नेपाल लेयर्स कुखुरापालक संघको अध्यक्षमा पुनः विनोद पोखरेल निर्वाचित

चितवन । नेपाल लेयर्स कुखुरापालक संघको अध्यक्षमा पुनः विनोद पोखरेल निर्वाचित हुनुभएको छ । चितवनको भरतपुरमा शुक्रबार सम्पन्न संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

अण्डा उत्पादनमा संलग्न देशभरका करिब १६० ठूला कुखुरा व्यवसायी आबद्ध रहेको यस संघको नेतृत्वमा पोखरेलले पुनः जिम्मेवारी पाउनुभएको हो ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा जोतेन्द्र श्रेष्ठ, द्वितीय उपाध्यक्षमा अमोद खनाल, महासचिवमा भेषराज अर्याल, सचिवमा मदन पोखरेल, सहसचिवमा विवेक निरौला तथा कोषाध्यक्षमा प्रकाश चपागाईं निर्वाचित हुनुभएको छ । त्यसैगरी कार्यसमितिको वरिष्ठ सदस्यमा राजेन्द्र लामिछाने रहनुभएको छ ।

अधिवेशनका क्रममा अध्यक्ष पोखरेलले नेपालमा कुखुरापालन व्यवसायको वर्तमान अवस्थाबारे जानकारी गराउँदै उत्पादनमा आएको ह्रासप्रति चिन्ता व्यक्त गर्नुभयो । कोरोना महामारीअघि नेपालमा दैनिक ६० लाख गोटासम्म अण्डा उत्पादन हुने गरेकोमा हाल उक्त संख्या घटेर दैनिक ३८ देखि ४० लाख गोटामा सीमित भएको उहाँले बताउनुभयो ।

कोरोना महामारीपछि व्यवसायीहरूको संख्या र उत्पादन क्षमता दुवैमा नकारात्मक असर परेकाले यस्तो अवस्था सिर्जना भएको उहाँको भनाइ थियो ।

तीन वर्षअघि स्थापना भएको यस संघले व्यवसायीहरूको हकहितमा निरन्तर काम गर्दै आएकाले पछिल्लो समय यस क्षेत्रमा केही राहतको अनुभूति भएको पोखरेलले दाबी गर्नुभयो । नयाँ कार्यसमितिले आगामी दिनमा अण्डा उत्पादनको लागत घटाउन तथा किसानका समस्या समाधानका लागि सरकारसँग समन्वय गर्ने लक्ष्य लिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *