किसानलाई ‘आइडल’ बनाउने दूध दुहुने रियालिटी शो ‘दूध’ आउँदै
काठमाडौं । नेपालमा पहिलोपटक पशुपालक किसानहरूबीच दूध दुहुने सीपमा आधारित प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ।
भरतपुरका व्यावसायिक पशुपालकहरूमध्ये सहकारीमार्फत दूध बिक्री गर्दै आएका २० जना किसानलाई छनोट गरी कार्यक्रम निर्माण गरिएको हो।
कार्यक्रममा दूध दुहुने दक्षतासँगै पशुप्रतिको व्यवहार, आहार व्यवस्थापन, गोठको सरसफाइ तथा दूधको शुद्धता लगायतका पक्षहरूको मूल्याङ्कन गरिने निर्माता रविन सुवेदीले बताए।
दूधमा आत्मनिर्भर जिल्ला चितवन उन्नत गाईभैंसी भित्र्याउने जिल्लाका रूपमा पनि परिचित रहेको उल्लेख गर्दै सुवेदीले भने, “पशुपालनकै माध्यमबाट यहाँका धेरै किसानले उल्लेखनीय आर्थिक प्रगति गरेका छन्। आफ्ना सन्तानलाई स्वदेश तथा विदेशका विश्वविद्यालयसम्म पढाउन सफल भएका किसानहरूको सम्मानका लागि यो कार्यक्रम ल्याइएको हो।”
पहिलो संस्करणप्रति प्राप्त प्रतिक्रियाका आधारमा आगामी दिनमा कार्यक्रमलाई थप विस्तार गर्ने योजना रहेको पनि उनले जानकारी दिए। नयाँ पुस्तालाई पशुपालनमा हुने मिहिनेत र संघर्षको कथा रोचक ढंगले प्रस्तुत गरिने अपेक्षा गरिएको छ।
कार्यक्रम संयोजक गोविन्द न्यौपानेका अनुसार किसानलाई ‘आइडल’का रूपमा स्थापित गर्ने उद्देश्यले शो निर्माण गरिएको हो। “कृषि कार्यक्रमहरू एउटै ढाँचामा सीमित भइरहेका बेला विविधीकरण सम्भव छ भन्ने सोचसहित यो प्रयास गरिएको हो,” उनले भने, “किसानको गोठमै प्राविधिक, जनप्रतिनिधि र विज्ञ पुगेर गरिने प्रतियोगिताले किसानबीच सहकार्य र समन्वय पनि बढाउनेछ।”
खेतीले मुख्य प्रायोजन गरेको यस कार्यक्रमको प्रवर्द्धक भरतपुर महानगरपालिका रहेको छ।
कार्यक्रमका निर्णायकमा भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थविज्ञ तेजेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उप–प्राध्यापक डा. शत्रुघन शाह, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भगिरथ तिमिल्सेना तथा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत डा. यज्ञराज पाण्डे रहेका छन्।
