पशु चिकित्सकहरूको योगदान अतुलनीय छ,एक स्वास्थ्य नीति कार्यान्वयनको चरणमा छ

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पशु चिकित्सकहरूको प्रशंसा गरेका छन् । दूरदराजमा किसानका गोठसम्म पुगेर सेवा गरेको भन्दै मन्त्री अधिकारीले पशु चिकित्सकको भूमिका अतुलनीय भएको बताए ।
‘देशका कुनाकाप्चामा पुगेर पशुपन्छीको उपचार गर्ने चिकित्सकहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । पशुचिकित्सकहरूको योगदान अतुलनीय छ,’ मन्त्री अधिकारीले भने ।
दूध, मासु, अण्डा तथा ऊन उत्पादनमा बर्सेनि प्रगति भइरहेको बताउँदै मन्त्री अधिकारीले कृषि क्षेत्रको विकासका लागि आफू नेतृत्वको मन्त्रालयले विभिन्न योजना अघि सारेको भेट टाइम्सलाई सविस्तार सुनाए ।
अधिकारीसँग पशुपालनको वर्तमान अवस्था, एक स्वास्थ्य नीति, पशुपन्छी क्षेत्रमा पशुचिकित्सकको भूमिका, योगदानलगायत विषयमा भेट टाइम्स मासिकले गरेको सवाल :
नेपालमा पशुपालनको वर्तमान अवस्था कस्तो छ ? कृषि मन्त्रालयका प्रमुख योजनाहरू के–के छन ?
नेपालको पशुपालन क्षेत्र देशको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड हो । समग्र कृषि क्षेत्रभित्र पशुपालनतर्फ हामी दूध, कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर भइसकेका छौं । पशुपालन व्यवसायले खाद्य सुरक्षा, जीविकोपार्जन, रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको छ । पछिल्ला वर्षहरूमा छुर्पी, घिउ, ऊन, भैंसीको मासुलगायतका पशु उत्पादनहरू निर्यात हुन थालेको छ । मन्त्रालयले पशुपालनलाई व्यावसायिकता, वैज्ञानिक प्रविधि र स्थानीय स्रोतमा आधारित बनाएर समृद्ध बनाउने दिशामा थुप्रै कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
कृषि मन्त्रालयले पशुपालन क्षेत्रलाई व्यावसायिक, वैज्ञानिक प्रविधिमा आधारित र स्थानीय स्रोतको प्रयोग गरी समृद्ध बनाउन विभिन्न महत्वपूर्ण योजनाहरू सञ्चालन गरिरहेको छ । यी योजनाहरूमा उन्नत पशु जात सुधार कार्यक्रम समावेश छ, जसले पशुहरूको नश्ल सुधार गरी उत्पादनशीलता बढाउने लक्ष्य राखेको छ । पशुपालक किसानहरूलाई सहयोग पुर्याउन पशु बीमा र राहत कार्यक्रम पनि लागू गरिएको छ । दुग्ध उद्योगको विकास र यसका उत्पादनहरूको बजारीकरणलाई प्रवद्र्धन गर्ने कार्यक्रमहरू पनि सञ्चालनमा छन् ।
पशुपन्छीमा लाग्ने महामारी तथा आकस्मिक रोगहरूको नियन्त्रणका लागि विशेष कार्यक्रमहरू छन् । साथै विभिन्न खोप उत्पादन कार्यक्रम पनि मन्त्रालयले अगाडि बढाएको छ । विशेष गरी, बाँदर नियन्त्रण पाइलटिङ कार्यक्रम र बाच्छी मात्र जन्मने बीर्य उत्पादन कार्यक्रम जस्ता नवप्रवर्तनात्मक योजनाहरू पनि कार्यान्वयनमा छन् । मासु निर्यातलाई बढावा दिन पाडा पालन कार्यक्रमलाई जोड दिइएको छ । खोरेत रोगको विशेष नियन्त्रणका लागि जोनिङ एण्ड कम्पार्टमेन्टलाइजेसन कार्यक्रम सञ्चालन गरिएको छ । अन्ततः, पशु औषधि तथा खोपको सुलभ पहुँच सुनिश्चित गर्ने कार्यक्रमले पशु स्वास्थ्य सेवालाई सहज बनाउन सहयोग पुर्याएको छ ।
‘एक स्वास्थ्य’ (one health) को अवधारणा अहिले विश्वव्यापी मान्यता पाइसकेको छ । नेपालमा यो अवधारणाअनुरूप कामहरू कति भएका छन ?
‘एक स्वास्थ्य’ भनेको मानव, पशु र वातावरणको स्वास्थ्य एकअर्कासँग जोडिएको छ भन्ने मलाई लाग्छ । नेपालजस्तो देशमा जहाँ मानिसको जीवनयापन पशुपालनसँग निकट सम्बन्धमा छ, त्यहाँ यो अवधारणा झनै सान्दर्भिक हुन्छ । यो अवधारणा कार्यान्वयन गर्नका लागि एक स्वास्थ्य रणनीति, २०७६ मन्त्रिपरिषद््बाट स्वीकृत गराइ कार्यान्वयनको चरणमा छ ।
नयाँ रणनीति कार्यान्वयनमा आइसकेपछि सर्वप्रथम हामीले सबै सरोकारवालाहरूलाई सम्मिलित गरी एक स्वास्थ्य अवधारणा, एक स्वास्थ्य रणनीति, २०७६ मा भएका प्रमुख पाँच वटा रणनीतिलाई प्रचारप्रसारबाट एक स्वास्थ्य अवधारणाको पैरवी गर्यौं । एक स्वास्थ्य अवधारणा अनुसार नै प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना २००/१ – २०४/५ तयार पारी कार्यान्वयनमा ल्याएका छौं । त्यसैगरी, सबै सरोकारवाला विज्ञहरूबाट नेपालका लागि प्रमुख दश जुनोटिक रोगहरूलाई प्राथमिकीकरण गरेका छौं । यस्ता थुप्रै कार्यक्रमहरू कार्यान्वयनमा रहेका छन् र प्रदेशस्तरमा समेत प्रादेशिक एक स्वास्थ्य रणनीति तर्जुमाका चरणमा रहेका छन् ।
देशभरका पशु चिकित्सकहरू अहिले पनि दुर्गम क्षेत्रमा सीमित स्रोत र कठोर परिस्थितिमा सेवा दिइरहेका छन् । यस पटक अधिवेशनमा उनीहरू छलफल, बहस र नेतृत्व चयनको प्रक्रियामा सहभागी हुँदैछन् । मन्त्रीज्यूको सन्देश के छ ?
देशका कुनाकाप्चामा पुगेर पशुपन्छीको उपचार गर्ने चिकित्सकहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । पशु चिकित्सकहरूको योगदान अतुलनीय छ । महाधिवेशन यस्तो अवसर हो, जहाँ तपाईंहरूले पेशागत समस्याहरूलाई संस्थागत रूपमा उठाउन सक्नुहुन्छ । महाधिवेशनबाट पशु चिकित्सकहरूले आफ्नो अमूल्य मतबाट कुशल नेतृत्व चयन गर्नुहुनेछ भन्ने विश्वास छ । नयाँ नेतृत्वले चिकित्सकको हक–हित र सेवा सुधारका पक्षमा ठोस कदम चाल्दै पशुपालनमार्फत किसानको आयस्तर र पशु उत्पादन वृद्धिमा उल्लेख्य योगदानका आधारहरू तय गर्न भूमिका खेल्ने विश्वास लिएको छु । आसन्न महाधिवेशनमा पशुपालन र किसानका हरेक पक्षमा घनिभूत छलफल गरी आएका अमूल्य सुझाव, सल्लाह मेरा लागि पनि पशुपालन क्षेत्रको विकास गर्नका लागि कोशेढुङ्गा हुने विश्वास लिएको छु । म कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मन्त्रीको हैसियतमा यहाँहरूको हकहित र समग्र पशुपालन क्षेत्रको विकासका लागि प्रतिबद्धता गर्न चाहन्छु ।
मेरो तपाईंहरु सन्देश छ, तपाईंहरूको सेवा, तपाईंहरूको संघर्ष र तपाईंहरूको आवाजले भेटेरिनरी क्षेत्रको भविष्य निर्माण गर्छ । मन्त्रालय सधैं सहकार्यमा छ ।’
विविध कारणले अधिवेशनमा उपस्थित हुन नसक्ने चिकित्सकहरूलाई के भन्न चाहनुहुन्छ ?
जुनसुकै कारणले महाधिवेशनमा सहभागी हुन नसक्ने साथीहरूलाई म नमन गर्न चाहन्छु । तपाईंहरूले अहिले पनि आफ्नो कार्यक्षेत्रमा सेवा दिइरहनुभएको छ, जुन महाधिवेशनमै सहभागिता सरह हो । म भन्न चाहन्छु— तपाईंहरूको योगदान सधैं सम्मानित छ । तपाईंहरूका सुझाव, चिन्ता र मागहरू संस्थामार्फत मन्त्रालयमा आइपुग्नेछन् । हामी त्यसअनुसार नीतिगत पहल गर्न प्रतिबद्ध छौं।’
अन्त्यमा, भेट टाइम्स मासिकका पाठकहरूलाई माननीय मन्त्रीज्यूले के सन्देश दिन चाहनुहुन्छ ?
भेट टाइम्सले भेटेरिनरी पेशालाई संस्थागत र सम्मानित बनाउने कार्य गरिरहेको छ । भविष्यमा समेत पत्रकारितामार्फत यस क्षेत्रका लागि अहं भूमिका निर्वाह गर्नेमा म विश्वस्त छु । यसका लागि धन्यवाद पनि दिन चाहन्छु । भेटेरिनरी सेवा केवल जनावरका लागि नभई किसान, उपभोक्ता र समग्र समाजको स्वास्थ्य सुरक्षाका लागि अनिवार्य सेवा हो भन्ने कुरा सबैले बुझेको देख्दा खुसी लाग्छ ।
भेट टाइम्समार्फत सबैलाई ‘एकजुट भएर अगाडि बढौँ, नीति निर्माणमा सशक्त आवाज बनौँ र वैज्ञानिक पशु स्वास्थ्य सेवामार्फत देशको विकासमा योगदान पुर्याऔं’ भन्न चाहन्छु ।