याकको संरक्षण र प्रवर्द्धनका लागि सङ्गठित प्रयास आवश्यक : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभएको छ।

प्रथम राष्ट्रिय याक दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले भौगोलिक चुनौती, युवा पुस्ताको बसाइँसराइ, चरन क्षेत्रको अभाव, प्रजननसम्बन्धी समस्या, जङ्गली जनावरको आक्रमण, जलवायु परिवर्तनजस्ता कारणले नेपालका याकचौँरीको संख्या घट्दो क्रममा रहेकाले याकचौँरी पालनको संरक्षण र प्रवर्द्धनका लागि सङ्गठित प्रयास आवश्यक रहेको बताउनुभयो।

मन्त्री अधिकारीले याकचौँरीको संरक्षण र दिगो उपयोगमार्फत हिमाली क्षेत्रको खाद्य सुरक्षा, जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण र ग्रामीण जीवनशैलीको सशक्तीकरण नै अबको साझा लक्ष्य रहेको उल्लेख गर्नुभयो। मन्त्री अधिकारीले हिमाली जनजीवनको अविभाज्य अंग बनेका याकचौँरीलाई संरक्षण, सुधार र व्यावसायिक रूपान्तरणमार्फत नवजीवन दिनु हाम्रो साझा उत्तरदायित्व रहेकोमा जोड दिनुभयो।

मन्त्रालयको अग्रसरतामा सरकारले याक र चौँरीको महत्वलाई आत्मसात् गर्दै प्रत्येक बैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रूपमा मनाउने निर्णय गरेको उल्लेख गर्दै मन्त्री अधिकारीले याकको संरक्षण एवं प्रवर्द्धनका लागि सोलुखुम्बुको स्याङ्बोचेमा याक आनुवंशिक स्रोत केन्द्र सञ्चालनमा ल्याइएको र उक्त केन्द्रले याकको शुद्ध नस्ल संरक्षण, आनुवंशिक सुधार, प्रविधि विस्तार र प्रसारमा महत्वपूर्ण कामको सुरुआत गरेको बताउनुभयो। मन्त्री अधिकारीले आगामी दिनमा याकचौँरीको दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिवद्ध रहेको पनि उल्लेख गर्नुभयो।

“याकचौँरी प्रवर्द्धनः हिमाली जीवन, संस्कृति र वातावरण संरक्षण” भन्ने मूल नाराका साथ पहिलो पटक मनाइएको राष्ट्रिय याक दिवसको अवसरमा याक पालक कृषकहरूलाई पनि सम्मान गरिएको छ। याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा उल्लेख गरेको छ। नेपालमा मात्र उत्पादन हुने विश्वप्रसिद्ध याक चिज ओमेगा–३ फ्याट्टी एसिडको स्रोत रहेको, याकको दही प्रसिद्ध दुग्ध परिकारको रूपमा रहेको, याकको दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानहरूको आम्दानीको प्रमुख स्रोतको रूपमा रहेको र हिमाली क्षेत्रको सभ्यताको रूपमा समेत याक रहेकोमा संरक्षणकर्मीहरूले जोड दिएका छन्। याकको छाला र पुच्छरबाट बन्ने वस्तुहरू निर्यातको प्रचुर सम्भावना बोकेका उत्पादन हुन्। याक पर्यटन प्रवर्द्धनमा पनि आकर्षणको केन्द्र बन्ने सम्भावना रहेको छ। याकमार्फत सामान ढुवानीदेखि खेतबारी जोत्नेसम्मका कार्यहरू हुँदै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *