अब्बल आकांक्षी सबै निर्धक्क

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) को अधिवेशन आगामी जेठ १७ गते हुँदैछ । संघीय राजधानी काठमाडौंमा हुने अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, प्रधान सम्पादक ६ केन्द्रीय सदस्य चयन गर्नेछ ।

अधिवेशनपूर्व नै केही पदमा भेटेरिनरियनहरू निर्वाचित भइसकेका छन् भने केही पदहरूका लागि निर्वाचन हुँदैछ । अध्यक्ष, महासचिव, कोषाध्यक्षमा निर्वाचन हुने भएपछि आकांक्षीहरूले आफ्‌नो पक्षमा नतिजा पार्न लबिङ तीव्र पारेका छन् ।

अध्यक्षमा त्रिपक्षीय भिडन्त
पेशागत संगठन भएकाले एनभिएको नेतृत्व सर्वसम्मतबाट हुनुपर्ने मत विगत केही वर्षदेखि उठ्दै आइरहेको छ । यस पटक पनि केही अग्रज भेटेरिनरियनहरूले त्यस्तो प्रयास थालेका थिए । तर आफूहरूको त्यस्तो प्रयास सफल हुन नसकेको एनभिएका एक पूर्वअध्यक्ष बताउँछन् ।

प्रतिस्पर्धामा जाँदा एनभिएमा राजनीतिको गन्धसमेत आउने गरेको छ । एनभिएका पूर्वअध्यक्ष डा. शीतलकाजी श्रेष्ठ त्यसतर्फ संकेत गर्दै यस्ता प्रवृत्तिले चिन्ता थपिएको बताउँछन् । ‘एनभिएमा पछिल्लो समय ठाउँ नपाउनुपर्ने अरू नै कुराले स्थान लिँदै गइरहेको छ,’ त्यसतर्फ संकेत गर्दै उनले भने ।

एशोसिएसनको आगामी कार्यकालको नेतृत्वमा यस पटक तीन जनाले आकांक्षा देखाएका छन् । नेपाल भेटेरिनरी एशोसिएसनका महासचिव डा. केदार सुवेदी, नेपाल भेटेरिनरी एशोसिएसनका पूर्व महासचिव डा. उमेश दाहाल र नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशका पूर्वअध्यक्ष डा. केदारराज पाण्डेले नेतृत्वको चाहना देखाउँदै उम्मेदवारी दर्ज गराएका हुन् । उनीहरू तिनै जनाले पेशागत हकहितको रक्षाका लागि आफूहरूले उम्मेदवारी दिएको बताएका छन् ।
उम्मेदवारी मनोनयनसँगै तीनै जना अध्यक्षका प्रत्यासीले आफ्‌नो चुनावी प्रचारलाई तीव्र बनाउँदै लगेका छन् । अध्यक्षमा आफू योग्य भएको भन्दै उनीहरूले प्रत्यक्ष भेटेर, टेलिफोन सम्पर्क गरेर, सामाजिक सञ्जाललगायतको प्रयोग गरेर मत मागिरहेका छन् । उम्मेदवारहरू आफ्‌नो पक्षमा माहोल बनाउन तम्सिएपछि पशु चिकित्सकहरूको पेशागत संगठन निर्वाचनमय बनेको छ ।

अध्यक्षका प्रत्यासी वर्तमान महासचिव डा. केदार सुवेदीले ‘हामी सबैको इच्छा, सम्मानित पशु चिकित्सा’लाई मूल नारा बनाएका छन् । उनले आफू बहुमतले विजयी हुने विश्वास व्यक्त गर्दै ‘जेठ १७’ गतेको निर्वाचनमा आफूलाई मतदान गर्न आग्रह गरेका छन् । इमानदार र सशक्त ढंगले महासचिवमा निर्वाह गरेको भूमिका, अनुभव र ऊर्जालाई उनले आफ्‌नो जितको आधारका रूपमा प्रस्तुत गरेका छन् ।

त्यस्तै, पशु सेवा विभागका पूर्व महानिर्देशक, मधेश प्रदेश, भूमि व्यावस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालले आफू यसअघि केन्द्रीय सदस्य र महासचिवको जिम्मेवारी सम्हालिसकेको बताउँदै ‘निर्माणाधीन नेपाल भेटेरिनरी एशोसिएसन भवनको निर्माण सम्पन्नताको सुनिश्चित गर्ने’, ‘सार्वजनिक, निजी, अनुसन्धान, विश्वविद्यालय, प्राविधिक विद्यालय लगायतका क्षेत्रमा कार्यरत भेटेरिनरीयनहरूलाई समेट्ने’, ‘भेटेरिनरीयनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग समन्वय र सहकार्य गर्ने’ तथा ‘प्रादेशिक नेपाल भेटेरिनरी एशोसिएसन कमिटीको सशक्तिकरण गर्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् । ‘उत्कृष्ट पेसाका लागि सशक्त नेतृत्व रोजौं’ भन्ने नारा अघि सार्दै उनले जेठ १७ गतेको निर्वाचनका लागि आफूलाई निर्वाचित गर्न आह्वान गरेका छन् ।

अध्यक्ष पदका अर्का उम्मेदवार डा. केदारराज पाण्डेले ‘सेवा, सोच र समर्पणको अठोट, अबको अध्यक्षमा डा. पाण्डेलाई भोट’ भन्ने नारासहित चुनावी प्रचार थालेका छन् । उनी नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशका दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका अवकाशप्राप्त वरिष्ठ भेटेरिनरी अधिकृत हुन् । ‘हाम्रो पेसाका लागि सँगै’ भन्ने प्रतिबद्धताका आफू आफू चुनावमा होमिएको उनले बताए ।
तीन जना सशक्त उम्मेदवार चुनावी मैदानमा उत्रिएकाले एनभिएको यस पटकको निर्वाचन निकै रोचक बन्ने आकलन गरिएको छ ।
महासचिवमा दुई जनाको रस्साकस्सी
अध्यक्षपछिको शक्तिशाली मानिने महासचिव पदमा द्विपक्षीय प्रतिस्पर्धा हुने भएको छ । महासचिवमा हालका सचिव डा. शंकर न्यौपाने र डा. चिरञ्जीवी पन्थ आमनेसामने भएका छन् । न्यौपाने लुम्बिनी प्रदेशको रोल्पा जिल्लास्थित भेटेरिनरी अस्पतालमा कार्यरत छन् भने पन्थ पशु सेवा विभागमा कार्यरत छन् ।

वाकपटु दुवै प्रत्यासीले संगठनमा गरेको लगानी, अनुभवलगायतलाई आफ्‌नो सबल पक्षका रूपमा प्रस्तुत गर्दै लबिङ गरेका छन् ।
एशोसिएसनको कोषाध्यक्ष पदमा डा. विकास श्रेष्ठ र डा. सौरभ श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

६ केन्द्रीय सदस्य पदका लागि १२ जना मैदानमा उत्रिएका छन् । डा. अजयराम ओझा, डा. अमिक श्रेष्ठ, डा. गणेश राना भाट, डा. मदन भण्डारी, डा. दिनेश अर्याल, डा. नवीन पन्थी, डा. पर्वतजंग थापा, डा. रूपक कँडेल, डा. शरदनरसिंह अमात्य, डा. साधना घिमिरे, डा. सचिन भट्टराई र डा. सुशिल कुमार रायले केन्द्रको इन्ट्री प्वाइन्टमा आकांक्षा देखाएर उम्मेदवारी दर्ज गराएका हुन् ।

उपाध्यक्ष,सचिव र प्रधान सम्पादक निर्विरोध निर्वाचित
एशोसिएसनको केही पदमा भने एक मात्र उम्मेदवारी परेकाले निर्विरोध भएको छ । उपाध्यक्ष पदमा डा. राजेन्द्र प्रसादलाई टक्कर दिन अर्को अनुहार अगाडि नसरेपछि उनी निर्विरोध भएका छन् । सचिव पदमा पनि डा. विशाल पोखरेलबाहेक अन्यले आकांक्षा देखाएनन् । त्यस्तै प्रधान सम्पादकमा डा. हिमाल लुइटेल निर्विरोध भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *