पोल्ट्री दिवस आज: वार्षिक डेढ खर्बको कारोबार, आयातमा अझै निर्भरता
चितवन । आज देशभर पोल्ट्री दिवस मनाइँदैछ। नेपालमा पोल्ट्री व्यवसायबाट वार्षिक करिब १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको व्यवसायीहरूले बताएका छन्।
चल्ला, दाना, अन्डा र मासु उत्पादनमा नेपाल करिब आत्मनिर्भर भए पनि दानाको कच्चा पदार्थ, औषधि, भ्याक्सिन तथा उपकरणमा ठूलो मात्रामा आयात निर्भरता रहेको छ। यी सामग्री आयात गर्दा वार्षिक करिब ४५ अर्ब रुपैयाँ बाहिरिने गरेको बताइएको छ।
कोरोना महामारीपछि पोल्ट्री क्षेत्र थप चुनौतीमा परेको छ। ह्याचरी र दाना उद्योगको संख्या उल्लेख्य रूपमा घटेको छ। यसअघि सयौँको संख्यामा रहेका ह्याचरी तथा दाना उद्योग हाल सीमित मात्रामा सञ्चालनमा छन्।
पोल्ट्री क्षेत्रमा उत्पादन लागतको करिब ७० प्रतिशत खर्च दानामा हुने भएकाले मकै र भटमासजस्ता कच्चा पदार्थको स्वदेशमै उत्पादन बढाउन सरकारको प्रोत्साहन आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ।
नेपालमा आधुनिक पोल्ट्री व्यवसायको सुरुवात भएको दिनको स्मरणमा हरेक वर्ष पुस १७ गते पोल्ट्री दिवस मनाइँदै आएको छ।
