कृषिमन्त्री अधिकारी र एफएओका विशेष प्रतिनिधि बीच भेटवार्ता, थप सहकार्यमा जोड

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र नेपाल भ्रमणमा आउनुभएका संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (FAO) का विशेष प्रतिनिधि ड्यानियल गुस्टाफसनबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री अधिकारीले नेपालको प्रमुख विकास साझेदारका रूपमा FAO ले काम गरेको उल्लेख गर्दै सन् २०१५ पछि नेपालको विकास एजेन्डामा पोषण र खाद्य सुरक्षालाई मूलप्रवाहीकरणमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
नेपालको कृषि क्षेत्रको विकासका लागि FAO द्वारा सञ्चालित परियोजनाहरू मार्फत खाद्य र पोषण सुरक्षा, दिगो प्राकृतिक स्रोतको व्यवस्थापन, जलवायु उत्थानशीलता निर्माण, आपतकालीन अवस्थाको तयारी एवं ग्रामीण महिलाको आर्थिक उत्थान र सशक्तिकरणमा योगदान पु¥याउने अपेक्षा व्यक्त गर्नुभयो।
मन्त्री अधिकारीले FAO को प्राविधिक विज्ञता र अनुभवलाई नयाँ कार्यक्रममार्फत कृषकसम्म सुरक्षित, वातावरणमैत्री र विज्ञानमा आधारित ज्ञान पुर्याउने दिशामा सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताउनुभयो। उहाँले नेपालबाट उत्पादन हुने कृषि वस्तुहरू विभिन्न देशमा निर्यात गर्न क्वारेन्टिन क्षेत्र, विषादी व्यवस्थापन लगायतका क्षेत्रमा तथा कृषि वस्तुको भौगोलिक संकेतका पक्षमा FAO को सहयोगको निरन्तरताको अपेक्षा व्यक्त गर्नुभयो।
भेटवार्तामा FAO का विशेष प्रतिनिधि गुस्टाफसनले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रका विभिन्न पक्षमा असर परेको र नेपालजस्ता देशहरूलाई समस्या परेको उल्लेख गर्दै जलवायु अनुकूलन कार्यक्रमहरू मार्फत यस्ता चुनौतीहरूको सामना गर्न आवश्यक रहेको बताउनुभयो।
नेपालले कृषि क्षेत्रमा देखाएको प्रगतिले सम्भावना देखाएको भन्दै आगामी दिनमा कृषिका नविन आयामहरू अवलम्बन गर्दै जानुपर्नेमा जोड दिनुभयो।
भेटवार्तामा FAO का नेपाल तथा भुटान प्रतिनिधि केन सिमिजु, मन्त्रालयका सहसचिव हरिबहादुर के.सी. लगायतको सहभागिता रहेको थियो।