पशुपन्छी औषधि व्यवसायी संघको ३५औँ स्थापना दिवसमा फुटसल प्रतियोगिता सम्पन्न
काठमाडौँ। नेपाल पशुपन्छी औषधि व्यवसायी संघ बागमती जिल्ला शाखा कार्यसमितिको आयोजनामा सम्पन्न एकदिने फुटसल प्रतियोगिताको उपाधि नेपाल पशुपन्छी औषधि बजार प्रतिनिधि संघले हात पारेको छ।

संघको ३५औँ स्थापना दिवसको अवसरमा काठमाडौँको धुम्बाराहीस्थित धन्वन्तरी फुटसलमा आयोजित प्रतियोगिताको फाइनल खेलमा बजार प्रतिनिधि संघले बागमती प्रदेश टोलीलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो।

“स्वस्थ जीवनका लागि खेलकुद अपरिहार्य” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा पशुपन्छी औषधि क्षेत्रसँग सम्बन्धित ६ वटा टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा संघको केन्द्रीय कार्यसमिति, पूर्व अध्यक्ष समूह, आयातकर्ता संघ, बजार प्रतिनिधि संघ, बागमती प्रदेश तथा बागमती जिल्ला शाखाका टोलीहरूबीच प्रतिस्पर्धा भएको थियो।

फाइनल खेलमा बजार प्रतिनिधि संघले उत्कृष्ट प्रदर्शन गर्दै बागमती प्रदेशको टोलीलाई पराजित गरेको हो। यसअघि सेमिफाइनल चरणमा बजार प्रतिनिधि संघले केन्द्रीय कार्यसमितिको टोलीलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
कार्यक्रमका आयोजक बागमती जिल्ला शाखाका अध्यक्ष रमेश अधिकारीले पेशागत व्यस्तताबीच पनि व्यवसायीहरूबीच आपसी सद्भाव, सहकार्य र शारीरिक स्फूर्तिको विकासका लागि यस्ता खेलकुद कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष रितेश रिमाल, पूर्व अध्यक्षहरू लगायत पशुपन्छी औषधि क्षेत्रका विभिन्न सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
संघका अन्य शाखा तथा प्रदेश समितिले समेत विभिन्न कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाएका छन्।
