लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था बुझ्न टोली परिचालन

काठमाडौं।मुलुकका विभिन्न स्थानमा लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर रोग देखिएको समाचारप्रति ध्यान दिँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रोगको यथार्थ अवस्था बुझ्न प्राविधिक टोली परिचालन गरेको छ। रोगको वस्तुगत स्थिति अध्ययन गरी तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान गर्न मातहतका निकायहरू सक्रिय गरिएको मन्त्रालयले जनाएको छ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा आज बसेको सम्बन्धित अधिकारीहरूको बैठकले, पशु सेवा विभागअन्तर्गत वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा टोली गठन गर्ने निर्णय गरेको हो। टोलीमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, प्रदेश मन्त्रालयअन्तर्गतका अधिकारीहरू तथा स्थानीय तहका प्रतिनिधिहरू समावेश हुने छन्।

मन्त्रालयका अनुसार, रोगको अवस्था सम्बन्धी दैनिक तथा आवधिक रिपोर्टिङ्गको जिम्मेवारी पशु स्वास्थ्य महाशाखाका वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्र प्रसाद बोहोरा फोकल पर्सनका रूपमा रहने गरी तोकिएको छ।

बैठकले वर्षायाम सुरु भएसँगै लामखुट्टे लगायतका कीराहरूबाट सर्ने पशु रोगहरूको सम्भावित जोखिमलाई मध्यनजर गर्दै रोग नियन्त्रण तथा खोप कार्यक्रमका लागि आवश्यक खोप, औषधि, उपकरण तथा श्रमिक खर्चको लागत आकलन गर्न पनि पशु सेवा विभागलाई निर्देशन दिएको छ। रोग नियन्त्रण कार्य संघ, प्रदेश र स्थानीय तहको समन्वयमा सञ्चालन गरिने उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *