धादिङको महादेवबेसीमा अफ्रिकन स्वाइन फिभर पुष्टि, पशु सेवा कार्यालयको उच्च सतर्कता आग्रह

धादिङ। धादिङ जिल्लाको थाक्रे गाउँपालिका–०६, महादेवबेसीमा बंगुरमा अफ्रिकन स्वाइन फिभर (ASF) रोग देखिएपछि  पशु सेवा कार्यालयले वंगुरपालक कृषकहरूलाई अत्यधिक सावधानी अपनाउन अनुरोध गरेको छ। अत्यन्त संक्रामक र घातक मानिने यस रोगको संक्रमण फैलिन नदिनका लागि पशु सेवा कार्यालयले तत्कालका लागि विशेष सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

पशु सेवा कार्यालयले संक्रमित स्थानबाट कुनै पनि हालतमा बंगुरको ओसार–पसार तथा बिक्री वितरण नगर्न आग्रह गरेको छ। फार्मभित्र र बाहिर नियमितरूपमा निसंक्रमण गर्न र जैविक सुरक्षाका सम्पूर्ण उपायहरू अवलम्बन गर्नुपर्ने बताइएको छ। अन्य स्वस्थ बंगुरहरूमा अनिवार्य रूपमा क्लासिकल स्वाइन फिभर विरुद्धको खोप लगाउनुका साथै बीमा गर्न पनि सल्लाह दिइएको छ।

नयाँ बंगुर वा पाठापाठी खरिद गर्दा सम्बन्धित फार्ममा संक्रामक रोगको इतिहास नरहेको सुनिश्चित गर्नुपर्ने, र रोगबाट मृत्यु भएका बंगुरहरूलाई नुन तथा चुन हालेर गहिरो खाल्डो खनी सुरक्षित रूपमा पुर्नुपर्ने पशु सेवा कार्यालयको भनाइ छ।

यदि बंगुरमा अफ्रिकन स्वाइन फिभरका लक्षण—जस्तै उच्च ज्वरो, खान नखाने, सुस्त देखिने वा अचानक मृत्यु—देखिएमा तुरुन्तै नजिकको पशु सेवा शाखा वा जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

मानिसमा सर्न नसक्ने भए पनि यो रोग अत्यन्त खतरनाक र आर्थिकरूपमा विनाशकारी हुने भएकाले सबै वंगुरपालक कृषकहरू, व्यवसायीहरू र स्थानीय तहहरूलाई पूर्ण सहकार्यका साथ सतर्क रहन पशु सेवा कार्यालयले आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *