१३औँ राष्ट्रिय पोल्ट्री दिवस विविध कार्यक्रमसहित चितवनमा मनाइने
चितवन ।नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा १३औँ राष्ट्रिय पोल्ट्री दिवस विविध कार्यक्रमका साथ चितवनमा मनाइने भएको छ। नेपालमा आधुनिक कुखुरा पालन सुरु भएको दिन पुस १७ गतेलाई आधार मानेर पोल्ट्री व्यवसायीहरूले नेपाल सरकारका सरोकारवाला निकायसँग सहकार्य गर्दै यो दिवस मनाउन लागेका हुन्।
नेपाल कुखुरा व्यवसायी मञ्चले २०८२ पुस १५ गते चितवनमा पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमबारे जानकारी दिएको हो। मञ्चका अध्यक्ष श्री रघुनाथ भट्टज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो।
२०८२ पुस १७ गते बिहान ७:४५ बजे मञ्चको कार्यालय रहेको उद्योग संघ परिसरबाट बाजागाजा, प्लेकार्ड र झाँकीसहित प्रभातफेरी निकालिनेछ। उक्त प्रभातफेरी चौबीसकोठी, हाकिमचोक, स्याउली बजार हुँदै पुनः चितवन औद्योगिक प्रदर्शनी परिसरमा पुगेर समापन हुने कार्यक्रम रहेको छ।
अध्यक्ष भट्टले हाल पोल्ट्री क्षेत्र चरम संकटमा रहेको उल्लेख गर्दै सरकारले किसानका माग सम्बोधन गरी यस क्षेत्रलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले पोल्ट्री क्षेत्रका संघ–संस्थाको प्रतिनिधित्व हुने गरी पोल्ट्री विकास बोर्ड गठन गर्न, पोल्ट्रीजन्य उत्पादनका लागि विदेशबाट आयात हुने कच्चा पदार्थमा लाग्दै आएको कृषि सुधार शुल्क र भन्सार महसुल छुट दिन माग गर्नुभयो।
यसैगरी, पोल्ट्री क्षेत्रको प्रमुख चुनौतीका रूपमा रहेको अवैध रूपमा आयात हुने चल्ला, कुखुरा, मासु तथा अण्डा नियन्त्रण गर्नुपर्ने, साथै रोगको प्रकृतिअनुसारको भ्याक्सिन आयातको व्यवस्था गर्नुपर्ने माग पनि उहाँले राख्नुभयो।
कार्यक्रममा नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष श्री राजेन्द्र लामिछानेज्यूले धेरै किसान विस्थापित भइसकेको र बाँकी रहेका किसानहरू बैंकको ऋण थप्दै अहिलेसम्म टिकिरहेको गुनासो गर्नुभयो। कतिपयले आत्महत्या समेत गरेको उल्लेख गर्दै उहाँले बैंकको कालोसूचीको पीडामा रहेर पनि यो क्षेत्र जोगाउन व्यवसायीहरू लागिपरेको बताउनुभयो।
नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष श्री उमेशचन्द्र सापकोटाज्यूले पछिल्ला वर्षहरूमा विदेशबाट आयात हुने मकै घट्दै गएको उल्लेख गर्दै सरकारले सहयोग गरेमा केही वर्षभित्र नेपालमा भित्रिने कच्चा पदार्थको मात्रा उल्लेखनीय रूपमा घट्ने बताउनुभयो। हाल वर्षेनी करिब ४५ अर्ब रुपैयाँभन्दा बढीको पोल्ट्रीजन्य पदार्थ आयात हुने गरेको र यो रकम पहिले ६० अर्ब रुपैयाँसम्म पुगेको उहाँले जानकारी दिनुभयो।
नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष श्री विनोद पोखरेलज्यूले किसान र व्यवसायी संगठित भएर नलागेको भए अण्डामा आत्मनिर्भर हुने अवस्था नआउने बताउनुभयो। उहाँले लागत मूल्य अझै किसानले नपाइरहेको उल्लेख गर्दै भन्नुभयो, “अण्डाको मूल्य घट्दा कोही बोल्दैन, लागत नजिक पुग्दा अस्वाभाविक वृद्धि भयो भनेर प्रश्न उठाइन्छ।” आठ सय किसान घटेर दुई सयमा झरेको उल्लेख गर्दै पेशामा टिकाइराख्न आवश्यक रहेको उहाँको भनाइ थियो।
मञ्चका महासचिव श्री ज्ञानबहादुर विसुरालज्यूले कोभिडपछिका दिनमा नेपालमा पोल्ट्रीजन्य उत्पादनमा ह्रास आएको बताउनुभयो। हाल जीपी फार्म तीनवटाबाट प्रतिमहिना १ लाख २० हजार माउ चल्ला उत्पादन हुँदै आएको, सातवटा लेयर्स ह्याचरीबाट साप्ताहिक १ लाख २० हजार चल्ला उत्पादन हुने गरेको तथा १०९ ब्रोइलर ह्याचरीबाट सातामा २८ देखि ३० लाख चल्ला उत्पादन हुने जानकारी दिनुभयो। यस्तै, दुई हजार लेयर्स फार्मबाट दैनिक ३५ देखि ३७ लाख अण्डा उत्पादन हुने गरेको, ३५ हजार ब्रोइलर फार्मबाट दैनिक आठ लाख केजी मासु उत्पादन हुने र ११५ वटा दाना उद्योगबाट दैनिक दुई हजार सात सय मेट्रिक टन दाना उत्पादन हुने उहाँले बताउनुभयो।
सो अवसरमा मञ्चका उपाध्यक्ष श्री कृष्णहरि लोहनीज्यूले धन्यवाद ज्ञापन तथा सभा विसर्जन गर्दै नेपालमा कुखुराको मासु प्रतिव्यक्ति वार्षिक १०.५ केजी र अण्डा प्रतिव्यक्ति ६१ वटा मात्रै खपत हुने गरेको उल्लेख गर्नुभयो। यसलाई बढाउनुपर्ने आवश्यकता औंल्याउँदै पोल्ट्री दिवसलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहने भएकाले सहयोगको अपेक्षा गर्नुभयो।
कार्यक्रममा नेपाल पोल्ट्री कल्याणकारी संघका अध्यक्ष श्री महेश्वर पोखरेलज्यू, महासचिव तुलसीप्रसाद (अमन) सुवेदीज्यू, नेपाल लेयर्स कुखुरा पालक संघका प्रथम उपाध्यक्ष श्री जोतेन्द्र श्रेष्ठज्यू, उपाध्यक्ष श्री अमोद खनालज्यू, सचिव श्री मदन पोखरेलज्यू, मञ्चका सचिव डा. विष्णुहरि पोखरेलज्यू लगायतको उपस्थिति रहेको थियो। साथै मञ्चका सदस्यहरू श्री शिव पौडेलज्यू, श्री तुलसीप्रसाद सुवेदीज्यू, मञ्चका कार्यकारी अधिकृत श्री शिवप्रसाद बराललगायत कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो।
