पशु अधिकारकर्मीको नजरमा चितवन महोत्सव

चितवन, १४ पुस : हात्तीको राजधानी मानिने नेपालकै प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहामा आयोजना हुँदै आएको ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ १९औँ संस्करणमा आइपुग्दा चितवनकै पर्यायका रूपमा स्थापित भएको छ।

नेपालमा सौराहामा मात्रै देख्न पाइने फरक पहिचान बोकेको यो महोत्सवलाई अन्य कार्यक्रमसँग तुलना गर्न नसकिने पर्यटन व्यवसायीहरूको भनाइ छ। उनीहरूका अनुसार यो कार्यक्रम हात्ती र मानिसबीचको सम्बन्ध मजबुत बनाउनुका साथै हात्ती संरक्षण र चितवनमा पर्यटक आगमन वृद्धि गर्न सफल भएको छ।

भीमकाय हात्तीका गतिविधिमार्फत पर्यटन प्रवर्द्धन र वन्यजन्तु संरक्षणको उद्देश्यसहित सुरु गरिएको यो अभियानले २१ वर्ष पूरा गरिसकेको छ। सन् २००४ मा हात्ती क्याराभान र ‘अन्तर्राष्ट्रिय हात्ती दौड’का रूपमा सुरु गरिएको कार्यक्रमले केही वर्षमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएको थियो।

पछिल्ला वर्षमा पशु अधिकारसम्बन्धी चासो बढेसँगै महोत्सवलाई थप हात्तीमैत्री बनाउँदै लगिएको छ। यही सन्दर्भमा परिमार्जित रूपमा आयोजना हुँदै आएको महोत्सव यस वर्ष पुस ११ गतेदेखि सुरु भई आइतबार सम्पन्न भएको हो।

“यो कार्यक्रम चितवनकै पर्याय र सौराहाको ब्रान्ड भइसकेको छ,” क्षेत्रीय होटल संघ चितवनका पूर्व कोषाध्यक्ष तथा होटल सेभेनस्टारका सञ्चालक माधव दुवाडीले भन्नुभयो। उहाँका अनुसार अफ–सिजनमा पनि यसले २० देखि ३० प्रतिशतसम्म पर्यटक भित्र्याउन सफल भएको छ।

क्रिसमसको समय भएकाले विदेशी पर्यटक आफ्नो देश फर्कने बेला हो। विगतमा यस समयमा आन्तरिक पर्यटकको चाप कम हुँदा सौराहा सुनसान हुन्थ्यो। तर यस्ता कार्यक्रमले पर्यटकलाई रोक्न र नयाँ आगन्तुक भित्र्याउन मद्दत पुगेको पर्यटन विज्ञ विश्व सुवेदी बताउनुहुन्छ।

सौराहाका हात्ती चितवनकै पहिचान बनेका छन्। टाँगा र घोडा लोप हुँदै गए पनि हात्तीले वन्यजन्तु पर्यटनलाई जोगाइरहेको हात्ती विज्ञ डा. कमल गैरे बताउनुहुन्छ। उहाँका अनुसार बाघ वा गैंडा बस्तीमा पस्दा नियन्त्रणका लागि हात्ती अनिवार्य हुने भएकाले पर्यटन र संरक्षण दुवैका लागि हात्ती अपरिहार्य छन्।

एक समय क्रिसमस अवधिमा सौराहामा पर्यटक शून्यजस्तै हुन्थे। यही समस्या समाधान गर्न सन् २००४ मा हात्ती दौड सुरु गरिएको थियो। क्षेत्रीय होटल संघ चितवनका तत्कालीन उपाध्यक्ष हरिभक्त घिमिरेका अनुसार कोरियामा बसोबास गर्ने नवराज पन्तको सुझावमा हात्ती क्याराभानको अवधारणा अघि बढाइएको हो। त्यसबेला संघका अध्यक्ष घनश्याम श्रेष्ठसहित अग्रज पर्यटन व्यवसायी गिरिधारी चौधरी, शंकर सैंजु र रामकुमार अर्यालबीच छलफल भई कार्यक्रम सुरु गरिएको थियो।

सुरुआतमा हात्ती दौड, टाँगा दौड र डुंगा दौडजस्ता कार्यक्रम सञ्चालन भए। पछि अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा बटुलेपछि महोत्सवलाई थप व्यवस्थित बनाइयो। सौराहामा हुने कार्यक्रमले पश्चिम चितवनको मेघौलीमा आयोजना हुने हात्ती पोलोबाट समेत प्रेरणा लिएको थियो। पछि पोलो बन्द भए पनि हात्ती महोत्सवलाई निरन्तरता दिइयो।

समयक्रममा हात्ती सुन्दरी प्रतियोगिता, हात्ती वनभोज, हात्ती पूजा जस्ता कार्यक्रम थपिँदै गए। यस वर्ष पनि यिनै कार्यक्रम समावेश गरिएका छन्।

पशु अधिकारकर्मीहरूको दबाबपछि २०१३ सालदेखि हात्ती दौड बन्द गरी महोत्सवलाई क्रमशः हात्तीमैत्री बनाइएको हो। छावाबीचको फुटबल, वनभोज जस्ता कार्यक्रममार्फत हात्तीलाई सक्रिय राख्ने प्रयास गरिएको छ। दर्शकहरूका लागि यी गतिविधि आकर्षणको केन्द्र बनेका छन्।

पशु अधिकारकर्मीहरूले रंग लगाउने र खेल खेलाउने विषयमा आपत्ति जनाएपछि कार्यक्रम थप परिमार्जन गरिएको छ। गत वर्षदेखि अनुगमन समितिको निगरानीमा महोत्सव सञ्चालन हुँदै आएको छ।

हात्ती महोत्सव संयोजक गुणराज थपलियाका अनुसार हाल सौराहामा पर्यटकको उल्लेखनीय उपस्थिति देखिएको छ। “हामीले करोडौँ लगानी गरेर पालेका हात्तीलाई यातना दिने कल्पनासमेत गर्न सकिँदैन,” उहाँले भन्नुभयो, “पर्यटक हात्ती नजिकबाट हेर्न, बुझ्न र रमाउन चाहन्छन्, त्यसैका आधारमा कार्यक्रम आयोजना गरिएको हो।”

पशु अधिकारकर्मी सुरज श्रेष्ठले भने हात्तीको योगदान स्वीकार्य भए पनि क्रूर व्यवहारबाट पर्यटन दिगो नहुने बताउनुभएको छ। उहाँका अनुसार हात्ती संरक्षणबिनाको पर्यटन दीर्घकालीन हुन सक्दैन।

यता ३० वर्षभन्दा बढी समय हात्तीको उपचारमा संलग्न हात्ती विज्ञ डा. कमल गैरेले भने हात्तीलाई सक्रिय राख्नु स्वास्थ्यका लागि आवश्यक भएको बताउनुभयो। “मानिसलाई जस्तै हात्तीलाई पनि हिँडडुल र व्यायाम चाहिन्छ,” उहाँले भन्नुभयो, “सौराहामा यातना दिएर कार्यक्रम गरिएको मैले देखेको छैन।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *