नीति निर्मातासँग बहस गर्नसक्ने व्यक्ति नेतृत्वमा आओस्

नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) ले लामो समयदेखि पशुपन्छी चिकित्सकहरूको हकहितको मुद्दा उठाउँदै आइरहेको छ । पशुपन्छी चिकित्सकको छाता संगठनका रूपका क्रियाशील एनिभएले यही जेठ १७ गते एकसाथ आफ्नो वार्षिक साधारणसभा तथा अधिवेशन गर्दैछ । एनभिएले अधिवेशनका क्रममा उठाउने मुद्दा र नयाँ नेतृत्वलाई लिएर अहिलेदेखि नै पशुपन्छी क्षेत्रमा बहस सुरु भएको छ । यसै सन्दर्भमा हामील नेपाल पशुपन्छी औषधि व्यावसायी संघ अध्यक्ष रितेश रिमालसंग सम्पर्क गरेर एनभिएले अधिवेशनमा कस्ता मुद्दा उठाउनु पर्ला र यसको आगामी नेतृत्वसँग तपाईंहरूको अपेक्षा के छ भनेर सोधेका छौं ।हेरौ रिमालको भनाई यस्तो छ :
नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) पशु चिकित्सकहरूको संगठन हो । पशु चिकित्सक आबद्ध एनभिए राम्रो पेशागत संगठनका रूपमा स्थापित छ ।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघ र एनभिएबीच निकै राम्रो सम्बन्ध रहँदै आएको छ । त्यसलाई प्रष्ट पार्न म यहाँ सानो उदाहरण दिन्छु । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको नयाँ कार्यसमितिले एक सल्लाहकार नियुक्त गर्नुपर्ने प्रावधान छ । अध्यक्षमा निर्वाचित भएर आइसकेपछि हाम्रो टिमले एनभिएका अध्यक्षलाई सल्लाहकार नियुक्त गर्यो । एनभिएका हरेक अध्यक्ष अब हाम्रो संस्थाका सल्लाहकार रहनु हुनेछ । यसबाट नै संघ र एनभिएबीच कस्तो सम्बन्ध छ भन्ने नियाल्न सकिन्छ ।
संघ र एनभिएबीच राम्रो सम्बन्ध मात्र छैन, सहकार्य पनि हुँदै आइरहेको छ । केन्द्र, प्रदेश र जिल्ला तहमा कुनै कार्यक्रम गर्दा उहाँहरू (एनभिए) ले हामीलाई सहभागी गराउनु हुन्छ । हामीले पनि कुनै कार्यक्रम गर्दा उहाँहरूलाई समेट्ने गरेका छौं । तर यी दुई संगठनबीच जुन मात्रामा सहकार्य हुनुपर्ने हो, त्योचाहिँ हुन सकेको छैन ।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघ व्यवसायिक संस्था हो भने एनभिए प्राविधिक भन्दा पनि एउटा इन्टेलएक्चुएल संस्था हो । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ र एनभिएका सबै समस्या मिल्दैनन् । कतिपयचाहिँ समान प्रकृतिका हुन्छन् । मुद्दाहरू आपसमा मिलेको खण्डमा हामीले सहकार्य गर्ने गरेका छौं ।
उहाँहरू आफ्नो काममा निकै इमानदारिताका साथ लाग्दै आइरहनुभएको छ । एनभिएका हालसम्मका सबै कार्यसमितिहरूले निकै राम्रो काम गरेका छन् । यही जेठ १७ गते हुन गइरहेको एनभिएको अधिवेशनबाट पनि हामीजस्ता संघ–संगठनसँग सहकार्य गर्ने कार्यसमिति बन्नेछ भन्ने अपेक्षा लिएका छौं । अब बन्ने नयाँ कार्यसमितिलाई म तपाईंहरूमार्फत अग्रिम शुभकामना पनि दिन चाहन्छु ।
एनभिएको नयाँ कार्यसमितिमा को आउँछ, को जान्छ भन्ने कुरामा संघ लाग्दैन । यद्यपि, नयाँ कार्यसमितिमा जो अध्यक्ष बन्नुहुन्छ, उहाँ हाम्रो संघको स्वतः सल्लाहकार हुनुहुन्छ । आगामी दिनमा उहाँहरूको सहकार्य अझै घनीभूत हुनेछ भन्ने विश्वास मैले लिएको छु ।
एनभिए र संघ फरक छन् । पशुपन्छी औषधि व्यवसायी संघ विशुद्ध व्यावसयिक संगठन हो । संघमा आफ्नो व्यवसायप्रति लोयल हुनुपर्ने मान्छे हुनुपर्छ भन्ने छ । एनभिए प्राविधिक संस्था भएकाले सदस्यको पीरमर्का बुझ्ने, सहकार्य गर्न सक्ने र नीति निर्मातासँग बसेर बहस गर्नसक्ने व्यक्ति एनभिएको नेतृत्वमा आओस् भन्ने हाम्रो चाहना छ ।