क्यानाइन संघको साधारणसभा सम्पन्न:कुकुर पालक जिम्मेवार हुनुपर्छ : उपमेयर
ललितपुर । नेपाल कुकुर (क्यानाइन) संघको तेस्रो वार्षिक साधारणसभा शनिबार ललितपुरको च्यासलमा सम्पन्न भएको छ। करिब एक सय जना सदस्य आबद्ध संघको साधारणसभामा कुकुरपालन, क्यानाइन व्यवसाय तथा सामुदायिक कुकुर व्यवस्थापनलाई संस्थागत र व्यवस्थित बनाउने विषयमा केन्द्रित रहेर छलफल गरियो।
कार्यक्रममा प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाकी उपमेयर बसन्ती श्रेष्ठले आफू कुकुरप्रेमी भएको उल्लेख गर्दै शिक्षण पेशामा रहँदा चारवटा कुकुर पालेको अनुभव सुनाउनुभयो। उहाँले कुकुरलाई केवल समस्याका रूपमा मात्र नहेरी यसबाट हुने मानसिक फाइदातर्फ ध्यान दिनुपर्ने बताउनुभयो। कुकुर विक्रेताले नाफा मात्र नहेरी ग्राहकको घरको वातावरण र जिम्मेवारी पूरा गर्न सक्ने क्षमता हेरेर मात्र बिक्री गर्नुपर्ने उहाँको सुझाव थियो। साथै, नगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनका लागि जग्गा लिजमा लिएको जानकारी दिँदै सो स्थानमा संघसँग सहकार्य गर्न र व्यवसायीलाई तालिम एवं दर्ता प्रणालीमा ल्याउन नगरपालिका तयार रहेको बताउनुभयो।

संघका अध्यक्ष मुकुन्द बनियाले स्थानीय सरकारको सकारात्मक दृष्टिकोणले संघलाई थप ऊर्जा मिलेको बताउनुभयो। उहाँले सरकारले कुकुरलाई ‘घरपालुवा पशु’का रूपमा स्पष्ट सूचीकृत गर्नुपर्ने माग राख्दै संघले बनाएका व्यवसायिक मापदण्ड पालना गर्न सदस्यहरूलाई आग्रह गर्नुभयो।
संघका प्रमुख सल्लाहकार सुरेश शाहले यस क्षेत्रमा आफू ३० वर्षदेखि संलग्न रहे पनि संस्थागत रूपमा छोटो समयमै कुकुरको महत्व स्थापित गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो।
केनल व्यवसायी प्रकाश लुइटेलले व्यवसायीबीचको आन्तरिक अस्वस्थ प्रतिस्पर्धाप्रति चिन्ता व्यक्त गर्दै एकजुट हुन आह्वान गर्नुभयो। उहाँले काठमाडौँ उपत्यकामा कुकुर मरेपछि अन्त्येष्टि गर्ने उपयुक्त स्थानको अभाव रहेको भन्दै उपमेयरको ध्यानाकर्षण गराउनुभयो, जसमा उपमेयरले सकारात्मक प्रतिक्रिया दिनुभएको थियो।
व्यवसायी राजेश पोखरेलले केही प्रमुख आयातकर्ताको दोहोरो चरित्रका कारण साना व्यवसायी मर्कामा परेको बताउँदै आयातकर्तातर्फ सुधार आवश्यक रहेको धारणा राख्नुभयो।
आयातकर्ताका तर्फबाट नारायणप्रसाद अधिकारीले कुकुर व्यवसायलाई अनुत्पादक क्षेत्र मान्ने सामाजिक धारणा तोड्नुपर्ने र कुकुरको सांस्कृतिक एवं धार्मिक पक्षको प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो।
व्यवसायी सन्दीप अग्रवालले कुकुरप्रतिको मायाकै कारण आफू यो पेशामा आएको उल्लेख गर्दै संघलाई बलियो बनाउन व्यक्तिगत सहयोगको प्रतिबद्धता जनाउनुभयो।
केनल क्लब अफ नेपालकी अध्यक्ष बैसाली डंगोलले व्यवसायी र आयातकर्ताका समस्या सम्बोधन गर्दै आगामी माघ २४ गते ‘डग शो’ आयोजना हुन लागेको जानकारी दिनुभयो र सबै पक्षको सहयोगको अपेक्षा गर्नुभयो।
संघका सल्लाहकार रामप्रसाद न्यौपानेले कुकुर व्यवसायमा संलग्न सबैलाई आफ्ना हकहित र व्यवसायिक सुरक्षाका लागि संघमा आबद्ध हुन आग्रह गर्नुभयो।
