लम्पी स्किन नियन्त्रणका लागि तत्काल टोली परिचालन, प्राविधिक समस्यामा मन्त्रालय गम्भीर छ : कृषि मन्त्री अधिकारी

पशु स्वास्थ्यकर्मीको योगदान अमूल्य : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पशु स्वास्थ्य प्राविधिकहरू मुलुकको पशुपालन तथा पशु स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड भएको बताएका छन्। राजधानीमा आज पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदले आयोजना गरेको पूर्व पदाधिकारी तथा सदस्यहरूको सम्मान तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेका सबै निकायहरू आफैंमा महत्वपूर्ण रहेको स्पष्ट पारे।

पूर्वी नेपालको मेची क्षेत्रका करिब २०० पशु लम्पी स्किन रोगका कारण बिरामी परेको प्रसंग उल्लेख गर्दै मन्त्री अधिकारीले तत्कालै पशु सेवा विभागका महानिर्देशकलाई टोली खटाउन निर्देशन दिएको र रुकुम पश्चिममा पनि लम्पी स्किन देखिएपछि सुर्खेतबाट प्राविधिक टोली पठाएको जानकारी दिए। पशु स्वास्थ्यकर्मीहरू २४ सै घण्टा सेवा दिन तयार रहने जनशक्ति भएको उल्लेख गर्दै उनले प्राविधिकहरूको सेवा राज्यका लागि अत्यन्त आवश्यक रहेको बताए। साथै, कुनै समस्या भए परिषदमार्फत मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्दै मन्त्रालय त्यसको समाधानमा गम्भीरताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे।

उनले आफू नभएको कुरा नगर्ने स्पष्ट गर्दै मन्त्रालय अहिले आर्थिक सङ्कुचनमा भए पनि मन्त्रालयअन्तर्गतका निकायहरू छिट्टै ऋणमुक्त हुने दिशामा अघि बढिरहेको जनाए।

कार्यक्रममा  परिषद्का अध्यक्ष डम्बर बहादुर बमले हालै आफूले पदभार सम्हालेको जानकारी दिँदै, पशुपन्छी क्षेत्रको विकास, नीतिगत सुधार र प्राविधिक समन्वयलाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताए। उनले लामो समयदेखि पेन्डिङ रहेका दर्ता मुद्दाहरू सम्बोधन गर्न उपसमिति गठन गरिएको जानकारी पनि दिए। परिषद्को बैठकमार्फत अझ सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

त्यसैगरी, परिषद्का उपाध्यक्ष तथा नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन (नेभ्ला) का अध्यक्ष रामप्रसाद मेहताले सरकारले दुग्धजन्य पदार्थको आयातमा कर छुट दिने निर्णय नेपाली किसानविरुद्ध भएको भन्दै आपत्ति जनाए। उनले किसानको हितमा पूँजी परिचालन हुने गरी सरकार काम गर्नुपर्नेमा जोड दिए। साथै, लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरका कारण किसानले भोग्नुपरेको क्षति र त्यसपछिको पुनःस्थापनामा सरकारले गम्भीरता नदेखाएको भन्दै दुःख व्यक्त गरे।

कार्यक्रममा बोल्दै परिषद्का पूर्व सदस्य लोकराज भुसालले ३० वर्षको लामो संघर्षपछि परिषद्को तदर्थ समतिको सदस्य बन्ने अवसर पाएकोमा धन्यवाद ज्ञापन गर्दै परिषद्लाई अझ समावेशी बनाउन बाँकी रहेका नियुक्तिहरूमा ध्यान दिन अनुरोध गरे।

त्यस्तै, नेपाल पशु चिकित्सक परिषद्का पूर्व उपाध्यक्ष डा. स्वयं प्रकाश श्रेष्ठले पशु चिकित्सा परिषद् र पशु स्वास्थ्य परिषद् बीच कुनै प्रकारको मतभेद नराख्न आग्रह गर्दै, जेनेरल एनेस्थेसिया र पोस्टमार्टमजस्ता संवेदनशील कार्य केवल डाक्टरहरूले गर्नु पर्ने बताए। उनले भ्रष्टाचारप्रतिको व्यङ्ग्य गर्दै “नेपालमा कुनै पनि काम गर्नका लागि देउता समेतलाई कालो बोका चढाइन्छ” भन्ने संस्कारको आलोचना गरे। साथै, परिषद्भित्र कुनै पार्टीवाद नहोस् भन्ने आग्रह गर्दै साझा भावनाले अघि बढ्न सबैलाई अनुरोध गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *