हल गोरु पाल्ने किसानलाई नगद प्रोत्साहन

बैतडी  : हल गोरु पाल्ने दुर्गम क्षेत्रका कृषकले नगद प्रोत्साहन रकम पाउने भएका छन्। जिल्लाको पञ्चेश्वर, शिवनाथ, सिगास र डिलाशैनी गाउँपालिकामा परम्परागत रूपमा हल गोरु पाल्दै आएका कृषकलाई रु पाँच हजारका दरले प्रोत्साहन प्रदान गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख गुमानीदत्त पन्तले जानकारी दिनुभयो।

प्रदेश सरकारको हल गोरु पालन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत रु १० लाख बजेट विनियोजन गरिएको छ। सो बजेटबाट चार स्थानीय तहका दुर्गम वडामा बसोबास गर्ने नियमित रूपमा हल गोरु पाल्ने कृषकलाई नगद प्रोत्साहन वितरण गरिने जनाइएको छ।

परम्परागत रूपमा हल गोरु पाल्दै आएका कृषकले सम्बन्धित गाउँपालिकाको पशु विकास शाखामा निवेदन दिनुपर्नेछ। पन्तका अनुसार प्रत्येक गाउँपालिकाबाट ५० जना हल गोरु पालन गर्ने कृषक छनोट गरिनेछ। निवेदन दिने अन्तिम म्याद यही पुस २७ गतेसम्म तोकिएको छ।

कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका दुर्गम वडामा बसोबास गर्ने न्यून आय भएका कृषकलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ। गाउँपालिकासँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

तस्बिर  : कृत्रिम बौद्धिकता (एआई)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *