डीडीसी महाप्रबन्धकमा डा. पाण्डेय, कर्मचारीका दूध-घ्यू सुविधा कटौती

काठमाडौँ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकमा मन्त्रालयका सहसचिव डा. जगदिश पाण्डेयलाई जिम्मेवारी दिएको छ। मन्त्रालयस्तरीय निर्णयअनुसार पाण्डेयलाई महाप्रबन्धको जिम्मेवारी दिइएको हो। पशु सेवा विभागअन्तर्गत पोखरास्थित पशु प्रजनन कार्यालयमा कार्यरत पाण्डेयलाई मन्त्रालयले डीडीसीको जिम्मेवारीमा ल्याएको हो। जिम्मेवारी दिएको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सचिवालयले पुष्टि गरेको छ ।

यससँगै मन्त्रालयले डीडीसीका कर्मचारीहरूलाई दिइँदै आएको नियमित सुविधा कटौती गर्ने निर्णय पनि गरेको छ। अबदेखि कर्मचारीहरूलाई दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्यू दिने सुविधा बन्द गरिएको मन्त्रालयले जनाएको छ। उक्त निर्णय आज (जेठ १५) बाटै लागू गरिएको छ।

मन्त्रालयका अनुसार दुग्ध किसानहरूलाई दिनुपर्ने भुक्तानी लामो समयदेखि रोकिएको र डीडीसीले सरकारबाट लिएको ऋणसमेत चुक्ता गर्न नसकेको अवस्थाले यो निर्णय आवश्यक भएको हो। “हालको आर्थिक संकटमा कर्मचारी सुविधाभन्दा किसान भुक्तानी प्राथमिक हो,” मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यसअघि डीडीसी व्यवस्थापनसँग कर्मचारीहरूले पाइरहेका सेवा-सुविधाको विस्तृत विवरण मागेको थियो। मन्त्रालयको भनाइमा अन्य घाटामा गएका सार्वजनिक संस्थानहरूले पनि यस्तै कटौती गरेका उदाहरण छन्।

संस्थानको व्यवस्थापन सुधार, वित्तीय अनुशासन कायम गर्ने प्रयास तथा किसानप्रति प्रतिबद्धता देखाउने सन्देशका रूपमा यो निर्णय लिइएको मन्त्रालय स्रोतको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *