर छ । त्यसैले पशु सेवा विभागले अहिले उपलब्ध गराएको तथ्यांकभन्दा फरक अवस्था हुनसक्ने जानकारहरू बताउँछन् ।

लम्पी रोग भैंसीमा विषाणुबाट लाग्ने संक्रामक रोग हो । यो रोग गर्मीयाममा तीव्र रूपमा फैलिन्छ । लामखुट्टे, झिँगा, किर्ना, भुसुनालगायतको टोकाइबाट यो रोग सर्ने गर्छ । संक्रमित पशु एक स्थानबाट अर्को स्थानबाट अन्यत्र लैजाँदा संक्रमित पशुसँग प्रत्यक्ष सम्पर्कमा आएका अन्य पशुमा समेत तत्काल सर्छ । यही कारण पनि संक्रमण बढेको जानकार बताउँछन् ।

नेपाल पशु चिकित्सा परिषद्का अध्यक्ष डा. बज्र किशोर प्रसाद शाहा लम्पी स्किनले फेरि महामारीको रूप लिएको बताउँछन् । ‘एकै समय एकभन्दा बढी जिल्लामा लम्पी स्किन रोग देखिएकाले यो महामारी नै हो,’ उनले भने । दोस्रो पटकको लम्पी स्किन महामारीले किसानको पशुवस्तु नोक्सान गराउन सक्ने जोखिम भएकाले आवश्यक तत्कालीन र दीर्घकालीन कदम उठाइ हाल्न उनले सरकारलाई सुझाव दिए । ‘कुनै पनि रोगले महामारीको रूप लिइसकेपछि ठूलो क्षति गराउने खतरा हुन्छ । त्यसैले यसलाई मध्यनजर गरेर सरकारले तत्कालीन र दीर्घकालीन कदम उठाउन ढिलो गर्न हुँदैन,’ उनले भने ।

तर पशु सेवा विभागका अधिकारी भने लम्पी स्किनले महामारीको रूप लिइनसकेको जिकिर गर्छन् । कुनै पनि रोग महामारी हुन पर्याप्त औषधि–उपचार नभएको, ठूलो संख्यामा संक्रमित मरेको लगायत हुनुपर्नेमा त्यस्तो कुनै पनि अवस्था अहिले सिर्जना नभएको उनीहरूको तर्क छ । ‘महामारी हुनका लागि उपचार हुन नसकेको, भ्याक्सिन नभएको, पशु मरेको मर्यै गरेको जस्ता असहज स्थिति आउनु पर्छ । तर अहिले त्यस्तो कुनै असहज अवस्था सिर्जना भएको छैन,’ विभागका वरिष्ठ पशु चिकित्सक डा. उपाध्यायले भने । सरकारसँग पर्याप्त मात्रामा भ्याक्सिन भएकाले त्यसलाई लगाउँदा र सरसफाइमा ध्यान दिँदा मात्र पनि यसलाई रोकथाम गर्न सकिने उनको भनाइ छ ।
विगतबाट पाठ नसिक्दाको परिणति साढे दुई वर्षअघि पहिलो पटक नेपालका ७६ जिल्लामा लम्पी स्किनको महामारी फैलँदा किसानले एक अर्ब ७६ अर्बको क्षति व्यहोरेका थिए । लम्पीका कारण अकल्पनीय क्षति व्यहोर्दा प्रभावित हुने किसानको संख्या लाखौं छ । जसमध्ये धेरैजसो अझै पूर्ववत् अवस्थामा फर्कंन सकेका छैनन् ।

लम्पी स्किनबाट नेपालले ठूलो क्षति व्यहोर्नुको कारण खुला सीमा र भ्याक्सिनेसनको अभाव भएको विज्ञहरू बताउँछन् । सरसफाइ, पशुवस्तुको मुझमेन्टलगायतले भने संक्रमणको रफ्तार वृद्धिमा भूमिका खेलेको थियो ।
लम्पी स्किन रोगको खोप प्रभावकारी भएको र एक पटक लगाउँदा ३–५ वर्षसम्मलाई काम गर्ने भएकाले यसलाई प्रभावकारी रूपमा लगाउन तथा खुला सीमाबाट पशुवस्तु आवतजावत गर्दा विशेष ख्याल गर्न विज्ञले सुझाउँदै आएका थिए । तर यसतर्फ सरकारले गम्भीरता नदेखाउँदा लम्पी स्किनले फेरि क्षति गराउन थालेको छ ।

नेपाल पशु चिकित्सा परिषद्का अध्यक्ष डा. शाहा विगतबाट पाठ नसिक्दा अहिलेको अवस्था आएको बताउँछन् । ‘यो रोगविरुद्धको खोप निकै प्रभावकारी देखिएको छ । खोप लगाएकालाई संक्रमण पुष्टि भएको छैन । त्यसैले हामीले सुरुदेखि नै खोपलाई प्रभावकारी बनाउन सुझाव दिँदै आइरहेका छौं,’ अध्यक्ष शाहाले भने, ‘तर यसतर्फ गम्भीरता देखाइएन ।’
पशु सेवा विभागका पूर्वमहानिर्देशक वंशी शर्मा पशुवस्तुलाई लम्पी स्किनविरुद्धको खोप लगाउनुपर्नेमा त्यसतर्फ ध्यान नै नपुगेको बताउँछन् । लम्पी स्किनले महामारीको रूप लिइसकेकाले तत्काल बजेट प्रबन्ध गरेर खोपको प्रबन्ध गर्नेतरि लाग्नुको विकल्प नभएको उनको भनाइ छ ।

‘साढे दुई वर्षअघि लम्पी स्किन आउँदा हामीलाई यसबारे केही थाहा थिएन,’ उनले भने, ‘यसको पहिलो महामारीले हामीलाई खोप लगायो भने पशुवस्तु जोगाउन सकिन्छ भन्ने सिकाएको छ । त्यसैले अहिलेको सबैभन्दा उत्तम उपाय भनेको आवश्यक खोप जुटाएर पशुवस्तुलाई लगाउनु नै हो । यसको अर्को उपाय छैन ।’ सरकारको तयारीप्रति संकेत गर्दै उनले वनजंगलमा डढेलो लागेपछि दमकल किन्न गएर हुन्छ भन्ने प्रश्नसमेत गरे । निथलिङ स्ट्रेन खोप लम्पी स्किनमा सबैभन्दा प्रभावकारी देखिएकाले यसलाई प्रयोग गर्न उपयुक्त हुने डा. शर्माको भनाइ छ ।

पशु सेवा विभागका वरिष्ठ पशु चकित्सक उपाध्याय भने लम्पी स्किनविरुद्धको खोप पर्याप्त मात्रामा रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् । ‘पशु सेवा विभागले गत वर्ष लम्पी स्किन रोगविरुद्धको १४ लाख ६० हजार डोज खोप खरिद गरेको थियो । त्यसरी खरिद गरिएका भ्याक्सिन प्रदेशमा वितरण गरिएको छ । केन्द्रले मात्र नभएर विभिन्न प्रदेशले पनि आफैं खोप खरिद गरेका छन् । हामीसँग अहिले नै केही मात्रामा खोप स्टक छ,’ खोप स्टक रहे नरहेकोबारे जानकारी दिँदै उनले भने, ‘एक हप्तामा एक लाख भ्याक्सिन लगाए पनि भदौभरिलाई चार लाखले पुग्छ ।’

संकटकाल लगाउन विज्ञको सुझाव

दोस्रो पटक देशका ३८ जिल्लामा फैलिएको लम्पी स्किनले हालसम्म आधा अर्बभन्दा बढी क्षति गराइसकेको छ । लम्पी स्किनले महामारीको आकार लिएकाले तत्काल संकटकाल लगाउन विज्ञहरूले सरकारलाई सुझाएका छन् ।
परिषद्का अध्यक्ष डा. शाहा लम्पी स्किन एकै पटक एक जिल्लाभन्दा बढीमा देखिएकाले सरकारले तत्काल संकटकाल घोषणा गनुपर्ने बताउँछन् । ‘लम्पी स्किन अहिले एकै पटक एक जिल्लाभन्दा बढीमा देखिएको छ । यो महामारी हो । त्यसैले सरकारले तत्काल संकटकाल घोषणा गर्नुपर्छ ।’ पशु सेवा विभगका पूर्वमहानिर्देशक डा. शर्मा पनि लम्पी स्किनलाई खेलाँची नगरी आवश्यक खोपलगायत सामग्री खरिदतिर ध्यान केन्द्रित गर्नुपर्ने बताउँछन् ।
सरकारी अधिकारीहरू भने लम्पी स्किन नियन्त्रणमै रहेको जिकिर गर्दै यसबाट तर्कंदै आइरहेका छन् । पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. उपाध्याय अहिले देखिएको लम्पी स्किन संक्रमणलाई महामारी नै भन्न नमिल्ने तर्क गर्छन् । कीराको फैलावटका कारण संक्रमण बढेकाले असोज लागेपछि कीरा पनि कम हुने र संक्रमण पनि घट्ने डा. उपाध्यायको प्रक्षेपण छ । ‘महामारी हुनका लागि उपचार हुन नसकेको, भ्याक्सिन नभएको, पशु मरेको मर्यै गरेको जस्ता असहज स्थिति आउनु पर्छ । तर अहिले लम्पी स्किनका कारण त्यस्तो स्थिति कहीँ कतै पनि सामना गर्नु परेको छैन ।’ संकटकाल घोषणा गर्न कानूनी र व्यावहारिक कठिनाइ रहेकाले तत्काल त्यो सम्भव नरहेको पनि उनले स्पष्ट पारे ।

क्षतिको त्रासमा किसान

लम्पी स्किनको खोप निकै प्रभावकारी देखिएकाले लगाइएकोमा सर्ने सम्भावना छैन । खोप नलगाइएका पशुमध्ये पनि २० प्रतिशतमा मात्र यो रोग सर्ने विभिन्न अध्ययनहरूले देखाएको छ । संक्रमितमध्ये पनि मृत्युदर ३.८ प्रतिशत छ ।
पशु सेवा विभागका अनुसार, एउटा पशुको मृत्यु हुँदा न्यूनतम ४९ हजार १ सय ३५ रुपैयाँ नोक्सान हुन्छ । त्यसैले साढे दुई वर्षअघि मात्र ठूलो क्षति व्यहोरेका किसान फेरि त्रस्त बनेका छन् । परिषद्का अध्यक्ष डा. शाहा लम्पी स्किन महामारी फेरि सुरु भए पनि पहिलेको जस्तो क्षति भने नहुने बताउँछन् । १५–१६ हजार पशुवस्तुलाई पहिल्यै खोप लगाइसकिएको र केही खोप उपलब्ध भएकाले पहिलेको तुलनामा कम रिस्क रहेको उनको भनाइ छ । ‘विगतमा १०–१५ लाख पशुमा भ्याक्सिन लगाइ सकिएकाले योपालि तिनमा देखिँदैन । त्यसैले अघिल्लो पटकको तुलनामा यस पटक क्षति कम हुने देखिन्छ । ३० प्रतिशतलाई खोप लगाइएकाले ७० प्रतिशत मात्र रिस्कमा छन्,’ डा. शाहाले भने ।

के गर्दैछ सरकार ?

लम्पी स्किन रोगका लागि ७ लाख ६७ हजार ९ सय ४० खोप वितरण गरेको दाबी सरकारले गरेको छ । गत जेठमा लम्पी रोप पुष्टि भएपछि कोशीमा ३ लाख ३७ हजार १ र मधेशमा १ लाख ६७ हजार ६ सय ७४ खोप वितरण गरिएको छ । बागमतीमा ९४ हजार ८ सय ७७ र गण्डकीमा १ लाख ३० हजार ३ सय ८५ खोप वितरण गरिएको छ । लुम्बिनीमा ३७ हजार २ सय ३ र कर्णालीमा ५ सय खोप वितरण गरिएको छ ।
नेपाल चिकित्सा परिषद्का अध्यक्ष डा. शाहा सरकारको अहिलेको तयारी अपर्याप्त रहेकाले त्यसलाई बढाउनुपर्ने बताउँछन् । अहिले पर्याप्त मात्रामा लम्पी स्किनविरुद्धको खोप मौज्दात भए पनि प्रदेश र स्थानीय तहले त्यसलाई उपयोग गर्न नसकेको उनको आरोप छ । ‘नेपालमा प्रशस्त मात्रामा लम्पी स्किनको भ्याक्सिन उपलब्ध छ । र पनि यो भ्याक्सिन लगाउने कुरा प्रदेश सरकार र स्थानीय सरकारको प्राथमिकतामा परेको छैन । खोप लगाउने कुरामा दुई तहको सरकार गम्भीर बन्नु पर्छ,’ उनले भने ।

त्यसो त, संघ सरकारले बजेट विनियोजन गर्दा लम्पी स्किन नियन्त्रणका लागि रकम छुट्याएको पनि छ । तर उक्त रकम अहिलेसम्म प्रदेश र स्थानीय तहलाई उपलब्ध गराइएको छैन । डा. शाहा प्रदेश र स्थानीय तह जस्तै संघ सरकार पनि यसप्रति गम्भीर नबनेको आरोप लगाउँछन् ।

‘एउटा कुरा के हो भने लम्पी स्किन रोग नियन्त्रणका लागि संघमा रकम विनियोजन भएको छ । यसरी विनियोजित रकम संघले प्रदेश र स्थानीय तहलाई दिनुपर्ने हो । तर त्यो रकम दिइएकै छैन ? बजेट भाषणमा लम्पी स्किन नियन्त्रणका लागि रकम विनियोजन भइसकेपछि अर्थ मन्त्रालयले प्रदेश र स्थानीय तहलाई त्यो रकम नदिनु दुर्भाग्यपूर्ण छ,’ शाहाले गुनासो गरे ।

सचेतना पनि उत्तिकै जरुरी

लम्पी स्किन संक्रमित पशुको संसर्ग वा संगतबाट अर्को सर्ने रोग हो । त्यसैले संक्रमित वस्तुबाट स्वस्थ पशुलाई टाढा राख्नु पर्छ ।
ज्वरो आउनु, घाँसपानी खान अरुचि देखाउनु, शरीरमा २ देखि ५ सेन्टिमिटरको गोलो–गोलो गाँठो आउनु, अगाडिको खुट्टाको ग्रन्थी सुन्निनु÷फुल्नु, नाकबाट सिँगान बग्नु, एक्टिभ नहुनु यो रोगका लक्षण हुन् ।
संक्रमित पशुबाट अन्यलाई टाढा राखेको खण्डमा संक्रमण न्यूनीकरण गर्न सकिन्छ । जानकारहरू किसान वर्गलाई यस रोगबाट बच्ने उपायबारे पर्याप्त जानकारी नभएकाले सचेतनाको आवश्यकता भएको बताउँछन् । तर यसतर्फ प्रभावकारी कार्यक्रम सञ्चालन भएको पाइँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *