ह्याचरी उद्योग संघको नेतृत्वमा लामिछाने निर्विरोध, सचिवमा भट्ट
काठमाडौं | नेपाल ह्याचरी उद्योग संघको १९औँ वार्षिक साधारणसभा तथा १०औँ महाधिवेशनबाट राजेन्द्र लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। अधिकांश पदहरूमा सर्वसम्मत चयन भए पनि सचिव पदका लागि भने निर्वाचन भएको थियो। उक्त निर्वाचनमा विवेक भट्टले ४२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी प्रेम बोगटीले १६ मत प्राप्त गर्नुभएको छ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. बलराम किसी, प्रथम उपाध्यक्षमा बलराम सन्जेल र द्वितीय उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर विसुराल चयन हुनुभएको छ। त्यसैगरी महासचिवमा नवराज पौडेल र कोषाध्यक्षमा परशुराम अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ। कार्यसमिति सदस्यहरूमा रिजवान अहमद, नारायण गिरी, कपिल बाबू खनाल, हरिकृष्ण खनाल, मोतीप्रसाद पौडेल, बोधराज निरौला र विष्णु प्रसाद रिमाल रहनुभएको छ।
नयाँ कार्यसमितिले यस्तो समयमा जिम्मेवारी सम्हालेको छ, जब देशभरका कुल ३५४ ह्याचरीमध्ये ७५ प्रतिशत उद्योगहरू नीतिगत कमजोरी र अवैध आयातका कारण बन्द भइसकेका छन्। हाल १०२ वटा ह्याचरी मात्र सञ्चालनमा रहेका छन्। यस्तो अवस्थामा नवनिर्वाचित टोलीका लागि तस्करी नियन्त्रण, विद्युत् महसुलमा ५० प्रतिशत छुट तथा अव्यावहारिक कानुनी मापदण्डको सुधारका लागि सरकारसँग पहल गर्नु प्रमुख चुनौतीका रूपमा रहेको छ।
