संस्थालाई नेतृत्व गर्ने अनुभव भएकाले अध्यक्ष मै हुनुपर्छ

पशु सेवा विभागका पूर्वमहानिर्देशक डा. उमेश दाहाल हाल मधेस प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव छन् । पशुपन्छी चिकित्सकको छाता संस्था नेपाल भेटेरिनरी एसोसिएसनको एक कार्यकाल महासचिव रहिसकेका डा. दाहाल यस पटक अध्यक्षको जिम्मेवारी लिने मनसायका साथ चुनावी मैदानमा उत्रिएका छन् । संस्थालाई नेतृत्व प्रदान गर्ने अनुभव आफूसँग भएकाले यस पटक अवसर पाउनुपर्ने दाहालको भनाइ छ । दाहालसँग उनको उम्मेदवारीको पेरिफेरिमा रहेर भेट टाइम्स मासिकले गरेको कुराकानी :
तपाईंको उम्मेदवारी कुन पदका लागि हो र किन ?
मेरो उम्मेदवारी अध्यक्ष पदको लागि हो । कुनै पनि संस्थाको नेतृत्व गर्नको लागि अनुभव महत्वपूर्ण हुन्छ । अध्यक्ष पद अरू पदभन्दा फरक पद हो । यो पदमा कामको साथ साथै नेतृत्वदायी क्षमता हुन आवश्यक छ । भेटेरिनरियनको साथ साथ अन्य पेशागत र गैर पेशागत सरोकारवालाहरूलाई समेत समेटेर लैजानु पर्छ । उमेरको अनुभवभन्दा पनि संस्थालाई नेतृत्व गर्ने मेरो अनुभव छ । नेपाल सरकारको विभिन्न कार्यालयसहित विभागीय प्रमुखसमेत भई जिम्मेवारी निर्वाह गरिसकेको हुँदा संस्थालाई कसरी नेतृत्व गर्ने ? त्यसबारे मसँग ज्ञान र अनुभव छ । यस अगाडि पनि सफल महासचिवको कार्यकालको अनुभव गरिसकेको छु ।
भेटेरिनरियनहरूको मुद्दालाई सरकारसमक्ष लैजाने र निर्णय प्रक्रियामा सकारात्मक प्रभाव पार्नेछु । द्यचष्मनष्लन को रुपमा काम गर्नेछु । भेटेरिनरी पेशामा संलग्न सदस्यहरूको पेशागत अधिकार, सुविधा, र अवसरहरूको संरक्षण तथा प्रवद्र्धन गर्न अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।
यहाँले उम्मेदवारी दिँदै गर्दा तपाईंका मुख्य एजेण्डाहरू के–के छन् ?
अध्यक्षमा उम्मेदवारी दिँदै गर्दा मैले विभिन्न एजेण्डाहरू अघि सारेको छु । ती बुँदागत रूपमा देहायबमोजिम छन् :
१.भेटेरिनरी पेशाको सम्मान र अधिकार सुनिश्चितता गर्न पेशागत सुरक्षा, तलब, सुविधाका लागि सरकारी तथा निजी तहमा पैरवी ।
२.भेटेरिनरी स्वास्थकर्मी दुर्घटना बीमाका लागि पहल गर्ने
३.अन्तर प्रादेशिक संगठनको समानुपातिक विकास गर्ने
४.विधान संशोधनमार्फत समावेशी बनाउने ।
५.भेटेरिनरी पेशालाई अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने, समन्वय गर्ने, र नेपाललाई विश्वव्यापी भेटेरिनरी समुदायमा स्थापित गर्ने ।
६.भेटेरिनरी सेवा प्रवाहलाई सार्वजनिक र निजी क्षेत्रबाट प्रभावकारी रूपमा प्रदान गर्नको लागि सदस्यहरूको क्षमता अभिवृद्धि कार्यक्रम
खासमा नेपालको पशु चिकित्सा क्षेत्रमा यहाँले के, कस्ता समस्याहरू पाउनुभएको छ र यदि निर्वाचित हुनुभयो भने ती समस्या समाधानका लागि यहाँका योजनाहरू के हुनेछन् ?
चुनावी परिणाम तपाईंको पक्षमा आउँछ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
प्रतिस्पर्धा राम्रो छ । सबैको आ–आफ्नो विशेषता छ । तर एशोसियसनलाई आवश्यक परेको नेतृत्वमा रहेको हुँदा सम्पूर्ण भेटेरिनरियन मतदाताहरूले अध्यक्ष पदको लागि मलाई नै चयन गर्नु हुनेछ भन्ने लाग्छ ।
तमाम भेटेरिनरियनले यस अधिवेशनमा तपाईंलाई नै मत किन दिने?
- अनुभवी र नेतृत्वदायी क्षमता भएको अध्यक्ष प्राप्त गर्न ।
- अग्रज भेटेरिनरियन र युवा भेटेरिनरियनबीच समन्वयात्मक भूमिका निर्वाह गर्न
- निर्माणाधीन भवनलाई पूर्णता दिन ।
- अन्तर पेशागत मनमुटाव र दूरी कम गर्न ।
- भेटेरिनरी पेशामा देखिएका वेथितिहरूलाई हटाइ वैज्ञानिक प्राविधिक संस्थाको रूपमा विकास गर्न ।
- राज्यका उपल्लो निकायहरूबाट बेला बेलामा पेशाप्रति भएको भेदभाव, ज्यादति र प्रहारविरुद्ध वैचारिक बहसका साथै आवश्यक परे जस्तोसुकै आन्दोलनको नेतृत्व गर्न ।
यो विशुद्ध पेशागत गैरनाफामूलक संस्थामा नेतृत्वका लागि सधैं प्रतिस्पर्धा हुने गर्छ । यहाँहरूले सहमतिको प्रयास किन गर्नुभएन ?
सहमतिका अनेकौं प्रयासहरू भएता पनि सफल हुन सकेन । सबै जना उत्तिकै अब्बल भएर यो अवस्था आएको हो । म आदरणीय सम्पूर्ण अग्रज तथा युवा भेटेरिनरियनमा विवेक प्रयोग गरी मतदान गरिदिनुहुन आह्वान गर्दछु ।
पशु चिकित्सक र प्राविधिकहरू पशुपन्छी क्षेत्रका मेरुदण्ड हुन् । तर बेलाबेलामा यी पक्षबीच मनमुटावको स्थिति सिर्जना हुने गरेको छ । यसबारे यहाँको भनाइ छ ?
अहिले छुट्टा–छुट्टै परिषद् छ । हामी सबैको उद्देश्य एकै हो । अलग अलग भएर हिँड्दा, एकीकृत भएर छलफल नहुँदा मनमुटाव हुने हो । मेरो कार्यकालमा उहाँहरूसँग पनि नियमित बैठक बस्ने व्यवस्था मिलाउँछु । उहाँहरूको क्षमता अभिवृद्धिलगायतका कुरामा हामी सहयोग गर्नेछौं । उहाँहरूको अनुभव र हाम्रो प्रविधिक ज्ञानको संयोजन गरेर उत्कृष्ट भेटेरिनरी सेवा प्रदान गर्ने लक्ष्य लिएको छु ।
अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?
निजी क्षेत्र, विश्वविद्यालय हुँदै लामो समय सरकारी सेवामा रहेर नेपालको भेटेरीनरी क्षेत्रको विकासमा अनवरत रूपमा समर्पित रहेको छु । नेपाल भेटेरिनरी एशोसिएसन केन्द्रीय समितिमा सदस्य तथा महासचिवको रूपमा सफलतापुर्वक जिम्मेवारी पूरा गरेको कुरा यहाँहरूलाई अवगत नै छ । पछिल्लो समय नेपालको पशु चिकित्सा क्षेत्रमा देखा परेका समस्याहरूलाई मैले नजिकबाट नियालेको छु । यी समस्याहरूको दीर्घकालीन समाधान गर्न, पशु चिकित्सा क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्न तथा सम्पूर्ण भेटेरिनरियनलाई एकताबद्ध गरी भेटेरिनरी पेशाको गरिमालाई थप मजबुत बनाउन अध्यक्षको रूपमा एक कार्यकाल नेतृत्व गर्ने अवसर प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।