नेपालमा प्रतिबन्धित एन्टिबायोटिक इन्ट्रामाइसिन तस्करी, मूल्यमा चरम अनियमितता

काठमाडौं – नेपालमा कानुनी रूपमा प्रतिबन्धित एन्टिबायोटिक इन्ट्रामाइसिन लाई फिड सप्लिमेन्ट (पशु आहार परिपुरक) को नाममा तस्करी गरिएको खुलासा भएको छ। भारतको मुम्बईस्थित स्ट्यालेन साउथ एसिया प्राइभेट लिमिटेड कम्पनीले नेपालमा प्रतिबन्धित औषधि निर्यात गरेर औषधि ऐनको उल्लंघन गरेको भेट टाइम्सले पत्ता लगाएको छ।

नेपालको कानुनअनुसार कुनै पनि फिड सप्लिमेन्ट वा तयारी दानामा एन्टिबायोटिक मिश्रण गर्न पाइँदैन। तर, केही नेपाली दाना उद्योगी तथा सप्लायर्स को संलग्नतामा भन्सार प्रक्रियामा अनियमितता गर्दै उक्त औषधिलाई “फिड सप्लिमेन्ट” का रूपमा देखाएर तस्करी गरिएको छ।

फेब्रुअरी २५, २०२५ मा भैरहवा भन्सार हुँदै ८० बोरा पशु आहार परिपुरक आयात गरिएको थियो। भन्सार कागजातमा उक्त उत्पादनको मूल्य ७२० भारतीय रुपैयाँ प्रति किलोग्राम (करिब १,१५२ नेपाली रुपैयाँ) तोकिएको छ।
उक्त सामग्री सुनगाभा भेट फार्मा, काठमाडौं–१४, कलंकी का सञ्चालक भरतबहादुर पाण्डेले आयात गरेका हुन्।

भेट टाइम्सलाई प्राप्त अर्को विवरणअनुसार, १३ सेप्टेम्बर २०२४ मा एक दाना उद्योगीले सोही कम्पनीको लिपिफायर १२० बोरा  १६४ भारु (२६२ नेपाली रुपैयाँ) प्रति किलोग्राम मा आयात गरेका थिए। नाम उल्लेख नगर्ने शर्तमा ती उद्योगीले बताएअनुसार, १३ सेप्टेम्बर २०२४ मा आफूले आयात गरेको वस्तु वास्तविक लिपिफायर हो, तर १,१५२ प्रति किलोग्रामको वस्तु भने एन्टिबायोटिक्स नै हो

उनले भने, “यदि सोही सामान नेपालमै २६२ रुपैयाँमा आउँछ भने, कसैले १,१५२ रुपैयाँ तिर्ने कुरा असम्भव छ।” उनका अनुसार, भन्सारमा देखाइएको मूल्य वास्तविक बजार मूल्यभन्दा पाँच गुणा महँगो राखिएको छ।

त्यस्तै, उनले थपे, “आयात गरिएको वस्तु वास्तवमा इन्ट्रामाइसिन हो, जुन दाना उत्पादनमा मिश्रण गर्न प्रयोग गरिन्छ।” 

भेट टाइम्सले भरतबहादुर पाण्डे लाई सम्पर्क गर्दा उनले आफूले आयात गरेको सामग्री एन्टिबायोटिक नभएको दाबी गरे। तर, उनले सो विषयमा पूर्ण जानकारी नरहेको बताए।

भेट टाइम्सको जिज्ञासामा उनले भने:“कम्पनीका प्रतिनिधिहरूले पहिलेदेखि नै नेपालमा सोही उत्पादन आयात भइरहेकाले कुनै समस्या नहुने बताएका थिए। साथै, विभागबाट कानुनी रूपमा सिफारिस प्राप्त गर्ने र आफैं बिक्री गर्ने भनेपछि मैले मात्र आयात गरेको हुँ। अहिले सामान पनि मसँग छैन, कम्पनीकै प्रतिनिधिले बिक्री गरिसके।”

स्ट्यालेन साउथ एसियाका नेपाल प्रतिनिधि धिरेन्द्र सिंह धामी लाई भेट टाइम्सले सम्पर्क गर्दा उनले २–४ दिनमा विस्तृत जानकारी दिने वाचा गरेका थिए। तर, पछिल्लो पटक सम्पर्क गर्दा उनले आफूले कम्पनी छोडिसकेको भन्दै आयातकर्ता वा कम्पनीसँग जानकारी लिन सुझाए।उनले भने:“एउटै उत्पादन भए पनि युरोपबाट आउने र भारतमा बन्ने उत्पादनमा भिन्नता हुन सक्छ। त्यसबारे कम्पनीसँगै बुझ्नुहोस्।”

यस विषयमा पशु सेवा विभाग, राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण प्रयोगशाला का निमित्त प्रमुख डा. नविन घिमिरे ले भेट टाइम्ससँगको कुराकानीमा भने:
“स्ट्यालेन कम्पनीसँग सम्बन्धित विभिन्न अनियमितताका उजुरीहरू हामीकहाँ आएका छन्। हामी यसलाई निगरानीमा राखिरहेका छौं।”

चल्दैन कम्पनीको वेबसाइट

अवैध एन्टिबायोटिक्स निर्यात गर्ने कम्पनीको आधिकारिक वेबसाइट अहिले नचल्ने बनाइएको छ। www.stallen.com रहेको उक्त वेबसाइट, जसमा कम्पनीका उत्पादनहरूको जानकारी उल्लेख थियो, अहिले रिडाइरेक्ट गरेर केवल लिंक्डइन सामाजिक सञ्जालको लिंक मात्र खुल्ने बनाइएको छ।

एन्टिबायोटिक तस्करीमा स्ट्यालेनको पुरानै चलखेल?

यो पहिलोपटक होइन, स्ट्यालेन साउथ एसिया प्राइभेट लिमिटेड  https://www.vettimesnepal.com/2023/01/3695/ ले यसअघि पनि नेपालमा औषधि ऐनको उल्लंघन गर्दै एन्टिबायोटिक तस्करी  गरिएको छ।

यस घटनाले नेपालको औषधि तथा भन्सार ऐनको गंभीर उल्लंघन भएको देखिएको छ। भन्सार मूल्यमा भएको चरम असमानता, अनधिकृत आयात तथा गैर-जिम्मेवार आयातकर्ता र कम्पनी प्रतिनिधिहरूको भनाइले यस विषयमा थप गहिरो छानबिन आवश्यक रहेको देखिन्छ।

 

सुनगाभा भेट फार्माको खण्डन : “आफूहरू कुनै गैरकानुनी क्रियाकलापमा संलग्न छैनौं”

काठमाडौं – भेट टाइम्समा प्रकाशित समाचार  प्रति  २०८१ चैत्र २६ गते सुनगाभा भेट प्रा.लिका निर्देशक भरतबहादुर पाण्डेले एक खण्डन पत्र लेख्दै  आफूहरू कुनै अवैध औषधि आयात वा तस्करीमा संलग्न नरहेको स्पष्ट पारेका छन् । कम्पनीले औपचारिक खण्डन पत्रमार्फत भन्सार र सम्बन्धित निकायको स्वीकृति प्राप्त प्रक्रियामार्फत मात्र उत्पादन आयात गरिएको दाबी गरेको हो।

खण्डनमा उल्लेख गरिएको छ : “हामीले भारतको Stallen South Asia Pvt. Ltd. बाट ‘Lipifire’ नामक उत्पादन पशु आहार परिपुरकका रूपमा आयात गरेका हौं। यो औषधि नभई फिड सप्लिमेन्ट हो र यसको भन्सार प्रक्रिया पूर्ण रूपमा कानुनी रूपमा गरिएको छ।”

कम्पनीले आफूले आयात गरेको वस्तु इन्ट्रामाइसिन वा कुनै पनि प्रतिबन्धित एन्टिबायोटिक नभएको दाबी गर्दै, कुनै भ्रम सिर्जना नगर्न आग्रह गरेको छ।

भेट टाइम्सले भारतबाट नेपालमा फिड सप्लिमेन्टको नाममा प्रतिबन्धित एन्टिबायोटिक इन्ट्रामाइसिन तस्करी भएको भनी समाचार प्रकाशन गरेको थियो। सो समाचारमा सुनगाभा भेट फार्मा ले प्रति किलो ११५२ रुपैयाँ पर्ने सामग्री आयात गरेको उल्लेख थियो, जुन मूल्य र वस्तुमा अनियमितता रहेको संप्रेशण गरिएको थियो।

सुनगाभाको भनाइ अनुसार उत्पादन Lipifire हो, इन्ट्रामाइसिन होइन। आयात कानुनी रूपमा भइसकेको छ। कम्पनी कुनै गलत काममा संलग्न छैन।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *