पशु चिकित्सक लाइसेन्स नतिजा : चीनमा पढेका सबै फेल, बंगलादेशबाट २३ मा २ मात्र पास

प्रश्नको घेरामा भेटेरिनरी शिक्षाको गुणस्तर

काठमाडौं । पशु चिकित्सकहरूको लाइसेन्स परीक्षामा २९ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । यो नतिजाले एकसाथ भेटेरिनरी शिक्षा र अहिले उत्पादित जनशक्तिको क्षमतामाथि गम्भीर प्रश्न उब्जेको छ । पशु चिकित्सकहरूको नियमनदेखि लाइसेन्स परीक्षा सञ्चालनसम्मका कार्य गर्दै आइरहेको नेपाल पशु चिकित्सा परिषद्ले यही फागुन २४ गते २२औं पशु चिकित्सक लाइसेन्स परीक्षा सञ्चालन गरेको थियो । जसमा १५९ जना परीक्षार्थी सहभागी बनेकोमा ४७ जना मात्र उत्तीर्ण भएका हुन् । यो कुल सहभागीको २९.५५ प्रतिशत मात्र हुन आउँछ ।

नेपाल पशुपन्छी चिकित्सा परिषद्ले स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन गरेर लाइसेन्स परीक्षामा सहभागी भएका १५९ पशु चिकित्सकमध्ये ४७ जना मात्र उत्तीर्ण भएको जनाएको छ । भेटेरिनरी शिक्षामा स्नातक अध्ययन पश्चात चिकित्सकीय कार्य गर्न अनिवार्य रूपमा पशु चिकित्सा परिषद्बाट लाइसेन्स लिएको हुनुपर्छ ।
परीक्षामा १३३ नेपालमा र २६ जना बंगलादेश, चीन र पाकिस्तानमा अध्ययन गरेका विद्यार्थी सामेल थिए । जसमा नेपाली कलेजमा अध्ययन गरेका ४५ जना उत्तीर्ण हुँदा विदेशमा अध्ययन गरेका २ जना मात्र सफल भएका छन् ।
परीक्षामा नेपालको एफयूबाट ५०, हिकाष्टबाट ३५, एनपिआइबाट ४७ र त्रिभुवन विश्वविद्यालयबाट १ जना गरी कुल १३३ सहभागी भएका थिए । त्यसमध्ये एफयूमाीमा अध्ययन गरेका ३६ जना अर्थात् ७२ प्रतिशत उत्तीर्ण भएका छन् । त्यसैगरी एनपिआईका ५ र हिकास्टका ४ विद्यार्थी मात्र उत्तीर्ण भए । त्रिभुवन विश्वविद्यालयबाट एक जना विद्यार्थी सहभागी भएकोमा ती विद्यार्थी भने उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।

चीनमा पढेका सबै फेल
परीक्षामा चीनको सिचुआन एग्रिकल्चरल युनिभर्सिटीमा अध्ययन गरेका २ विद्यार्थी पनि सहभागी भएका थिए । नतिजामा ती दुवै विद्यार्थी असफल भएको परिषद्ले जनाएको छ । बंगलादेशको चार विश्वविद्यालयमा अध्ययन गरेका २३ विद्यार्थीले लाइसेन्स परीक्षा दिएकोमा २ जना मात्र पास भएका छन् । पाकिस्तानको युनिभर्सिटी अफ भेटेरिनरी मेडिसिन एण्ड एनिमल साइन्सेजमा अध्ययन गरेका एक विद्यार्थीले लाइसेन्स परीक्षा दिएकोमा उनी पनि उत्तीर्ण भएका छन् ।

किन भए कम उत्तीर्ण ?

पशु चिकित्सकको लाइसेन्स परीक्षामा विगतमा पनि निकै कम विद्यार्थी उत्तीर्ण भएको परिषद्को भनाइ छ । गत वर्ष भने परिषद्ले सञ्चालन गरेको लाइसेन्स परीक्षामा २१२ जना सहभागी भएकोमा ७९ प्रतिशत अर्थात् १६८ जना उत्तीर्ण भएका थिए । त्यसअघिका वर्षमा सञ्चालन गरिएको परीक्षामा पनि यस पटकको जस्तो खस्किएको नतिजा आएको थिए ।
पशु चिकित्सकको लाइसेन्स परीक्षाको नतिजाले भेटेरिनरी शिक्षाको गुणस्तरको दयनीय पक्ष उजागर गरेको छ ।
पशु चिकित्सा परिषद्का एक अधिकारी भेटेरिनरी शिक्षाको गुणस्तर खस्किएकाले लाइसेन्स परीक्षामा निकै कम विद्यार्थी उत्तीर्ण भएको बताउँछन् ।
‘भेटेरिनरी शिक्षाको गुणस्तर हिजोको जस्तो छैन भन्ने संकेत पशु चिकित्सकको लाइसेन्स परीक्षाको नतिजाले देखाएको छ, यो चिन्ताको विषय हो,’ ती अधिकारीले भने । यो अवस्थालाई सुधार गर्न देशका शैक्षिक संस्थाले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) का पूर्वअध्यक्ष डा. शीतलकाजी श्रेष्ठ भने यो नतिजालाई लिएर शैक्षिक संस्थाको गुणस्तर र विद्यार्थीको क्षमतामाथि प्रश्न उठाउन उचित नहुने बताउँछन् । परीक्षामा सोधिने प्रश्न र तयारीका कारण धेरै विद्यार्थी अनुत्तीर्ण भएको हुनसक्ने उनको भनाइ छ ।

जनशक्ति अभावको चिन्ता
नेपालमा पशुपन्छी चिकित्सकको संख्या निकै कम छ । पशु चिकित्सा परिषद्का अनुसार पशु चिकित्सक लाइसेन्स लिनेको संख्या २ हजार ९६ मात्र पुगेको छ । नेपालका गाउँगाउँमा अझै पनि भेटेरिनरी चिकित्सा सेवा पुग्न सकेको छैन ।
भेटेरिनरी चिकित्सा उपलब्ध नहुँदा ग्रामीण भेगका किसानले पशुपन्छी पालनमा नोक्सानी व्यहोरेका समाचारहरू बरोबर आइरहेको छ । यस्तो स्थितिमा पशु चिकित्सकका लागि लिइएको लाइसेन्स परीक्षामा २९ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण हुनुले जनशक्ति अभाव थप गहिरिने चिन्ता पशुपन्छी क्षेत्रका सरोकारवालाले व्यक्त गरेका छन् ।तर एनभिएका पूर्वअध्यक्ष डा. श्रेष्ठ भने बजारमा भेटेरिनरी चिकित्सक पर्याप्त रहेकाले यसले सेवामा असर नगर्ने बताउँछन् । ‘२००–३०० भेटेरिनरी चिकित्सक हुँदा त चलेको थियो । अहिले त योभन्दा कैयौं गुणा बढी दुई हजार बढी पशु चिकित्सक हुनुहुन्छ । यो पालिको लाइसेन्स परीक्षामा चिकित्सक अनुत्तीर्ण हुँदैमा सिंगो सेवामा त्यसको असर पर्दैन,’ उनले भने ।

 

यो नतिजाले भेटेरिनरी सेवामा दूरगामी असर गर्दैन

डा. शीतलकाजी श्रेष्ठ पूर्वअध्यक्ष, एनभिए

पशु चिकित्सकको लाइसेन्स परीक्षामा कम विद्यार्थी उत्तीर्ण भए । यो नतिजालाई यहाँले कसरी लिनुभएको छ ?
पशु चिकित्सकको लाइसेन्स परीक्षामा यस्तो नतिजा आएको यो पहिलो पटक होइन । पहिले पनि आएको थियो । यसमाथि समीक्षा गरेर अघि बढ्नु पर्छ ।

लाइसेन्स परीक्षाको नतिजा यति दयनीय आउनुको कारण के होला ?
लाइसेन्स परीक्षाको आफ्‌नै पाठ्यक्रम छ । त्यही पाठ्यक्रमअनुसार प्रश्नहरू सोधिन्छन् । यस पटठक पनि सेलेबसकै आधारमा प्रश्न निकालिएको होला । यसबारे मैले खासै अध्ययन गर्न त पाएको छैन । तर मेरो विचारमा विद्यार्थीको तयारी नपुगेकाले यस्तो नतिजा आएको हुनसक्छ ।

यसले भर्खरै आएका भेटेरिनरी चिकित्सकसँगै समग्र भेटेरिनरी शिक्षाको गुणस्तरमा प्रश्न उठिरहेको छ नि ?
यो जरुर एउटा इण्डिकेसन हो । तर एउटै परीक्षालाई हेरेर त्यस्तो निष्कर्षमा पुगिहालनु उचित हुँदैन ।

यो अवस्था सुधार्न के गर्नुपर्ला ?
पढ्ने रणनीति विद्यार्थीले परिवर्तन गर्नुपर्छ । अर्को कुरा अहिलेको प्रश्नमा पनि सुधार हुनुपर्छ ।

कस्तो सुधार ?
प्रश्नपत्र अप्ठ्यारो भएर विद्यार्थी अनुत्तीर्ण हुने गरेका छन् । त्यसैले परीक्षामा अप्ठ्यारो प्रश्न नभएर एभ्रेज राख्नु पर्छ ।

यो नतिजाले भेटेरिनरी सेवामा असर गर्छ कि गदैन ?
अहिले भेटेरिनरी चिकित्सक पर्याप्त छन् । त्यसो त लाइसेन्स परीक्षा वर्षौं वर्षमा एक पटक हुने पनि होइन । तीन महिनापछि फेरि नेपाल चिकित्सा परिषद्ले यस्तो परीक्षा सञ्चालन गर्छ । अहिले फेल हुने अर्को पटक उत्तीर्ण हुन्छ । त्यसैले यो नतिजाले भेटेरिनरी सेवामा कुनै असर गर्दैन ।

भेट टाइम्स मासिक बाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *